अर्थ

थप पाँच उद्योगको बिजुली काटियाे

नेपाल विद्युत् प्राधिकरणले आइतबार थप पाँच उद्योगको बिजुली काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौता नतिर्ने सर्वाेत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स एन्ड आयल, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिलको बिजुली आइतबार बेलुकापख काटेको विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

प्रवक्ता भट्टराईले बक्यौता नतिर्ने उद्योगहरूको लाइन यसैगरी काट्दै जाने बताए। प्राधिकरणको परासी वितरण केन्द्रले बेलुका ७ बजे सर्वाेत्तम सिमेन्ट र लक्ष्मी स्टिल उद्योगहरूको लाइन काटेको हो।

प्राधिकरणका अनुसार सर्वाेत्तम सिमेन्टको बक्यौता ८३ करोड रूपैयाँ र लक्ष्मी स्टिलको बक्यौता ६२ करोड रूपैयाँ रहेको छ। प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको बिजुली गत शुक्रबारदेखि काट्न थालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगको लाइन काट्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन आएसँगै प्राधिकरणले शुक्रबार मात्रै चार ठूला उद्योगको बिजुलीको लाइन काटिदिएको थियो। प्राधिकरणका अनुसार शुक्रबार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको बिजुलीको लाइन काटिएको हो।

प्राधिकरणका अनुसार जगदम्बाले चार अर्ब १४ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ। त्यसैगरी रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ बक्यौता रहेको छ। घोराही सिमेन्ट उद्योगको पनि एक अर्ब ३६ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ। अर्घाखाँची सिमेन्टको पनि बक्यौता एक अर्ब ३० करोड रूपैयाँ रहेको छ। प्राधिकरणले बक्यौता नतिर्ने अन्य उद्योगको लाइन पनि काट्दै जाने जनाएको छ।

६१ वटा उद्योगले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापतको करिब २० अर्ब बक्यौता तिर्न बाँकी छ। त्यसको ब्याज र जरिवानामा पनि करिब पाँच अर्ब रूपैयाँ थपिएको प्राधिकरणको दाबी छ।

प्रकाशित: ९ पुस २०८० ०५:०७ सोमबार

लक्ष्मी स्टिल सर्वाेत्तम सिमेन्ट सोनापुर मिनरल्स एन्ड आयल त्रिवेणी स्पिनिङ मिल अशोक स्टिल