अर्थ

गलैंचाबाट ४ महिनामै ४ अर्ब भित्रियो

उत्पादनको ९५ प्रतिशत निर्यात, प्रमुख बजार अमेरिका

नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन्। तर नेपालको एउटा उत्पादन गलैंचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ।

मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ। आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रूपैयाँको गलैंचा विदेश निर्यात भएको छ। त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैंचा अमेरिका निर्यात भएको छ। भन्सार विभागका अनुसार गलैंचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ। यसले अमेरिकी बजारमा नेपाली गलैंचाको माग उच्च रहेको प्रष्ट संकेत गर्छ।

नेपालमा उत्पादित गलैंचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए। ‘सबैभन्दा धेरै गलैंचा अमेरिका निर्यात हुन्छ,’ उनले भने, ‘नेपाली गलैंचाको प्रमुख बजार अमेरिका हो।’ नेपाली गलैंचा राम्रो भएकाले अमेरिकामा बढी बिक्री भएको उनले बताए।  

कुनै अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा आएर उत्पादन गरेरसमेत लैजाने गरेका छन् । ‘यहाँ सतप्रतिशत हातले बुनेर गलैंचा तयार हुन्छ,’ शेर्पाले भने, ‘हाइग्रेडको उत्पादन भएकाले अमेरिकीले मन पराएका हुन् ।’

अमेरिकाबाट अनलाइनमै गलैंचाको माग आउने गरेको व्यापारी बताउँछन् । अनलाइनबाटै भुक्तानीको व्यवस्था हुने हो भने नेपाली गलैंचाको अमेरिकामा अझै बजार विस्तार हुने गलैंचा व्यापारी एवं सूर्य रग हाउसका सञ्चालक देवानन्द सरावगीले बताए । उनले उत्पादन गर्ने सबै गलैंचा अमेरिका निर्यात हुने गरेको छ । ‘अमेरिकी ग्राहकले डिजाइन पठाउँछन्,’ उनले भने, ‘सोही डिजाइनअनुसार गुणस्तरीय गलैंचा तयार गरेर पठाउछौं ।’

अमेरिकामा निर्यात हुने वस्तुमध्ये गलैंचा १ नम्बरमा रहेको  व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए । ‘नेपाली गलैंचा उच्च दर्जाको भएकाले अमेरिकामा माग बढेको हो,’ उनले भने, ‘अमेरिकासहित विश्व बजारमा यसको विस्तार हुँदैछ ।’

नेपालमा उत्पादित गलैंचा ९५ प्रतिशतभन्दा बढी विदेश निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेश निर्यात हुने वस्तुमध्ये गलैंचा दोस्रो स्थानमा छ । भारतबाहेक तेस्रो मुलुक निर्यात हुनेमा भने गलैंचा पहिलो स्थानमा छ । आर्थिक वर्षको चार महिनामा ४ अर्ब रूपैयाँको गलैंचा निर्यात भएको छ । नेपालले वार्षिक सवा १२ खर्ब रूपैयाँभन्दा बढी व्यापार घाटा बेहोरिरहेको अवस्थामा गलैंचा उत्पादन बढाएर बजार विस्तार गर्न सके अर्थतन्त्रमा केही राहत पुग्नेछ ।  

पछिल्ला वर्षमा गलैंचा निर्यात वृद्धि भएको छ । सन् १९९० को दशकमा नेपालबाट प्रमुख निर्यात वस्तुको रूपमा रहेको गलैंचाको बीचमा बजार खस्किएको थियो । पछिल्ला वर्षहरूमा भने गलैंचा निर्यातमा उल्लेख्य सुधार आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब १५ करोड रूपैयाँको गलैंचा निर्यात भएको थियो। आव २०७९/८० मा आउँदा१२ अर्ब २५ करोड रूपैयाँको गलैंचा निर्यात भएको छ। यसले आशा जगाएको छ। गत वर्ष चार लाख ९४ हजार ४ सय ४६ स्वायर मिटर गलैंचा निर्यात भएको थियो। दक्ष कामदार, आधुनिक प्रविधि, बजार प्रवर्र्धनको अभावमा अपेक्षित रूपमा गलैंचा उत्पादन हुन सकेको छैन।

नेपाली गलैंचाको प्रमुख बजार अमेरिका र युरोपेली देश भए पनि विश्वका करिब ६ दर्जन मुलुकमा निर्यात हुने गरेको छ । गत वर्ष अस्ट्रेलिया, बेल्जियम, चीन, फ्रान्स, जर्मनी, इटाली, जापान, कतार, रसिया, स्विट्जरल्यान्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्सलगायतका मुलुकमा धेरै गलैंचा निर्यात भएको थियो । गलैंचा भारत, क्यानाडा, ऊरुग्वे, न्युजिल्यान्ड, स्विडेन, डेनमार्क, स्पेन, हङकङ, नेदरल्यान्ड, दुबई, अस्ट्रिया, लेबनान, कोरिया, इजिप्ट, मेक्सिको, कतार, साउदी अरेबिया, युक्रेन, फिनल्यान्ड, ब्राजिल, मोनाको, चेक गणतन्त्र, ताइवान, लिथुआनिया, आयरल्यान्ड, थाइल्यान्ड, रोमानिया, दक्षिण अफ्रिका, नर्वे, इजरायल, इटाली, जापान, कोरिया, कुवेतलगायतका मुलुकमा पनि बिक्री हुने गरेको छ ।  

निर्यात संघका उपाध्यक्षसमेत रहेका सरावगीले भारतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझै धेरै निर्यात गर्न नसकेको बताए । ‘भारतले निर्यातमा दोहोरो अंकको सहुलियत अनुदान दिन्छ,’ उनले भने, ‘नेपाल सरकारले निर्यातमा प्रोत्साहन गर्ने हो भने विदेशी मुद्रा आर्जनको गतिलो माध्यम बन्छ गलैंचा ।’ सरकारले गलैंचा निर्यातमा पाँच प्रतिशत अनुदान दिँदै आएको छ । अनुदान दिए पनि समयमा भुक्तानी नपाएको व्यापारीको गुनासो छ । 

‘अनुदानको रकम पनि समयमा पाइँदैन,’ उनले भने, ‘समयमै पाए त केही राहत हुन्थ्यो ।’ अमेरिकालगायतका मुलुकका नेपाली गलैंचा प्रदर्शन गर्ने अवसर पाउने हो भने अझै बजार विस्तार हुने उनले बताए । ‘सरकारले पहल गरे अमेरिकामा हुने प्रर्दशनीमा नेपाली गलैंचाले राख्न सकिन्थ्यो,’ उनले भने, ‘यसले ब्रान्डिङ गर्न टेवा पुग्छ, माग बढ्छ ।’

गलैंचा उद्योगमा करिब तीन लाखले रोजगारी पाएको संघको दाबी छ । संघमा करिब दुई सय उद्योग दर्ता भए पनि करिब ८ सय हाराहारी साना, ठूला उद्योग भएको अनुमान छ । सतप्रतिशत ऊनको गलैंचा प्रतिस्क्वायर फिट करिब २ सय डलरमा बिक्री हुन्छ । गलैंचा हातले बुन्ने भएकाले धेरै समय लाग्छ । गलैंचा उद्योगमा काम गर्नेमा धेरै महिला छन् । गलैंचामा काम गर्नेले मासिक करिब २० जहार रूपैयाँ कमाउँछन् ।  

कच्चा पदार्थ आयातमा भन्सार लगाएका कारण प्रतिस्पर्धा गर्न कठिन भएको गुनासो छ । ड्युटी र भ्याट छुट दिने हो भने यो गलैंचा उद्योगलाई ठूलो राहत हुने उद्योगी बताउँछन् । गलैंचामा करिब ८० प्रतिशत ‘भ्यालु एड’ हुने अध्यक्ष शेर्पाको दाबी छ । नेपालमा तिब्बत र न्युजिल्यान्डबाट कच्चा पदार्थ आयात हुन्छ । स्वदेशमै ऊन उत्पादन गर्न सक्ने हो भने सतप्रतिशत भ्यालु एड गरेर गलैंचा निर्यात गर्न सकिने उनको दाबी छ ।

‘हिमाली क्षेत्रमा भेंडा पालेर ऊन उत्पादन गर्न सकिन्छ,’ शेर्पाले भने, ‘विदेशबाट कच्चा पदार्थ ल्याउन नपर्ने हो भने कच्चा पदार्थदेखि कामदारसम्म स्वदेशी हुन्छन् ।’ उच्च हिमाली क्षेत्रमा भेंडा, च्यांग्रा पालन गर्ने हो भने मासुसँगै ऊन उत्पादन हुन्छ । यसले मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।

उच्च हिमाली क्षेत्रमा पालेका भेंडाबाट उत्पादन हुने ऊन गुणस्तरीय रहेकाले गलैंचा उद्योग थप फस्टाउने व्यवसायी बताउँछन् । उद्योगीहरूले भेंडापालक किसानलाई प्रोत्साहन समेत गरेको बताए । ‘हिमाली भेगका किसानसँग सहकार्य गरेर ऊन उत्पादन गरिरहेका छौं,’ शेर्पाले भने, ‘सरकारले पनि भे.डापालनमा सघाउनुपर्छ ।’ नेपालका हिमाली क्षेत्रमा ऊन उत्पादनको राम्रो सम्भावना रहेको उनले बताए । 

प्रकाशित: ११ मंसिर २०८० ००:४९ सोमबार

परनिर्भर स्वदेशमा उत्पादन विदेशबाट आयात गलैंचा अमेरिकी बजार अनलाइनबाटै भुक्तानी १४ खर्ब रूपैयाँ व्यापार घाटा