अर्थ

चार महिनामा ४ अर्बको कार्पेट निर्यात

मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको अवस्था यहाँ प्रयोग हुने कार्पेटमा भने मुलुक आत्मनिर्भर देखिएको छ।स्वदेशमा प्रयोगमात्र नभएर चार महिनाकै अवधिमा करिब चार अर्ब रुपैयाँको कार्पेट, भुईँमा प्रयोग कपडाको कभरिङ निर्यात भएको छ।

भन्सार विभागका अनुसार चालु आव २०८०/८१को साउनदेखि कात्तिकसम्म ४ अर्ब ५ लाख ७५ हजार रुपैयाँका  कार्पेट सहित भुईँमा प्रयोग कभरिङ कपडा निर्यात भएको छ। विदेशबाट १३ करोड ८५ लाख रुपैयाँको कार्पेट आयात भएको भए पनि कार्पेटमा नेपाललाई घाटा छैन।

केही आयात भए पनि कार्पेटमा नेपाललाई ३ अर्ब ८६ करोड २० लाख व्यापार नाफा रहेको भन्सार विभागले जनाएको छ।

कार्पेटले मुलुकको व्यापार घाटा कम गर्न केही योगदान गरेको छ। नेपालबाट धेरै देशमा कार्पेट निर्यात हुन्छ। सबैभन्दा धेरै अमेरिकामा कार्पेट निर्यात हुँदै आएको छ। त्यसैगरी, बेलायत, अष्ट्रेलिया ,अष्ट्रिया, बेल्जियम, ब्राजिलमा, क्यानाडा, चीन, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, आयरल्यान्ड, जापान, दक्षिण कोरिया, कुबेत, लेबनान लगायतका मुलुकमा कार्पेट निर्यात हुँदै आएको छ।

कार्पेट कुनै समय मुलुककै सबैभन्दा ठूलो निर्यात हुने वस्तु बनेको थियो। बीचका केही वर्ष निरन्तर गिरावट आएकोमा अहिले फेरी निर्यात बढेको छ। सन् १९५९ मा तिब्बतमा भएको राजनीतिक परिवर्तनपछि धेरै तिब्बतीहरू नेपाल प्रवेश गरे पछि तिब्बती शरणार्थीलाई लक्षित गरेर स्विस परियोजनाअन्तर्गत सरकारले ललितपुरको एकान्तकुनामा सन् १९६७ मा ’ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टर’ स्थापना गरेर कार्पेट बुनाई सुरु भएको हाे।

प्रकाशित: ८ मंसिर २०८० ०९:५४ शुक्रबार

चार महिनामा ४ अर्बको कार्पेट निर्यात