अर्थ

मुलुकको वैदेशिक व्यापारमा सङ्कुचन, आयात २० अर्बले घट्यो

आयातमा आधारित अर्थतन्त्र भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ। दसैं, तिहार, छठ लगायतका पर्वको अवसरमा खपत बढेर आयात बढ्नु पर्नेमा कात्तिक महिनामा आयात घटेको हो। भन्सार विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पोहोरको तुलनामा यो वर्षको कात्तिकमा करिब २० अर्बको आयात घटेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमाभन्दा आयातमा ३.७९ प्रतिशतले गिरावट आएको छ। पोहोर साउनदेखि कात्तिकसम्म चार महिनामा ५ खर्ब  ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोडको वस्तु आयात भएको छ। समग्रमा वैदेशिक व्यापारनै घटेको हो। निर्यात ७.६८ प्रतिशतले घटेको छ। व्यापार घाटा पनि ३.३४ प्रतिशतले घटेको छ।  

व्यापार घाटा घट्नुलाई राम्रो मानिए पनि उपभोक्ताको उपभोग गर्ने क्षमतामा ह्रास आएको कारण आयात घटेको हो। स्वदेशमा उत्पादन बढेर आयात घटेको भने होईन। अर्थतन्त्रको आकार बढेसँगै निर्यात बढ्नु पर्नेमा निर्यात पनि घटेको छ। यो अवधिमा जम्मा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो। समग्र वैदेशिक रोजगारमा ४.१५ प्रतिशतले गिरावट आएको छ।

प्रकाशित: ७ मंसिर २०८० ०७:५७ बिहीबार

आयात अर्थतन्त्र वैदेशिक व्यापार २० अर्बको आयात घटेको छ। भन्सार विभाग आयातमा ३.७९ प्रतिशतले गिरावट