अर्थ

विपत्तिसँग जुध्न पूर्वाधार आवश्यक: राष्ट्रपति पौडेल

४६ औं इफाप्का सम्मेलन

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्। एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन (इफाप्का)को ४६ औं सम्मेलनको उद्घाटन गर्दै जलवायु परिवर्तनमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन्।

‘जलवायु परिवर्तनका असरहरू देखिन थालिसकेका छन्। त्यसैले विकास निर्माण तथा पूर्वाधार निर्माण गर्दा पनि पूर्वाधारहरू वातावरणमैत्री बनाउनुपर्ने बेला भइसकेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि ध्यान दिन जरुरी भइसकेको छ।’

उनले इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकतामा राख्न अनुरोध गरे।

‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलले सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले संकटग्रस्त अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन निर्माण व्यवसायीहरूबाट आफूले सकारात्मक भूमिकाको अपेक्षा राखेको बताए। सोही अवसरमा  देश विदेशका पूर्वाधारविद्हरूको लेख रचना समेटिएको स्मारिका सार्वजनिक गरिएको थियो।

 सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण उद्योगसँग सम्बन्धित समसामयिक विषयमा ४६ औं इफाप्का सम्मेलनमा महत्वपूर्ण छलफल हुने बताए।

इफाप्काका अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानी वृद्धि गर्न इफाप्का आबद्ध मुलुकका प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्। सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीहरूलाई सम्मान गरिएको थियो।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित सुरु भएको सम्मेलनमा विदेशका दुई सय ४० सहित चार सय ५० भन्दा बढीको सहभागिता रहेको छ। नेपालले यसअघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो।

प्रकाशित: ७ मंसिर २०८० ०३:०१ बिहीबार

४६ औं इफाप्का सम्मेलन विपत्तिसँग जुध्न पूर्वाधार आवश्यक