अर्थ

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

पाल्पा- पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्। अचानक आकाशमा दुई वटा हेलिकप्टर घुमिरहेको दृश्य धेरैले टुलुटुल हेर्दाहेर्दै हेलिकप्टर नजिकिन थाल्यो। हेलिकप्टर ल्याण्ड हुनै लाग्दा उडेको धुलोले टुँडिखेल आसपास अन्धकार हुन्छ । कोही हेलिकप्टर नजिक पुगेर सेल्फी खिच्न थाल्छन् । कसैले किन अचानक एकसाथ हेलिकप्टर ल्याण्ड भो सोधिखोजी गर्न लागे।

गौतमबुद्ध विमानस्थल भैरहवामा लगातार ‘प्लेन क्यान्सिल’ हुँदा पर्यटकहरु समस्यामा परेका छन्। लुम्बिनी घुम्न आएका चिनियाँ पर्यटकहरुले हेलिकप्टर चार्टर गरि काठमाडौं गएका छन् । रुपन्देही जिल्लामा लगातार हुस्सु समेत लागिरहँदा हेलिकप्टर ल्याण्ड हुन नसकेपछि पर्यटकहरुले पाल्पामा हेलिकप्टर चार्टर गरि राजधानी लागेका हुन्।

एक चिनियाँ पर्यटकले मिटिङ्ग समयमा पुग्नुपर्ने भएकोले काठमाण्डौं जान लागेको छोटो प्रतिक्रिया दिईन् । ‘फ्लाईट नभएको समयमा हेलिकप्टर ल्याड हुन पनि सकेन अनि हेलिकप्टर चार्टर गरि मगाएर काठमाडौं हिँडेको,’–पर्यटक गाईड घनश्याम नेपालले भने, ‘लुम्बिनि घुम्न पुगेको लगातार प्लेन क्यान्सिल भो, दश जना चिनियाँ पर्यटकहरुले दुई हेलिकप्टर चार्टर गरेका छन् ।’ यति होलिडेजका ड्राईभर मिलन थापाले पछिल्लो समय लुम्बिनी घुम्न आएका पर्यटकहरुले गाडी रिर्जव गरि हिड्न बाध्य भएको बताए। पर्यटकहरु नियमित उडान नहुँदा प्रभावित भएका छन् उनले भने । खराबम मौसमका कारण एयरलायन्सहरुले आफैले तोकेको समयमा आफ्नो उडान नगर्दा यात्रुहरु मारमा परेका हुन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–भैरहवाका सबै उडान हुस्सुका कारण दुई दिनदेही हुन नसकेको जनाएको छ । अब मौसममा सुधार आएपछिमात्र उडान हुनसक्ने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: १० पुस २०७४ ११:५१ सोमबार

भैरहवामा प्लेन क्यान्सिल पर्यटकलाई पाल्पाबाट हेलिकप्टर