अर्थ

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

फाइल तस्बिर

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट  र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार रुकुममा ६ सय २२ पशुको मृत्यु र ५ सय ९२ पशु घाइते भएका छन् भने रुकुममा ३ सय ५१ पशुको मृत्यु भएको छ।

दुई जिल्लामा पशु मृत्यु तथा घाइते हुँदा किसानलाई २ करोड ५१ लाख रुपैयाँ क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–प्रवक्ता तपेन्द्र प्रसाद बोहराले जानकारी दिए।उनका अनुसार गाई, गोरु, राँगा, भैंसी, भेडा, बाख्रामा धेरै क्षति भएको छ।किसानका ७० गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले एक सय ५३ जनाको ज्यान गएको थियो।भूकम्पबाट क्षति भएको पूर्वाधार निर्माण गर्न करिब ६८ अर्ब रुपैयाँ खर्च हुने अनुमा छ।भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनरासी खर्च हुने भएको हो।

गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठान लगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनः निर्माण गर्न  ६७ अर्ब ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।भूकम्पले क्षति भएका निजी घर, विद्यालय,  सरकारी भवन, स्वास्थ्य चौकी, सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा करिब ६७ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका इन्जिनियर सुसिल कुमार श्रेष्ठले बताए।

मन्त्रालयका अनुसार भूकम्पबाट २६ हजार ५ सय २८ निजी घर पूर्ण क्षति भएका छन्।३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति भएको छ।

प्रकाशित: २५ कार्तिक २०८० १०:३८ शनिबार

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति