अर्थ

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

सिन्धुली- गत बर्षको तुलनामा यस बर्ष सिन्धुलीमा १० प्रतिशत बढी धान उत्पादन हुने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको लागि सिन्धुलीमा उचित मौसम भएकाले विगतको बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

गत बर्ष ४६ हजार ६ सय ९६ मेट्रिकटन धान उत्पादन भएकोमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टका अनुसार यस बर्ष धान उत्पादनमा बृद्धि हुने आकलन गरिएको हो । जिल्लामा बाढी हावापानीले त्यस्तो धेरै क्षति गरेको हामीलाई जानकारी आएको छैन, त्यसैले यस बर्ष धान उत्पादन बढ्ने पारम्भिक आकलन गरिएको छ, उनले नागरिकसँग भने। धानको विउ वितरण गर्ने समयमा समेत कृषकलाई अनुदानमा उन्नत जातको धानको विउ वितरण गरिएकाले धान उत्पादन बढ्ने देखिएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको कमलाखुँज र मरिण क्षेत्रलाई  विशेष गरि अन्न भण्डारको रुपमा चिनिदै आएको छ यस क्षेत्रमा धानको उत्पादन समेत राम्रो हुने गरेको कृषक बताउँछन्।

यस क्षेत्रलाई धानको पकेट क्षेत्र बनाई उत्पादनमा बृद्धिका लागि जिल्ला कृषि विकास कार्यालयले पहल समेत गरेको छ । यस क्षेत्रमा प्रतिहेक्टर ३ दशमलव १३ मेट्रिकटन धान उत्पादन हुने क्षमता भएको खेतीयोग्य जमिन छ । जसमा यस बर्ष १५ हजार ५ सय ६० हेक्टर जमिनमा धान बालि लगाइएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङकमा उल्लेख छ। जिल्लाको समग्र खेतीयोग्य जमिनको २४ दशमलव ८१ प्रतिशत जमिनमा धान लगाइएको जिल्ला कृषि विकास कार्यालयका बालिसंरक्षण अधिकृत देवेन्द्र साउदले जनाए । महाभारत क्षेत्रका केहि जमिनमा सिचाईको पहुँच नपुगेका कारण धान फल्ने केहि खेतीयोग्य जमिन समेत बाझै रहने गरेको बताउदै उनले जिल्लाभर २० प्रतिशत खेतियोग्य जमिनमा कृषकले धान लगाउन नपाएको जनाए ।        मकै खेतीमा सिन्धुली आत्मानिर्भर भएपनि जिल्ला धानमा भने आत्मानिर्भर हुन सकेको छैन । मकै कोदो गहुँ लगायतको खाद्यन्न भन्दा धेरै गुणा बढी चामलको प्रयोग बढी हुने गरेका कारण पनि परनिर्भरनै हुनु परेको कार्यालयले जनाएको छ ।

धान काट्न सुरु

यस बर्षको धान काट्न किसानले सुरु गरेका छन् । गर्तिर क्षेत्रमा किसानले धान काट्न सुरु गरिसकेका हुन् । बढी तापक्रम रहेको क्षेत्रमा केहि चाडो धान पाक्ने भएकाले धान काट्न सुरु भएको किसानले जनाएका छन् । जिल्लाका कमलाखुँज र मरिण क्षेत्रमा धान काट्न सुरु भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जानकारी दिए । सिन्धुलीमा भर्खरै सुरु हुन थालेको छ । जिल्लाभर १० प्रतिशत जति धान काटिएको अनुमान गरेका छौ, उनले भने अब धमाधम किसानले धान काट्छन् ।

 

प्रकाशित: १४ कार्तिक २०७४ ०९:२६ मंगलबार

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने