अर्थ

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्ने निर्णयसँगै आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। निगममा निमित्त नायब प्रबन्ध निर्देशक पदमा कार्यरत भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

अर्को व्यवस्था नहुँदासम्म भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालले बताए। ‘भट्टराईलाई आजैबाट जिम्मेवारी दिएका छौं,’ पौड्यालले भने, ‘खड्कालाई मंगलबारबाट मन्त्रालयमा हाजिर हुन पत्र पठाएका छौं।’

भट्टराई निगममा १० औं तहमा सिनियिर कर्मचारी हुन् । इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता आरोप लागेका निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय ताने पछि भट्टराईलाई जिम्मेवारी दिएको हो। भट्टराई पेट्रोलियम कारोबारमा पोख्त मानिन्छन्।

रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना संयोजक रहेका भट्टराईले निगमको बजार व्यवस्थापन, वितरण, गुणस्तर लगायतका विभागको जिम्मेवारी सम्हालिरहेका थिए ।

अनियमितताको आरोपमा मन्त्रिपरिषद् बैठकबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगम फर्किएका थिए । मन्त्रालयले यसअघि खड्कालाई बर्खास्त गरेपछि उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी तोकेको थियो ।

प्रकाशित: १३ कार्तिक २०७४ ११:४६ सोमबार

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी