अर्थ

खसी बेचेर राम्रो आम्दानी

बिक्री गर्न खसी तौलिदै । तस्बिर : निर्मल/नागरिक

बर्दिया, असोज ११- बढैया ताल गाउँपालिकाकी जमुना रेग्मी खसीबाट राम्रो आम्दानी भएपछि दंग छिन् । दसैंको मुखमा खसीबाट राम्रो आम्दानी भएको उनले सुनाइन् । ‘मैले अहिले दुईवटा खसी बेचे,’ उनले भनिन्, ‘खसीबाट राम्रो आम्दानी गर्न सफल भए ।’
बिचौलियामार्फत खसी बेच्दा घाटा खेप्दै आएकी जमुना सहकारीलाई तौलेर जिउँदो खसी बेच्दा आम्दानी बढेको बताउँछिन् । उनीजस्तै खसी बेचेर आम्दानी गर्न सफल महिला किसान अहिले बाख्रापालन गर्न व्यस्त छन् । त्यस्तै बढैयाताल गाउँपालिकामा खसी पाल्नेको संख्या बढेसँगै सहकारीले घरघरबाट खसी किन्न सुरु गरेपछि महिला किसानमा उत्साह थपिएको छ ।
यस्तै मुनावस्तीकी देवी अर्याल पनि दसैं राम्रो हुनेमा ढुक्क छिन् । दसैंको मुखमा उनले दुईवटा खसी १६ हजार रुपैयाँमा बेचेकी छन् । ‘खसीको मूल्य नपाउँदा सधैं ठगिन पथ्र्यों,’ उनले भनिन्, ‘आफ्नै अगाडि तौलेर खसी बेच्दा राम्रो आम्दानी भएको छ ।’ यसैगरी विभिन्न समूहमा आवद्ध महिलाले पालेका खसीबाख्रा उचित मूल्यमा सहकारीले खरिद गरेपछि बढैयाताल गाउँपालिकाका महिला किसानलाई बाख्रापालन आम्दानीको भरपर्दो स्रोत बनेको छ ।
स्थानीयस्तरमै बिक्री भएपछि बिचौलियाबाट ठगिँदै आएका किसान महिलाले राम्रो आम्दानी गर्न थालेको रेग्मीको भनाइ छ । हेफर इन्टरनेसनल नेपालले महिला दिदीबहिनी किसानलाई विभिन्न समूहमा आवद्ध गराई व्यवस्थित खोर तथा प्राविधिक सहयोग गरेपछि बाख्रापालनमा आकर्षण बढेको हो ।
दसैंका लागि जिल्ला सहकारी संघ बाँकेले घरघरमै गई खसीबाख्रा खरिद गरेका कारण सहज भएको किसान महिला बताउँछन् । सहकारीले जिउँदो खसीको मूल्य प्रतिकेजी तीन सयदेखि तीन सय ६० रुपैयाँ मूल्य तोकेको छ । उक्त सहकारीले एक हजार खसी खरिद गरिसकेको जनाएको छ । यहाँबाट खरिद गरेका खसी पोखरा र काठमाडौंमा सहकारीलाई बिक्री  गर्ने गरिएको छ ।
बढैयाताल गाँउपालिकाका र गुलरिया नगरपालिकाका विभिन्न समूहका महिलाबाट दसैंका लागि एक हजार खसी, बोका खरिद गरेको जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक कृष्ण केसीले बताए । ‘यहाँ किनेको थोरै मूल्य बढाएर हामीले काठमाडौं र पोखरामा बेच्छौं,’ उनले भने, ‘सहकारीको आफ्नै साधन भएकाले थोरै खर्चमा बजारसम्म खसी पु¥याउन सहज भएको छ ।’
हेफरले करिब चार सय ५० समूहमा दिदी बहिनीलाई आवद्ध गराएको छ । आयआर्जनका लागि समूहमार्फत गराइएको बाख्रापालनका लागि प्राविधिक सहयोगसमेत गर्ने गरेको बजार सहजकर्ता शोभाकान्त पौडेलले बताए । उक्त कार्यक्रमले महिला किसानको जीविकोपार्जनमा सहयोग पुगेको उनको भनाइ छ ।

 

प्रकाशित: ११ आश्विन २०७४ ०४:४१ बुधबार

खसी बेचेर आम्दानी