अर्थ

शुरू भयो ‘नाडा अटो सो’

‘नाडा अटो सो’ उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर: नागरिक

सवारी साधनका उपभोक्तालाई लक्षित गरेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो सो–२०२३’ मंगलबारदेखि सुरु भएको छ। अटोमोबाइल्स व्यवसायीको कुम्भमेलाका रूपमा हेरिने अटो सोमा १ सय २० स्टल रहेका छन्।

भदौ ३१ सम्म सञ्चालन हुने सोमा विभिन्न कम्पनीका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, अटो सामग्री प्रदर्शनीमा राखिएको छ। नाडाका अनुसार सोमा १६ ब्रान्डका चारपांग्रे सवारी साधन, दुई दर्जन ब्रान्डका दुई पांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल प्रर्दशनीमा राखिएको छ।

अटोमोबाइल्स क्षेत्रमा प्रयोग हुने लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरणका स्टल पनि रहेका छन्। सवारी साधन खरिद गर्ने उपभोक्तालाई लक्षित गरेर करिब एक दर्जन बैंकले पनि आफ्ना स्टल राखेका छन्। सोमा ७५ हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ। नाडा अटो सोमा करिब २० अर्ब रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

दसैं, तिहारमा उपभोक्ताले नयाँ सवारी साधन किन्ने परम्परा रहेकाले चाडपर्वको पूर्वसन्ध्यामा नाडाले सो आयोजना गरेको हो। यहाँ विभिन्न कम्पनीले नयाँ सवारी साधन लन्च गरेका छन्। सोमा हुन्डाईको एक्सटर, सुजुकी जिम्नी र फ्रोस, टाटा पन्च, बिवाइडी डल्फिन, एमजी कोमेट, एमजी–४ लगायत नयाँ गाडी राखिएको छ। त्यसैगरी, सेरेस, स्काइवेल लगायत नयाँ ब्रान्ड राखिएको छ। मेलामा विभिन्न कम्पनीले छुटका विशेष प्याकेज ल्याएका छन्। विगतमा भन्दा यो उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरूले सहभागिता जनाएको नाडाले जनाएको छ।

विद्युतीय सवारी साधनमा उपभोक्ताको आकर्षणसँगै विद्युतीय सवारीहरू पनि रहेका छन्। धेरैको आकर्षण विद्युतीय सवारीमा रहेको छ। ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालिले व्यवस्थापन गरेको सोलाई व्यवस्थित बनाइएको छ। सोको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स रहेको छ। अटो सोलाई व्यवस्थित बनाउन आयोजक संस्था नाडाले भृकुटीमण्डपभित्र सवारीसाधनलाई निषेध गरिएको छ।

अटो सोको उद्घाटन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वदेशमै सवारी साधन उत्पादन गर्नुपर्ने बताए। ‘नेपालमै गाडी उत्पादन गर्ने वातावरण बनाउन सरकार तयार छ,’ उनले भने, ‘विदेशबाट आयात गर्दा मूल्य महँगो भएको छ। गाडी उत्पादनमा पनि सरकारले ध्यान दिन्छ।’ विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने महतले बताए।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए। अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक हुने दाबी गर्दै निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

अटो सोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र समस्यामा रहेकाले सरकारले सघाउनुपर्ने बताए। ‘सरकारसँग समन्वय नहुँदा निजी क्षेत्र प्रताडित छ,’ उनले भने, ‘निजी क्षेत्रका समस्या सम्बोधन गर्नुपर्छ।’ सवारीका उपभोक्तालाई लक्षित गरेर अटो सो आयोजना गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए।

एकै थलोमा नेपालमा उपलब्ध अधिकांश कम्पनीका सवारी साधन तथा अटोमोबाइल्सका उपकरण प्रर्दशनीमा राखिएकाले यसबाट उपभोक्ताले लाभ लिन सक्ने बताए। अटो क्षेत्रलाई राज्यको संरक्षण र प्रोत्साहन आवश्यक भएको अध्यक्ष थापाले बताए।

सवारी साधन खरिद गर्न दिइने कर्जालाई खुकुलो बनाउनुपर्ने थापाको माग थियो। उनले विद्युतीय गाडीमा कर बढाउने नीति ठिक नभएको  धारणा राखे।

प्रकाशित: २७ भाद्र २०८० ०१:५३ बुधबार

अटोमोबाइल्स व्यवसायी शुरू भयो ‘नाडा अटो सो’