नुवाकोट- बेलकोटगढी नगरपालिका–११ अमारेका २२ वर्षीय अमृत तिवारीको दैनिकी चार वर्षदेखि बाख्राको स्याहार सुसारमा बितिरहेको छ । २०७१ भदौबाट नौ लाख रुपैयाँ लगानी गरी सुरु गरेको बाख्रा फार्म सफल हुँदै गर्दा अहिले ७० लाख बारबर पुगिसकेको छ । मजुवादेवी कृषि फार्म सञ्चालनमा ल्याउँदा ३५ वटा बाख्रा र ११ वटा बंगुर मात्रै थिए । अहिले एक सय ५५ वटा बाख्रा सातवटा फार्ममा हुर्किरहेका छन् ।
नुवाकोट जिल्लामै पहिलोपटक साउथ अफ्रिकाबाट शुद्ध बोयर जातको बोका र पाठी ल्याएर तिवारीले नेपालकै सस्तो मूल्यमा सहज तरिकाले गुणस्तरीय पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएका छन् ।उनले स्थानीय स्रोत र साधनप्रयोग गरेर शान्त र मनोरम वातावरण हुने स्थानमा ती बाख्राका लागि खोर निर्माण गरेका छन् । तिवारी भन्छन्, ‘फार्ममा खरी, जमुनापारी, बोयर जातका बाख्रा छन् । बाख्रालाई खुवाउन६ सय रोपनी जग्गामा ४५ प्रजातिका डाले घाँस लगाएको छु ।’
फार्मबाट उत्पादित बाख्राका पाठापाठी र डालेघाँसका बिरुवा रसुवा, धादिङ, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक, इलाम, खोटाङ, रुपन्देही लगायत ६० जिल्लामा बिक्री हुने गरेको उनले बताए । तिवारीका अनुसार पाठापाठीको उमेर अनुसार मूल्य निर्धारण गरिन्छ । तिवारीपरिवारका ६ जनामध्ये चारजना त बाख्राको रेखदेखमा व्यस्त हुन्छन् । बाख्रापालनका लागि नुवाकोटको हावापानी उपयुक्त छ भने तिवारीको लगनशीलतासँगै पारिवारिक सहयोगले उनी ४० देखि ८० हजार रुपैयाँसम्म कमाउन सफल भएका छन् ।
बाख्रा व्यवसाय रोज्नुको कारण
२०६९ मा स्नातक तह अध्ययन गर्न राजधानी छिरेका थिए तिवारी । ग्रामीण आदर्शमा अध्ययन गरेका उनी विद्यार्थी राजनीतिमा समेत सक्रिय थिए । स्नातक तहको पहिलो वर्षमा दुई सय ७० विद्यार्थीभर्ना भएका थिए । दोस्रो वर्षमा नियमित पढ्न आधा संख्यामा मात्र आउन थाले भने तेस्रो वर्षमा झनै घट्यो । तिवारी भन्छन्,‘साथीहरु पढ्न छाडेर वैदेशिक रोजगारीमा जाँदा रहेछन् । उमेरमा अर्का देशमा पसिना बगायो, उमेर ढल्किएपछि देश आयो उपलब्धि त हात लाग्यो शून्य । यही माटोमा केही गर्न सकियो भने त किन जान प¥यो विदेश भनेर सोचिन्थ्यो ।’
२०७० को संविधानसभानिर्वाचनमा पनि सक्रिय भएर चुनावी अभियानमा होमिए तिवारी । स्थानीयले नेतालाई केही नगरेको भन्दै गाली गरेको मात्र सुनिन्थ्यो । ‘नेताको पछि लाग्यो भाषण सुन्यो ठूलाठूला आश्वासन दिन्थे तर गर्ने केही होइन रहेछ, त्यसैले देशमा बेरोजगार बढेको हो भन्ने लाग्थ्यो,’ उनी भन्छन् ‘गुप्तचर विभागमा जागिर खाने भनेर लागियोत्यहाँ त चार लाखदेखि १२ लाखसम्मको घुस खुवाउन पर्ने कुरो आयो । घुस खुवाएर जागिर खानुभन्दा त आफ्नै घरमा बाख्रापालन गरेर केही गर्छु भन्ने सोच आयो र फार्म खेलेर बाख्रा पाल्न थाले ।’
उनी वैदेशिक रोजगारमा हानिएको भए, जागिर खाएको भए आर्थिक रुपमा सम्पन्न हुन्थे होलान् । राजनीतिमा लागेको भए जनताको गाली खाँदै हिँड्थे होलान् ।तर अहिले नेपालकै कान्छो बाख्रापालक किसान भनेर आफूलाई चिनाउन सफल भएका छन् । उनी भन्छन्, ‘पशु सेवा विभागको दोस्रो पशु सेवा विभाग स्थापना दिवस २०७३ बाट बाख्रापालक कृषहरुमध्ये नेपालकै उत्कृष्ट किसान र जिल्ला पशु सेवा कार्यालयको आर्थिक वर्ष ०७२÷७३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट कृषक व्यवसायी छनोट हुन सफल भएँ । यसले अझै बाख्रापालनमा लाग्न हौसला प्रदान ग¥यो ।’
लक्ष्य
मजुवादेवी कृषि फार्मको उत्पादन नेपालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य तिवारीको छ । ‘गुणस्तरीय बाख्राका पाठापाठी उत्पादन गरी तयारी खानयोग्य तथा स्वस्थकर मासु उत्पादन गर्दै व्यावसायिक फार्म अन्य स्थानमा पनि स्थापना गर्न सहयोग गरी देशमा नै रोजगारी सिर्जना गर्ने सपना छ,’ तिवारी भन्छन्, ‘कृषकको आयस्तर बढाई देशलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग गर्दै फार्मलाई राष्ट्रकै स्रोतकेन्द्रको रुपमा परिणत गर्न प्रयासरत छु ।’
मजुवादेवी कृषि फार्मबाट तिवारीले व्यवस्थित बाख्रा खोर बनाउने योजना तथा सल्लाह, बाख्रालाई रोग लागेमा औषधि उपचारको लागि सुझाव र उच्च गुणस्तर एवं सन्तुलित दाना कृषकले आफ्नै घरमा कसरी बनाउने भन्ने सल्लाह समेत दिँदै आएका छन् ।
व्यवसायीको रुपमा सरकारीस्तरबाट सम्मान गरिएपनि सरकारको कृषि नीति भने प्रभावकारी नभएको उनको गुनासोे छ । उनी भन्छन्, ‘किसानको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमकार्यान्वयनमा पहुँचवाला हाबी हँुदै गएकाले सुधार र संशोधन गर्नुपर्दछ ।’ किसानले नै नीति बनाए मात्रै कार्यान्वयन गर्न सहज हुने उनी बताउँछन् ।
लगानी गर्नुपूर्व नै प्रतिफल खोज्न थालियो भने व्यवसायबाट सफल हुन सकिन्न । लगानी अनुसारको प्रतिफल आएन भनेर व्यवसाय बन्द गरियो छने घर न घाटको भइन्छ त्यसैले आइपर्ने समस्याको समाधान गर्दै अघि बढ्ने हो भने सफल भइन्छ भन्ने सन्देश तिवारीको बाख्रापालन गर्दाको अनुभवले दिएको छ ।
जिल्ला पशु सेवा कार्यालयमा बजेट सून्य
जिल्ला पशु सेवा कार्यालयले मजुवादेवी कृषि फार्मलाई बाख्रा मिसनको रुपमा लिएको छ । खोर सुधारको लागि ५० हजार रुपैयाँ र बोका किन्न १० हजार रुपैयाँ सहयोग गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताए । भट्टले भने, ‘पशु कार्यालयको सिफारिसमा फार्मले काम गरिरहेको छ । तिवारीको फार्मको उन्नती र प्रगतीले जिल्लाको नाम नै उच्च छ ।’
स्थानीय तहमा सिधै बजेट आउने गर्नाले सदरमुकाममा रहेको पशु कार्यालयले कृषकको लागि गर्न चाहेको आर्थिक सहयोग शून्य छ । प्राविधिक सहयोग प्रदानमा सीमित जिल्ला कार्यालय रहने या नरहने भन्नेमा अझै अन्योल छ । पशुपालक किसानलाई प्रोत्साहन गर्न स्थानीय तहलाई सुझावमात्र दिने काम भइरहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख भट्टले बताए ।
प्रकाशित: २७ भाद्र २०७४ ०४:०४ मंगलबार