अर्थ

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

काठमाडौं- उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं र जनकपुरबाट १५ किलो सुन बरामद गरेपछि चीनबाट सुन ल्याएर भारतमा बिक्री गर्ने गिरोहले सक्रियता बढाइरहेको पाइएको हो । ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार २२ केजी सुन तस्करीमा चिनियाँ नागरिकको समेत संलग्नता छ । तर, प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गर्न भने सकेको छैन ।

बुधबार ब्युरोले दिएको जानकारी अनुसार २२ केजी सुन तस्करी गिरोहका सात सदस्य पक्राउ परिसकेका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिकबाट सिन्धुपाल्चोक, भोटेकोसी–१ घर भई हाल काठमाडौंको टोखा–११ सामाखुसी बस्ने २६ वर्षीय पेम्बा दोर्जे शेर्पासहित सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर, सूर्यविनायक–७ सिरुटारका दीपेन्द्र थापा, काठमाडौं–१० बानेश्वर बस्ने सरोज थापा, काभ्रे, पाँचखाल–१ का विष्णु गौतम, भक्तपुर, सूर्यविनायक–७ का राजेन्द्र खत्री, सोही ठाउँका रविन खत्री र धनुषा, जनकपुर–७ का दीपककुमार साह छन् । कार्कीले दुई वर्षदेखि सामाखुसी बस्दै आएका शेर्पाको कोठा खानतलासी गर्दा १४ किलो सुन फेला परेको बताए ।

पक्राउ परेका व्यक्तिले प्रहरीलाई दिएको जानकारी अनुसार गिरोहले २२ किलो सुन केरुङ नाका हुँदै चीनबाट नेपाल ल्याएको थियो । जसमध्ये पहिलो चरणमा भारत लैजानका लागि तीन किलो सुन जनकपुर पु¥याइएको थियो भने पाँच किलो सुन बिक्रीका लागि काठमाडौंका विभिन्न स्थानमा पठाइएको प्रहरीले जनाएको छ ।

जनकपुर पठाइएको तीन किलो सुनमध्ये दुई किलो भने गिरोहले भारत पु¥याइसकेको कार्कीले बताए । ‘बरामद हुन बाँकी (पाँच किलो) सुन भने काठमाडौं आसपासमा रहेको अनुमान छ,’ उनले भने, ‘अहिले आइरहेको सुनको परिमाण नेपालमा मात्र खपत हुने खालको होइन ।’ ठूलो परिमाण भएकाले सुन बिक्री गर्ने बजार भारत रहेको बताइन्छ । प्रहरीले सुन तस्करी गिरोहमा राजनीतिक र प्रशासनिक निकायको उच्च तहमा पहुँच राख्ने व्यक्तिको समेत संलग्नता रहेको आंशका गरेको छ ।

ब्युरो प्रमुख कार्कीले सुन तस्करीमा ठूलो गिरोह लागेको र ती सबैको खोजी र अनुसन्धान जारी रहेको बताए । ठूलो परिमाणको सुन बरामद गरिए पनि गिरोहले काठमाडौंलाई बजार नभई ट्रान्जिट बनाएको प्रहरी बताउँछन् । प्रहरीले सुनसँगै बा १० च ४१९३ नम्बरको गाडी र स्कुटर समेत बरामद गरेकाले गिरोहका अन्य सदस्य चाँडै पत्ता लाग्ने अपेक्षा गरेको छ । पक्राउ परेका व्यक्तिसँग ६ सय अमेरिकी डलर र ११ सय ९९ चाइनिज युआन पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

ब्युरोकी प्रवक्ता मीरा चौधरीले गिरोहका मुख्य नाइके चिनियाँ नागरिकलाई समेत संगठित अपराधको अभियोगमा पक्राउको प्रयास गरिने बताइन् । प्रहरीले पक्राउ गरेको सुनको बजार मूल्य करिब सात करोड रुपैयाँ पर्ने बताइएको छ । कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै कमाउन पल्केका गिरोहले सुन तस्करीलाई तीव्र पारेका छन् । केही महिनाअघि प्रहरीले दुबईबाट नेपाल भिœयाउँदै गरेको ३३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो ।

आर्थिक अपराधका घटना वृद्धि हुँदै गएपछि ब्युरोले त्यस्ता खाले अपराध रोक्न विशेष पहल र अनुसन्धानमा जोड दिने जनाएको छ । ‘ब्युरोले आर्थिक अपराधबाहेक साइबर अपराध, ठगी, मानव बेचबिखन तथा ओसारपसार र संगठीत अपराध अनुसन्धानमा जोड दिइरहेको छ,’ डिआइजी कार्कीले भने ।

गौरीगाईको सिङ समातियो

संरक्षित वन्यजन्तु गौरीगाईको सिङसहित ओखलढुंगा, लिखु–४ का सुवास सुवेदी पक्राउ परेका छन् । ब्युरोले काठमाडौं–३२ नरेफाँटबाट सुवेदीलाई सिङसहित पक्राउ गरेको जनाएको छ ।

संरक्षित वन्यजन्तु मार्ने तथा गैर कानुनी रूपमा अंग खरिद, बिक्री, ओसारपसार एवं तस्करी गर्नेर्लाइ पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

प्रकाशित: १६ भाद्र २०७४ ०४:१८ शुक्रबार

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय चीनबाट ल्याएर भारतमा बिक्री