अर्थ

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।

आज महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुलचोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने  जानकारी दिएको हो।

महासंघले महिलाहरूले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ। पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रूपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए।

उनले साना तथा मझौला उद्यमीहरूको मुलुकभर सञ्जाल बिस्तार गरी उद्यमशीलता र बहु आयामिक उत्पादनहरूको विकास र प्रवद्र्धनका निम्ति सहजीकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए। 

उनले मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्त निर्मित सामानहरू हस्तकला,लत्ताकपडा,कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरू,ख खाद्यान्न सामग्री,नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन,काष्ठजन्य घर सजावटका सामग्री,विभिन्न आर्टहरू प्रदर्शनीमा राखिने जानकारी दिए। उनले प्रदर्शनीमा ७० वटा स्टल राखिने बताए।

उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको जानकारी दिए। मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ।

त्यस्तै महासङ्घकी सह अध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र महिला उद्यमीहरूको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताइन। उनले बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन। उनले सरकारले महिला उद्यमीहरूको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन।

उनले मुलुक सङ्घीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरूले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरूद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गरिन। उनले सरकारले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताइन। उनले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको धारणा राखिन।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरूबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ। मेलामा महिला उद्यमीहरूले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्टलहरू बुक भइसकेको जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८० ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App