अर्थ

लम्पी स्किनका कारण ६४ अर्बको क्षति

१३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित ,४७ हजार ६ सय ४९ पशुको मृत्यु

पशु चौपायामा लाग्ने लम्पी स्किन रोगबाट करिब ६४ अर्ब रूपैयाँको क्षति भएको छ। नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति पुगेको हो।

पशुमा लाग्ने लम्पी स्किन रोगबाट पशु संक्रमित भएपछि दूध उत्पादन तथा मासु उत्पादन घट्ने, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुने नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले बताए। शाहीका अनुसार आर्थिक रूपमा किसानलाई ठूलो क्षति हुन्छ। मृत्यु मात्र नभएर संक्रमित हुँदा पनि किसानले क्षति व्यहोर्नु परेको उनले बताए।

‘एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार १ सय ३५ रूपैयाँ नोक्सान हुन्छ,’ प्रवक्ता शाहीले भने, ‘साढे १३ लाख पशु संक्रमित भएकाले ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको छ।’

 परिषद्ले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पशुमा लम्पी स्किनबाट संक्रमित भए पछि हुने क्षतिको बारेमा अध्ययन गरेको थियो।

पशुमा लाग्ने लम्पी स्किन रोगबाट पशु संक्रमित भएपछि दूध उत्पादन तथा मासु उत्पादन घट्ने, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुने नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको हो। ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएकोमा मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्ण रूपमा नियन्त्रणमा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहोराले बताए।‘पहाडी जिल्लाहरूमा क्रमशः घट्दो क्रममा रहेको छ,’ उनले भने।

लम्पीबाट संक्रमित पशुको संख्या ३ लाख ५ हजार ३ सय ६१ पुगेको छ। मन्त्रालयका अनुसार १० लाख ८२ हजार १ सय ५९ पशुलाई निको भएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ७५ हजार ५ सय ५३ रहेको छ। सरकारले खोप नियन्त्रण गर्न १३ लाख ६९ हजार डोज खोप लगाएको छ।

राष्ट्रव्यापी रूपमा बृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरेको मन्त्रालयले जनाएको छ। स्वदेशमै लम्पी स्किन रोग विरुद्धको खोप उत्पादन गर्न आवश्यक मास्टर सिड निःशुल्क उपलब्ध गराउन पनि समन्वय भएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको हो।

लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएकोमा मनाङ र मुस्ताङमा भने नियन्त्रणमा आएको छ। लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमामा सर्छ। संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने पशु चिकित्सक बताउँछन्। ज्वरो आए औषधि खुवाउन, गिर्खा फुटेको घाउमा मलम लगाउन र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउन पशुचिकित्सकले सुझाव दिएका छन्।

लम्पी स्किन गाई/भैंसीमा भाइरसको कारण लाग्ने महामारी हो। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। यो सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठाहरू देखिने, ¥याल, सिँगान बग्ने, कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाइभैंसीमा असर गर्छ।

लामखुट्टे, भुसुना, झिँगा, डाँस, किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने भएकाले गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न मन्त्रालयले किसानलाई अनुरोध गर्दै आएको छ। संक्रमित पशुहरूलाई वथानबाट छुट्याई राख्न, रोगी पशुहरूको ओसारपसार बन्द गर्न, बिरामी पशुको स्याहारसुसारमा विषेश ध्यान दिन पशुचिकित्सकको सुझाव छ।

लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएकोमा मनाङ र मुस्ताङमा भने नियन्त्रणमा आएको छ। लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमामा सर्छ। संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने पशु चिकित्सक बताउँछन्।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो अफ्रिकाको सब-सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एसियासम्म फैलियो। राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्गलादेश, चीन र भारतमा लम्पी स्किन देखापरेको थियो।

पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल साउनमा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। त्यसपछि बिस्तारै फैलिँदै महामारीको रूप लिएर मुलुकभर फैलिएको हो।

प्रकाशित: ४ भाद्र २०८० ०२:०४ सोमबार

लम्पी स्किनका कारण ६४ अर्बको क्षति नेपाल पशु चिकित्सा परिषद्