अर्थ

इन्धनबाट सरकारलाई ३७ अर्ब राजस्व

काठमाडौं – नेपाल आयल निगमले भारतबाट इन्धन ल्याएर बिक्री गर्दा यो वर्ष सरकारलाई विभिन्न शीर्षकबाट करिब साढे ३७ अर्ब रुपैयाँ राजस्व प्राप्त भएको छ । पेट्रोलियम पदार्थ कारोबारबाट चालु आर्थिक वर्षको ११ महिनामा ३७ अर्ब ३२ करोड रुपैयाँ राजस्व जम्मा भएको निगमले जनाएको छ।

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास आयात गर्दा भन्सार कार्यालयमा विभिन्न शीर्षकमा तिरेको कर र मूल्य अभिवृद्धि करबाट सो रकम जम्मा सरकारी खातामा भएको हो । ‘इन्धन कारोबारबाट करिब साढे ३६ अर्ब रुपैयाँ राजस्व जम्मा भएको छ,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । 

भन्सार शुल्कबाट आठ अर्ब ७१ करोड रुपैयाँ, सडक मर्मत शुल्कबाट तीन अर्ब ६७ करोड, वातावरण खर्च बापत ७५ करोड, बूढीगण्डकी जलविद्युत् परियोजनाको लागि पूर्वाधार विकास कर आठ अर्ब १९ करोड, मूल्य अभिवृद्धि कर १३ अर्ब, निगमले कमाएको नाफाबाट आयकर तीन अर्ब रुपैयाँ संकलन भएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याउँदा भन्सार कार्यालयले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर संकलन गर्छ । उक्त सरकारी खातामा सिधै जम्मा हुने गरेको छ । 

निगमले वैशाखसम्म पेट्रोल तीन लाख ३२ हजार चार सय ८०, डिजेल १० लाख ६० हजार तीन सय चार, मट्टीतेल १५ हजार नौ सय १६, हवाई इन्धन एक लाख ३७ हजार तीन सय ७६ किलोलिटर र एलपिजी ग्यास दुई लाख ५५ हजार चार सय २१ मेट्रिक टन आयात भएको छ । 

सरकारले भन्सार महसुल पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २३ पैसा, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ तीन पैसा, हवाई इन्धन आन्तरिकतर्फ दुई रुपैयाँ १३ पैसा, अन्तर्राष्ट्रियतर्फ तीन पैसा, ग्यासमा प्रति सिलिन्डर ४४ रुपैयाँ ९२ पैसा लिने गरेको छ ।

सडक मर्मतसम्भार कर पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेलमा दुई रुपैयाँ लाग्छ । बूढीगण्डकी परियोजनाको लागि पेट्रोल, डिजेल, हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँ संकलन गर्ने गरेको छ । 

त्यसैगरी, प्रदूषण शुल्कबापत पेट्रोल र डिजेलबाट मात्र प्रतिलिटर ५० पैसा उठाउँदै आएको छ । यसबाहेक सबै कर जोडेपछि कायम हुन आउने मूल्यमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउँछ । 

सम्पूर्ण सरकारी राजस्व एवं मूल्य अभिवृद्धि करको लागि सरकारले पेट्रोलमा ३७ रुपैयाँ २१  पैसा, पेट्रोलमा १९ रुपैयाँ तीन पैसा, मट्टीतेलमा दुई रुपैयाँ ४१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ ४५ पैसा, अन्तराष्ट्रितर्फ ५ रुपैयाँ ४३ पैसा, ग्यास प्रतिसिलिन्डर दुई सय ६ रुपैयाँ ३० पैसा भन्सार बिन्दुबाटै लिने गरेको छ । सरकारले लिनेबाहेक निगमले विभिन्न शीर्षकमा रकम थपेर इन्धन बिक्री गर्छ ।

निगमले इन्धन किन्दा आइओसीलाई तिर्ने मूल्य भने पेट्रोल प्रतिलिटर ४५ रुपैयाँ चार पैसा, डिजेल ४४ रुपैयाँ ९४ पैसा, मट्टीतेल ४५ रुपैयाँ २९ पैसा, हवाई इन्धन ४३ रुपैयाँ ९२ पैसा, ग्यास प्रतिसिलिन्डर आठ सय ३२ रुपैयाँ ३५ पैसा पर्छ । 

खरिद मूल्य कम भए पनि सरकारले लिएका विभिन्न शीर्षकको करसहित निगमले मूल्य स्थिरीकरण कोष, ढुवानी भाडा, बीमा खर्च जोडेर बेच्दा उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् । निगमले प्रशासनिक र बिक्री खर्च, प्राविधिक नोक्सानी, निगमको पूर्वाधार विकासको लागि थप रकम लिएर उपभोक्तालाई बिक्री गर्छ । यी विभिन्न शीर्षकलाई जोडेर निगमले पेट्रोल प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेल ७६ रुपैयाँ, हवाई इन्धन ८६ रुपैयाँ लिटर र ग्यास प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले लामो समयपछि गत शुक्रबार पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा मूल्य घटाएको थियो । सामान्य मूल्य समायोजन गरे पनि निगमकै प्रक्षेपण अनुसार १५ दिनमा ४० करोड ४१ लाख रुपैयाँ नाफा छ ।

सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरेर चर्को मूल्यमा बिक्री गरिरहेको आरोप निगमलाई लाग्दै आएको छ । निगमले भने भारतमा भन्दा सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोल भारतमा भन्दा १९ रुपैयाँ चार पैसा र डिजेलमा १९ रुपैयाँ ३५ पैसा सस्तोमा बेचिरहेको निगम वितरण विभाग प्रमुख सीताराम पोख्रेलले बताए । ‘भारतमा भन्दा सस्तोमा इन्धन बिक्री गरिरहेका छौं,’ पोख्रेलले भने, ‘अहिलेको भन्दा मूल्य घटाए भारततर्फ नै चोरी निकासी हुन्छ ।’

प्रकाशित: ५ असार २०७४ ०६:१८ सोमबार