अर्थ

गाउँका किसान सिंहदरबारमा पुरस्कृत

काठमाडौं-श्रीमतीका गहना बेचेर कृषि व्यवसाय सुरु गरेका नवलपरासीका थमबहादुर रजाली मगर अचेल वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छन् । ‘श्रीमतीको गहना बेचेको १७ हजार र आँफन्तसँग सरसापट गरी ४७ हजारबाट तरकारी खेती सुरु गरेको हुँ,’ मगरले भने, ‘ती दिन सम्झिँदा आफैंलाई आश्चार्य लाग्छ ।’
पत्रकारिता पेसा छाडेर तरकारी खेती सुरु गरेका मगरले मंगलबार सिंहदरबारमा एक लाख राशीको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार पाए । २०६८ बाट तरकारी खेती सुरु गरेका मगरले सोइल लेस प्रविधिबाट बेर्ना उत्पादन, प्लास्टिक मल्चिङ, ट्रस पाइपको थांक्रोको प्रयोग गरेर खेती गरिरहेका छन् । साढे दुई बिघामा थोपा सिँचाइ प्रविधि प्रयोग गरेर उन्नत तरकारी खेती गरेको उनले बताए । ‘स्वदेशमै व्यावसायिक खेती गरी विदेशमा भन्दा धेरै आर्जन गर्न सकिन्छ,’ मगरले भने, ‘राम्रो काम गरेर सम्मानित हुन पाउँदा खुसी छु ।’
मन्त्रालयले हरिपुर नगरपालिका–९, सर्लाहीका सिकान अफजल हुसेनलाई सर्वोत्कृष्ट पुरस्कार स्वरुप दुई लाख रुपैयाँ नगद प्रदान गरेको छ । वार्षिक तीन करोड रुपैयाँ कमाउने हुसेनले वार्षिक दुई सय मेट्रिक टन माछा उत्पादन गर्दै आएको बताए । उनले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय माछा उत्पादन गरी भारतबाट बरफमा आउने बासी माछालाई प्रतिस्थापन गर्ने कार्यमा योगदान गर्दै उपभोक्तलाई स्वस्थ्य माछा बेच्दै आएका थिए । करिब सबा दुई करोड रुपैयाँ लगानी गरेको माछापालन गरेका छन् । ‘११ बिघामा माछा पाल्दै आएको छु,’ हुसेनले भने ।
उनले किसानलाई उद्योगीको दर्जा दिनुपर्ने बताउँछन् । ‘युवालाई रोजगारी पनि दिएका छौं,’ उनले भने, ‘हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएन ।’ हुसेनले फ्लोटिङ फिडको प्रयोग गरी वैज्ञानिक प्रविधिबाट पोखरी व्यवस्था गरेर माछा पाल्दै आएका छन् । राष्ट्रपति पुरस्कार पाउँदा हुसेन फुरुंग छन् । विगतमा उखु खेती गरेर चिनी उद्योग सञ्चालन गरेका उनले त्यसबाट राम्रो फाइदा नभएपछि माछापालन सुरु गरेको बताउँछन् ।
कृषि व्यवसायमा उत्कृष्ट काम गर्ने पाँच किसानलाई सम्मानित गरेको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘कृषिलाई व्यावसायिक बनाई सम्मानित पेसाको रुपमा स्थापित गर्ने ध्येय हो,’ कार्कीले भने, ‘राष्ट्रपति पुरस्कारले किसानलाई हौसला मिलेको छ ।’ विभिन्न छनोट प्रक्रिया पूरा गरेर उत्कृष्ट घोषणा गरेको कार्कीले बताए । माछापालन, तरकारी खेती, बाख्रापालन, सुन्तला, मत्स्य प्रजनन् गरी विभिन्न विधाबाट छनोट गरिएको उनले बताए ।
कृषि पेसामा आकर्षित गर्न सहयोग पु¥याएको भन्दै कृषि विकास मन्त्रालयले देशभरका किसानबाट एकजनालाई सर्वोत्कृष्ट र चारजनालाई उत्कृष्ट छनोट गरी राष्ट्रपति कृषक पुरस्कारले सम्मानित गरेको छ । सर्वोत्कृष्टलाई दुई लाख र उत्कृष्टलाई जनही एक लाखका दरले पुरस्कार दिएको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए ।
उत्कृष्ट पुरस्कार पाउने डडेलधुराका खडकसिंह विष्ट एक लाख राशीको पुरस्कार पाउँदा प्रफुल्लित देखिन्थे । ‘गाउँका किसानलाई पनि सरकारले सम्झियो,’ विष्टले भने, ‘पुरस्कारले थप उत्साह थपिएको छ ।’ उनले एक सय ८० बाख्रा पालेका छन् । बाख्राको लागि २० रोपनीमा घाँस खेती गरेका छन् । अहिले डडेलधुराको चिपुर गाउँले बाख्रापालनमा ख्याति कमाएको विष्टले बताए । ‘दुर्गम गाउँमा वैज्ञानिक तरिकाले बाख्रापालन गरेको छु,’ उनले भने, ‘बाख्रा फार्ममा उन्नत नश्ल प्रयोग गरी स्रोत केन्द्रको रुपमा विकास गरिएको छ ।’
पूर्वी पहाडी जिल्ला पाँचथरबाट पुरस्कार थाप्न आएकी इन्द्रकुमारी लावतीले सम्मानले हौसला मिलेको बताइन् । लावतीले सुन्तला, तरकारी, अलैंची खेती, पशुपक्षीपालनबाट वार्षिक करिब २२ लाख रुपैयाँ कमाउने बताइन् । ‘मैले व्यवसाय गरेपछि गाउँमा महिला दिदीबहिनी पनि थप आकर्षित भएका छन्,’ लावतीले भनिन्, ‘कृषि पेसाले महिला सशक्तीकरणमा पनि टेवा पु¥याएको छ ।’ उनले सुन्तला बगैंचा वैज्ञानिक रुपमा व्यवस्थित, घुसुवा बालीको रुपमा अदुवा खेती, थोपा सिँचाइ, प्लास्टिक टनेल प्रविधि, पेल्ट्रिक सेटबाट बिजुली उत्पादन गरी वितरण, महिला सशक्तीकरणको क्षेत्रमा उदाहरणीय कार्य गरेकी छिन् ।
लामो समयदेखि माछा व्यवसाय गर्दै आएका बाँकेका सुमेरसमशेर जबरा पनि पुरस्कृत भए । उनले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए ।
किसानलाई सम्मान प्रदान गर्दै कृषि विकास मन्त्रालयका सचिव सुरोज पोख्रेलले कृषि पेसालाई मर्यादित बनाउनुपर्ने बताए । ‘कृषिले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पु¥याएको छ,’ पोख्रेलले भने, ‘किसानले उत्पादन गरेको वस्तुको बजारीकरण गर्न पनि पहल गरिरहेका छौं ।’ सो कार्यक्रममा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले सम्मानित किसानले प्रेरणादायी भूमिका निर्वाह गरेको बताए । किसानलाई सम्मानले थप प्रोत्साहन मिलेको राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको टिप्पणी थियो ।
तस्बिर ः नागरिक
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ग्रहण गरेपछि कृषि विकास र पशुपक्षी मन्त्रालयका उच्च अधिकारीसँग पुरस्कृत किसान ।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०३:५५ बुधबार

गाउँका किसान सिंहदरबारमा पुरस्कृत