अर्थ

भैरहवा सेजमा उद्योग दर्ता सुरु

काठमाडौं- भैरहवा विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगहरूको दर्ता प्रक्रिया सुरु भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता भएका १९ वटा उद्योगको दर्ता गत बुधबारबाट सुरु भएको हो।

सम्झौता भइसकेका उद्योगको दर्ता प्रक्रिया सुरु भइसकेको प्राधिकरण कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। 'बुधबारदेखिनै उद्योग दर्ता सुरु भइसकेको छ,' भट्टले नागरिकसँग भने, 'उनीहरूलाई हामी आफैंले दर्ता गरेर उद्योग खोल्ने बाटो सहज बनाउँदै छौं।' उद्योग मन्त्रालयले केही समयअघि मात्र प्राधिकरणलाई उद्योग दर्ता गर्ने अधिकार प्रत्यायोजन गरेको थियो।

दर्ता प्रक्रिया सकिएपछि लगानीकर्ताहरु उद्योग सञ्चालनको भौतिक निर्माणमा लाग्ने भट्टले बताए। दर्ता प्रक्रियासँगै कम्पनीको काम, वातावरणीय आइए/इआइए लगातका सम्पूर्ण काम पनि प्राधिकरण मै हुनेछ। यी सबै काम प्राधिकरण मै हुने भएकाले उद्योग सञ्चालनको छिटो हुने विश्वास प्राधिकरणले लिएको छ।

प्राधिकरणले भैरहवा सेजमा उद्योग सञ्चालन गर्ने भनेर १९ वटा उद्योगसँग सम्झौता गरिसकेको छ। १९ वटा उद्योगले उक्त सेजमा झन्डै ७ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको भट्टले बताए।

औद्योगिक क्षेत्र भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र भारतको नयाँदिल्लीसँग एक हजार किलोमिटर दुरीमा छ। ३६ हेक्टर जमिनमा फैलिएको यो सेज कानपुर, हरियाणालगायत प्रदेशबाट नजिक पर्छ भने लखनउ र गोरखपुर क्रमशः चार सय र ९५ किलोमिटर दुरीमा पर्छन्।

सेजको अवधारणा नै उत्पादित वस्तु निर्यात गर्नु हो। नेपालमा स्थापना गर्न लागिएका केही विशेष आर्थिक क्षेत्र भारतनजिक छन्। जसको प्रमुख बजार केन्द्र भनेको नेपालका सिमानामा जोडिएका भारतीय बजार नै हुन्।

भैरहवा क्षेत्रको प्रमुख निकासी केन्द्र पनि भारत हो। नेपालसँग जोडिएको सुनौली नाका केही किलोमिटर मात्र पर छ। भैरहवाको सेज सञ्चालन गर्न सके यस क्षेत्रको सबैभन्दा ठूला बजार नै भारत हुने व्यवसायी बताउँछन्।

यो क्षेत्रमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने प्रावधान छ। उत्पादकले २५ प्रतिशतभन्दा धेरै उत्पादन नेपालको आन्तरिक बजारमा बिक्री गरेमा जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:४८ आइतबार

भैरहवा सेजमा उद्योग दर्ता सुरु