काठमाडौं – बैंकका संस्थापकले हकप्रद सेयरको आवेदन भर्न ठूलो मात्रामा अर्को बैंकबाट ऋण लिँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव गराउन मद्दत मिलेको विज्ञहरुले बताएका छन् । बैंक संस्थापकहरुले कुनै न कुनै तरिकाले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयर भरेको उनीहरुको भनाइ छ।
वाणिज्य बैंकहरुले छोटो समयमै तीन गुणाभन्दा बढी पुँजी बढाउनुपर्ने नियम केन्द्रीय बैंकले ल्याएपछि बैंकहरुले हकप्रद सेयरलाई पुँजी वृद्धिको उपाय बनाए । त्यही मेसोमा सर्वसाधारण लगानीकर्तासँगै संस्थापकले पनि हकप्रद सेयर किन्न बैंकबाट ऋण लिन थालेका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडा बताउँछन् ।
नेपाल राष्ट्र बैंकले ०७२ सालको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएको थियो । सो नीति अनुसार वाणिज्य बैंकहरुले दुई अर्ब रहेको चुक्ता पुँजी बढाएर आठ अर्ब रुपैयाँ पुर्याउन पर्ने भयो । चुक्ता पुँजी साबिकको तुलनामा चौगुणा पु¥याउन बैंकहरुले ठूलो मात्रामा हकप्रद सेयर जारी गरिरहेका छन् ।
हाल २८ वटा वाणिज्य बैंक छन् । यो आर्थिक वर्षको सुरुसम्ममा अधिकांश वाणिज्य बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ हाराहारी थियो । कतिपयको त त्योभन्दा पनि कम थियो । यस हिसाबले चार अर्ब चुक्ता पुँजी पु¥याएका बैंकले पनि यसै वर्ष अर्को चार अर्ब थप गर्नुपर्ने अवस्था थियो । यसै अर्थिक वर्षभित्र राष्ट्र बैंकले तोकेको पुँजी पु¥याउन २८ वटा बैंकले कम्तीमा एक खर्ब १२ अर्ब पुँजी थप गर्नुपर्ने अवस्था थियो । बैंक वित्तीय संस्थामा संस्थापकको सेयर ५१ प्रतिशतभन्दा बढी हुन्छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणको हुन्छ ।
यस हिसाबले बैंक संस्थापकहरुले हकप्रद सेयर भर्न यसै वर्ष करिब ६० अर्ब रुपैयाँ जोहो गर्नुपर्ने अवस्था थियो । त्यही पैसा कुनै न कुनै तरिकाले अन्य बैंकबाट ऋणको रुपमा लिएका कारण लगानीयोग्य पुँजीको अभाव भएको पूर्वगभर्नर खतिवडाले शनिबार नागरिकलाई बताए ।
‘बैंक सञ्चालकले करोडौं रुपैयाँ खातामा राखेर बसेका हुँदैनन्, कुनै न कुनै तरिकाले बैंकबाट ऋण लिएकै कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘बैंक सञ्चालकले करोडौंको हकप्रद सेयर भर्न कहाँबाट पैसा ल्याए त ? सजिलै अनुमान गर्न सकिन्छ उनीहरुले आफ्नो बैंकबाट ऋण लिन नपाए पनि अर्को कुनै बैंकबाट लिए । त्यसैले गर्दा तरलता अभाव भयो ।’
बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता अभावका कारण सिर्जित समस्या समाधान गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
‘बैंकका प्रमोटरहरुले आफ्नै बैंकबाट ऋण लिन नपाए पनि एक अर्काको बैंकबाट ठूलो ऋण लिई राइट सेयरमा लगानी गरेका छन्, त्यसले पनि तरलतामा चाप बढाएको हो,’ अर्का एक विज्ञले भने ।
सञ्चालकहरुले बैंकबाट ऋण लिएर हकप्रद सेयरमा लगानी गरेको दाबी उनीहरुको छ ।
केन्द्रीय बैंकले बैंकको संख्या घटाउने उद्देश्यले चुक्ता पुँजी बढाउनुपर्ने नियम ल्याएको थियो । तर, राष्ट्र बैंकले यसरी हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउलान् भन्ने अनुमान नै गरेको थिएन । केन्द्रीय बैंकको अनुमान विपरीत परिणाम आएका कारण यस्तो समस्या आएको विज्ञको भनाइ छ ।
मर्जर वा एक्विजिसनबाट चुक्ता पुँजी बढ्छ भन्ने निष्कर्ष निकाल्दै राष्ट्र बैंकले त्यस्तो निर्णय गरेको थियो । तर, उसको अनुमान अनुसार मर्जर वा एक्विजिसन भएन । हकप्रद सेयर निष्कासनको सीमा नतोक्नु केन्द्रीय बैंकको कमजोरी भएको राष्ट्र बैंकका उच्च अधिकारी पनि स्वीकार गर्छन् ।
हकप्रद सेयरका कारण राष्ट्र बैंकले चाहेअनुरुप वाणिज्य बैंकहरुको संख्या नघटे पनि समीक्षा गर्न थालेको छ । विदेशी दातृ निकायले बैंकको संख्या घटाउन केन्द्रीय बैंकलाई सुझाव दिएको थियो । त्यही सुझाव लागू गर्न खोज्दा यस्तो परिणाम आएको विज्ञको भनाइ छ । ‘बैंकको संख्या घटेन, बरु लगानीयोग्य पुँजीको अभाव हुन पुग्यो ।’
राष्ट्र बैंकले पुँजी बढाउन लगाउनुको एउटा उद्देश्य बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन थियो । चुक्ता पुँजी बढाउने निर्णयले सेयर बजार उकालो लागेपछि कतिपय बैंक तथा वित्तीय संस्थाले मर्जर सम्झौता तोड्दै हकप्रदमार्फत पुँजी बढाउन थाले । सेयर बजार बढ्दा सञ्चालकहरुलाई नै फाइदा हुने भएपछि उनीहरुले ऋण लिएरै हकप्रद सेयर भरे । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भयो । ‘बैंकहरुमा अकस्मात लोन (ऋण) बढ्नुको कारण पनि यही हो,’ पूर्वगभर्नर खतिवडाले भने, ‘अहिले पनि अधिकांश ऋण घरजग्गा र सेयरमा मात्र गएको देखिन्छ ।’
प्रकाशित: २१ जेष्ठ २०७४ ०५:५४ आइतबार