अर्थ

वाइड बडी जहाज किन्न दुई संस्थाबाट बराबर ऋण

काठमाडौं—राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिने निर्णय गरेको छ।

निगम सञ्चालक समितिले सञ्चय कोष र लगानी कोष दुवैसँग कूल ऋणको ५०-५० प्रतिशतका दरले लिन अनुमति दिएपछि निगम व्यवस्थापनले त्यहीअनुसार प्रक्रिया अगाडि बढाएको छ।

‘एएआरसँग भएको सम्झौता मितिबाट चार साताभित्र पहिलो किस्ता पठाइसक्नुपर्छ, तीन साता कटिसक्यो अब एक साताभित्र पठाउनुपर्छ,’ सम्बद्ध अधिकारीले भने, ‘त्यही भएर आउने साता दुइटै संस्थाासँग ऋण सम्झौता गरिसक्छौं ।’

हामी दुईथान वाइड बडी जहाज खरिद गर्न चाहिने करिब २५ अर्ब रुपैयाँ सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिन्छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘पहिलो किस्तावापत पठाउनुपर्ने ८ अर्ब रुपैयाँ दुवै संस्थाबाट आधा–आधा लिने निश्चित भएको छ।’

निगम र दुवै सरकारी वित्तीय संस्थाबीच आधा–आधा परिमाणमा ऋण आदान–प्रदान गर्ने समझदारी रहेको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पनि बिहीबार सञ्चय कोष र लगानी कोषका उच्च अधिकारीहरूलाई भेटेर ऋणबारे कुराकानी गरेका छन्।

निगमले दुवै संस्थासँग ऋणको ब्याज दर ९ प्रतिशतभन्दा बढी नतिर्ने सर्त राखेको छ। ‘ब्याज दर वार्षिक ९ प्रतिशतभन्दा बढी तिर्दैनौं,’ श्रेष्ठले भने, ‘बरु ब्याज अझै घट्न सक्छ तर बढ्दैन।’

सरकारले वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि ठूलो परिमाणको ऋण खोज्ने झन्झटबाट निगम मुक्त भए पनि उसले दुवै संस्थासँग औपचारिक ऋण सम्झौता भने गरिसकेको छैन।

विगतदेखि नै निगमले सञ्चय कोषसँग ऋण लिन पटक–पटक छलफल गर्दै आएको थियो। लगानी कोषसँग भने अनौपचारिक छलफल गर्दै आएको थियो। अब भने निगमले ऋण सम्झौताको तयारी तीव्र गतिले अगाडि बढाएको छ।

निगमले अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो।

सम्झौताअनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ। यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकले निगमलाई १० करोड ४८ लाख डलर (१० अर्ब ७९ करोड ४४ लाख रुपैयाँ) का दरले ऋण उपलब्ध गराउनेछन्।

सम्झौताअनुसार एएआरले पहिलो वाइड बडी २०७५ असार १६ गतेभित्र काठमाडौं पठाउने छ भने लगत्तै एक महिनापछि दोस्रो जहाज आपूर्ति गर्ने छ। यसअघि उसले २०७४ मंसिरमा र दोस्रो लगत्तै फागुन अन्तिमसम्ममा काठमाडौं पठाउने तालिका दिएको थियो । ती जहाजका लागि निगमले दुई किस्तामा रकम पठाउने सम्झौता गरेको छ। पहिलो किस्तामा ८ करोड डलर (८ अर्ब २४ करोड रुपैयाँ) निगमले पठाउने छ। दोस्रो किस्तामा बाँकी १२ करोड ९६ लाख डलर (१३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ) पठाउने छ। यी रकमको आधा–आधा सञ्चय कोष  र लगानी कोषले बेहोर्नेछन्।

‘एएआरसँग भएको सम्झौता मितिबाट चार साताभित्र पहिलो किस्ता पठाइसक्नुपर्छ, तीन साता कटिसक्यो अब एक साताभित्र पठाउनुपर्छ,’ सम्बद्ध अधिकारीले भने, ‘त्यही भएर आउने साता दुइटै संस्थाासँग ऋण सम्झौता गरिसक्छौं ।’

निगमले गत वर्ष फागुन ४ मा दुइटा बडी किन्न एएआरलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको थियो । बैना पाएपछि एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । निगमले हिमालयन बैंकको न्युरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको ‘हाइफ्लाई एयरलाइन्स’को स्विजरल्यान्डमा रहेको बैंक खातामा बैना पठाएको थियो ।

एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्ताव निगम सञ्चालक समितिले माघ २ गते अनुमोदन गरेको थियो ।

त्यसपछि माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा ‘जहाज नलिए प्रतिबद्धता रकम फिर्ता हुने’ उल्लेख छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा हाइफ्लाई एयरलाइन्सको अर्डरमा निर्माणाधीन दुईथान ‘ए३३०–२००’ जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो ।

निगमलाई एयरबसमा उत्पादित दुई सय ५० देखि दुई सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान वाइड बडी जहाज बिक्री गर्न कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दिने प्रस्ताव गरेको थियो । उसले ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ । निगमले दुइटै जहाजमा १६ बिजनेस क्लास र २ सय ६४ इकोनोमी क्लास सिट राख्ने छ ।

निगमले दुईथान वाइड बडी ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ । त्यसैगरी साउदी अरबको दम्माम र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना पनि निगमको छ । निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्छ ।

कर्मचारी सञ्चय कोषले गत वर्ष भदौ २९ मै निगमलाई वाइड बडी जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो । निगमले लिने ऋणमा सरकारले जमानी बस्ने निर्णय गर्नुअघि नै सञ्चय कोषले ऋण दिने प्रस्ताव गरेको थियो । निगमले लिने २५ अर्ब रुपैयाँबराबर ऋणमा जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो ।

निगमले यसअघि एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान जहाज खरिद गर्न सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो ।

कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो । त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिएको थियो । हाल त्यसमा पनि घटाउँदै ब्याज दर नौ प्रतिशतमा झारिसकेको छ । निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा साँवा–ब्याज चुक्ता गर्नुपर्छ। १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौता छ ।

प्रकाशित: १५ वैशाख २०७४ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App