अर्थ

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

काठमाडौं – लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो । 

फागुन ३ गते नेप्से १२७५ अंकसम्म ओर्लिएको थियो । त्यसपछि निरन्तर बढेर १७१० अंकमा पुगेको थियो । नेप्से न्यून (१२७५ ) अंकमा आएको बेला सेयर किन्नेले उच्च बिन्दु (१७१०) मा पुगेपछि बिक्री गर्न थालेका थिए ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्से निरन्तर ओरालो लाग्दै आएको छ । नेप्से एक सातामा करिब सय अंकले घटेको छ । अघिल्लो मंगलबार १७०९.८२ बिन्दुमा पुगेको नेप्से मंगलबार १६१२.०४ बिन्दुमा आएको छ ।

लगानीकर्ताले नाफा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले मंगलबार नागरिकलाई बताए । ‘सस्तोमा सेयर किनेका लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका कारण बजार ओरालो लागेको हो,’ उनले भने, ‘अझै घट्ने हो कि भन्ने आंशकाले पनि काम गरेको छ ।’ 
 
राजनीतिले सेयर बजारलाई सधैं प्रभाव पार्ने गर्छ । अहिले बजार घट्नुको अर्को कारण राजनीति पनि भएको सिजापतीको भनाइ छ ।

‘निर्वाचनको मिति नजिकिँदै जादाँ मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि लगानीकर्ता हतोत्साहित भएर सेयर बिक्री गर्न थाल्दा बजार ओरालो लागेको हो,’ उनले भने, ‘निर्वाचनपछि सेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्ताले बनाएका थिए, तर मधेसी मोर्चाले आम हडतालसम्मका कार्यक्रम सार्वजनिक गरेपछि लगानीकर्ता मनोबल गिरेको छ ।’

यसअघि साउन १२ गते १८८१.४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो । त्यसपछि ओर्लिएको बजार १२७४ अंकसम्म आएको थियो । त्यसपछि निरन्तर उकालो लागेर १७०९.८२ बिन्दुसम्म पुगेको थियो । 

नयाँ कीर्तिमान पछ्याउँदै सेयर बजार अघि बढेकोमा पुनः ब्रेक लागेको छ । अहिले नेप्से ओर्लेर १६१२.०४ बिन्दुमा आइपुगेको छ । 

मंगलबार पनि ३९.५७ बिन्दुले नेप्से ओरालो लाग्यो । बजारले लगानीकर्तालाई खुसी बनाउन सकेन । 

निर्वाचन हुने दिन नजिकिँदै जाँदा चुनावपक्षीय र विपक्षी मधेसी दलबीच चर्को ध्रुवीकरण हुन थालेपछि थालेपछि सेयर बजारका लगानीकर्ता थप निरुत्साहित भएका हुन् ।

मधेसवादी दलले चुनावको मुखमा आएर नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । त्यसबाट सरकारलाई चुनाव गराउने केही असहज हुने र त्यसले सेयर बजारलाई समेत असर पार्ने विश्लेषण लगानीकर्ताले गर्न थालेका छन् । 

चुनाव हुने वा नहुने भन्ने दुबिधा बढ्दा सेयर बजारका लगानीकर्तामा पनि अन्योल छाएको छ । चुनाव हुने आशा बढेको बजार चुनाव नभए घट्ने निश्चित छ । 

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कठोर नीति र बैंकहरुले पनि लगानीयोग्य पुँजीको अभाव भएको भन्दै सेयर धितोमा ऋण दिन आनाकानी गरेका कारण पनि सेयर बजारलाई असर परेको थियो । ‘७–८ प्रतिशत ब्याजदरमा सेयर धितोमा कर्जा लिइरहेका लगानीकर्ताले मुस्किलले १५–१६ प्रतिशतमा कर्जा पाइरहेका छन्,’ एसोसिएसनका पूर्वअध्यक्ष सिजापतीले भने, ‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाएका कारणले पनि सेयर बजार प्रभावित भइरहेको छ ।’

अस्थिर राजनीतिले निराश बनाएको लगानीकर्तालाई बढ्दो ब्याजदरले पनि पिरलेको छ । यसले पनि सेयर बजार ओरालो लाग्नमा मद्दत गरेको छ ।

अधिकांश लगानीकर्ताले सेयर बढ्न थाल्दा किन्ने र घट्दा बिक्री गर्ने गर्छन् ।  बजार घट्न थालेपछि आत्तिएर बेचिहाल्ने प्रवृत्तिले पनि सेयर बजारलाई असर पारेको ब्रोकर बताउँछन् । 

नेप्से घटे पनि कारोबार रकममा भने उत्साह जारी छ । मंगलबार एक सय ४२ कम्पनीको एक अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । २२ लाख नौ हजार नौ सय ३१ कित्ता सेयर किनबेच भएका छन् । उत्पादनमूलक बाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक १८४.४७ बिन्दुले तल झरेको छ ।

जलविद्युत समूह ७१.२४ र विकास बैंक समूहको ३८.८७ बिन्दुले तल झरेको छ । 

वाणिज्य बैंक समूहको सूचक ४४.०७ अंकले घटेको छ । कारोबार रकममा एभरेस्ट बैंक अग्रस्थानमा रह्यो । एभरेस्टले अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्न भनेर विशेष साधारण सभा बोलाएपछि उक्त कम्पनीको मूल्य घटेको हो । उक्त बैंकको सेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँले घटेको छ ।

मंगलबार एभरेस्ट बैंकको सेयर भाउ ९.९६ प्रतिशतले तल झरेको छ । उक्त बैंकको सात करोड २७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

‘एभरेस्ट बैंकले चुक्ता पुँजी आठ अर्ब पु¥याउन हकप्रद सेयर जारी गर्छ भन्नेमा लागनीकर्ता थिए,’ सिजापतीले भने, ‘तर, त्यसको विपरीत कुनै वित्तीय संस्थालाई खरिद गरेर चुक्तापुँजी पु¥याउँदा हकप्रद सेयर जारी गर्नुपर्ने अवस्था नरहन सक्ने भएकाले पनि उक्त बैंकको सेयर बिक्रीमा चाप देखिएको हो ।’

प्रकाशित: ६ वैशाख २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App