अर्थ

नेप्से पाँच महिनायताकै उच्च

काठमाडौं – सेयर बजारमापक नेप्से पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि कात्तिक २९ गते नेप्से परिसूचक १७०६.२८ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से फागुन ३ गते सबैभन्दा तल १२७४.९७ विन्दुमा आइपुगेको थियो । त्यसपछि निरन्तर उकालो लागेको सेयर मंगलबार नेप्से ३३.६० विन्दुले बढेर बढेर १७०९.८२ अंकमा पुगेको छ ।

स्थानीय निर्वाचनको माहौल सकारात्मक बन्दै जाँदा लगानीकर्तामा आत्मबल बलियो बन्न पुगेको देखिन्छ । स्थानीय निर्वाचनको मिति घोषणा भएपछि निरन्तर उकालो लागेको सेयर बजार पाँच महिनाअघिकै स्थितिमा पुगेको छ । मंगलबार नेप्सेले १७ सय अंक पार गरेको छ ।

यसअघि साउन १२ गते १८८१.४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो । अहिले सोही कीर्तिमान  पछ्याउँदै सेयर बजार अघि बढेको छ ।  
वाणिज्य बैंक लगायतका सबै समूह उच्च दरले बढेपछि नेप्से उकालो लागेको हो । उक्त दिन  काराबोर रकममा बढोत्तरी आएको छ । 

मंगलबार १४४ कम्पनीको एक अर्ब ९० करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २८ करोड बढी हो । 

एकैदिन सेयरबजारका लगानीकर्ताको सम्पत्ति ५२ अर्बले बढेको छ । उक्त दिन समग्र बजार पुँजीकरण १९ खर्ब ६४ अर्ब पुगेको छ । सोमबार बजार पुँजीकरण १९ खर्ब १२ अर्ब रहेको थियो । 

सेयरको मूल्य निकै तल आइसकेको, तरलता सहज नभए पनि मार्जिन कल आउन छाडेको, ब्याजदर चाप सामान्य बन्न थालेको, बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरण आउन थालेपछि लाभांश कसले कति दिने भन्ने अनुमान गर्न सजिलै सकिने र ठूलो परिमाणको एफपिओ र हकप्रद सेयर नआएका कारण पनि बजार बढ्न मद्दत पुगेको स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बताए ।

सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचन मिति तोकेको छ । ‘चुनावी माहोल बन्दै गएकाले सेयर बजार पनि उकालो लागेको हो,’ एसोसियसन पूर्वअध्यक्ष पौडेलले भने, ‘लामो समय स्थानीय निकाय नेतृत्वविहीन थिए, चुनावपछि स्थानीय तहमा राजनीतिक स्थिरता आउने संकेत देखिएकाले पनि बजार बढ्न पुगेको हो ।’ 

विगतका संसदीय चुनावताका पनि सेयर बजार बढेको थियो । स्थानीय चुनावमा पनि ठूलो मात्रामा पैसा बजारमा आउने देखिएको र यसले लगानीयोग्य पुँजी (तरलता) को अभाव हट्ने सम्भावना देखिएकाले पनि बजार बढन पुगेको विश्लेषकको भनाइ छ ।

लगानीयोग्य पुँजी अभाव कायमै रहेका कारण बैंकको ब्याजदर नघटे पनि बैंकले मार्जिन कल माग्ने काम बन्द गरेका छन् । सेयर बजार निरन्तर उकालो लागेपछि मार्जिन कल बैंक तथा वित्तीय संस्थाले बन्द गर्दा सेयर बजार बढन पुगेको विश्लेषक बताउँछन् । 

लामो समयदेखि बजार घटिरहेको थियो । धेरै कम्पनीको सेयर मूल्य तल झरेको थियो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको थियो । तर, चैत सुरु भएदेखि नै सेयर बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल पनि बढेको छ ।

चैत–वैशाखदेखि सेयर बजारको सिजन सुरु हुने मानिन्छ । सिजनमा सेयर भाउ बढ्न पुग्छ । विगत १४ वर्षको अध्ययन गर्ने हो भने १२ वर्षमा चैत–वैशाखापछि सेयर बजार बढेको देखिन्छ ।

 

प्रकाशित: ३० चैत्र २०७३ ०५:१८ बुधबार

नेप्से महिनायताकै