अर्थ

किसानलाई ११ नयाँ जातका बीउ सिफारिस

काठमाडौं- कृषिमा उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अन्न बालीका ११ नयाँ जातका बीउ तयार गरेको छ। मुलुकका विभिन्न क्षेत्रको हावापानीमा अनुकूल हुने गरी धान, गहुँ, मकै, गोलभेंडा, अदुवाका बीउ तयार गरेर सिफारिस गरेको हो।

कृषि वैज्ञानिकले करिब एक दशक लामो अनुसन्धान, प्रयोगपछि नयाँ जात उत्पादन गरेको नार्कका कार्यकारी निर्देशक युवराज पाण्डेले बताए। 'किसानकै बारीमा वैज्ञानिकले हावापानी, माटो उत्पादकत्वका आधारमा बीउ तयार गरका हुन्,' पाण्डेले भने, 'किसानको आवश्यकताका आधारमा लामो अध्ययन, अनुसन्धानपछि बीउ तयार हुन्छ।' यसले किसानलाई फाइदा पुग्ने पाण्डेले बताए। 'कृषि वैज्ञानिकको अभावले अपेक्षा गरेजति बीउ उत्पादन गर्न सकेका छैनौं,' पाण्डेले भने, 'सकेसम्म किसानको माग अनुसार परिपूर्ति गर्ने प्रयत्न गरेका छौं।'

धानका दुई, गहुँका चार, मकैका दुई, गोलभेंडाका दुई र अदुवाको एक जात तयार गरिएको हो। धानको नयाँ जातमा राधा–१३, चैरान सब–१ छन्। राधा र चैरान तराईको खेतमा लगाउने  मध्यम खालको धान हो। गहुँमा बाणगंगा, स्वर्गद्वारी, डाँफे, मुनाल छ। बाणगंगा तराई, डाँफे पहाड र उच्च हिमाल, मुनाल पहाडको लागि उपयुक्त हुने नार्कले जनाएको छ।

मकैमा रामपुर हाइब्रिड–४ र ६ छन्। नयाँ मकैको उत्पादन क्षमता निकै धेरै रहेकेा नार्कका वैज्ञानिक नविन रावलले बताए। 'यो मकै प्रोटिनसहतिको पोषिलो हुन्छ,' रावलले भने, 'अन्यको तुलनामा धेरै फल्छ।' सामान्य मकै प्रतिहेक्टर २.४ मेटि्रक टन फल्ने गरेकोमा यो हाइब्रिड प्रतिहेक्टर आठ मेटि्रक टन फल्ने रावलले बताए।

मकैका थप नयाँ जात आउने अन्तिम चरणमा रहेको पाण्डेले बताए। 'नयाँ जात तयार गर्ने काम निरन्तर प्रक्रियामै हुन्छ,' उनले भने, 'अब केही समयमा मकैका थप नयाँ जात ल्याउँदैछौं।' अदुवामा कपुरकोट हलेदो रहेको छ।

नार्कले सिफारिस गरेका बीउले राम्रो उत्पादन दिने भएकाले किसानले पाएसम्म यही प्रयोग गर्छन्। अनुसन्धान केन्द्रमा अनुसन्धान गरेर किसानको खेतबारीमा समेत सफल भएपछि नार्कले सिफारिस गर्ने गरेको छ। 'किसानको माग अनुसार बाली, तरकारीको नयाँ–नयाँ जातका बीउ तयार गर्छौं,' पाण्डेले भने। 

नार्कले गत जेठमा तराइलाई लक्ष्य गर्दै सुगन्धी–१, तराईको तल्लो भू–भागको लागि राधा–१४ नयाँ धानको बीउ सिफारिस गरेको थियो। पुरानो सावित्री धानको उत्पादकत्व घटेपछि नार्कले उक्त जात ल्याएको हो।

नयाँ बीउले उत्पादन बढ्ने र वातावरण अनुकूल भएकाले उत्पादन बढ्ने अपेक्षा गरिएको छ। 

तरकारी, खाद्यान्नका विभिन्न जात विकास गरेर उन्मोचन गर्ने कार्य निकै लामो भएकोले किसानले मागअनुसार नयाँ जातको बीउ पाउन सक्दैनन्।

कृषि मन्त्रालयले नार्कलाई सकेसम्म छोटो प्रक्रियामा जान सुझाव दिएको छ। साढे दुई दशकअघि स्थापना भएको नार्क कम प्राथमिकतामा परे पनि यो अवधिमा विभिन्न बालीका दुई सयभन्दा बढी जात तयार गरेर किसानलाई सिफारिस गरेको जनाएको छ । नार्कले  विभिन्न हावापानी, उचाइ अनुसार रोग–किरा प्रतिरोधी, उत्पादकत्व धेरै भएका नयाँ जात उन्मोचन गर्ने गर्छ।

नार्कले सिफारिस गरेका धान, मकै र गहुँको उत्पादकत्वमा क्रमशः ५१,३३ र ९२ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ। उसले तरकारी, माछा, पशुमा पनि निरन्तर अध्ययन, अनुसन्धान गर्दे आएको छ।

नार्कले आफ्ना अनुसन्धान केन्द्रमा प्रयोगात्मक विधिबाट बीउ तयार गर्छ। अन्य मुलुकमा बायो टेक्नोलोजी (जैविक प्रविधि) प्रयोग गरेर बीउ तयार गर्दै आए पनि यहाँ सो प्रविधिलाई प्रभावकारी ढंगले प्रयोगमा ल्याउन सकेको छैन।

कृषि संयन्त्रको कमजोरीको कारण बीउ तल्लो तहसम्म पुग्न नसकेको नार्कले जनाएको छ। 'हामीले बीउ तयार गरेर सिफारिस गर्छौं,' पाण्डेले भने, 'त्यसको बिक्री वितरण गरी किसानसम्म पुर्‍याउने जिम्मा कृषि कार्यालयहरुको हो।'

नार्कले आवश्यकता अनुसार जनशक्ति, बजेट नपाउँदा अपेक्षित रुपमा काम गर्न नसकेको जनाएको छ। सरकारले कृषि अनुसन्धानलाई कम प्राथमिकतामा राखेर बजेट घटाएको नार्कका अधिकारी बताउँछन्।

कृषि अनुसन्धानको क्षेत्र कम प्राथमिकतामा परेको नार्कले जनाएको छ। विगतको तुलनामा चालु आर्थिक वर्षमा बजेट घटेको थियो।  गत आर्थिक वर्षमा दुई अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेकोमा चालु आर्थिक वर्षको लागि दुई अर्ब सात करोड ५० लाख रुपैयाँ मात्र विनियोजन भएको छ।

आगामी आर्थिक वर्ष ०७४/७५ को लागि पनि बजेट बढाउने संकेत नदेखिएको निर्देशक पाण्डेले बताए। 'कृषि मन्त्रालयको बजेट आगामी वर्ष २७ अर्बबाट बढाएर ३० अर्ब पुर्‍याउन राष्ट्रिय योजना आयोगले सिलिङ तोकेको छ,' उनले भने, 'तर, नार्कको बजेट बढाउन कसैले चासो दिएको छैन।' पर्याप्त बजेट र कृषि वैज्ञानिक अभावमा अनुसन्धान प्रभावित हुने उनको भनाइ छ।

प्रकाशित: १५ चैत्र २०७३ ०४:४८ मंगलबार

किसानलाई ११ जातका बीउ सिफारिस