अर्थ

कोसेली बन्यो संविधान झल्किने सिक्का

काठमाडौं- नेपालको संविधान झल्किने सिक्का कोसेलीको रुपमा प्रयोग हुँदै आएको छ। नगद र वस्तु उपहार दिनुभन्दा सधैंका लागि सम्झना हुने नयाँ संविधान अंकित सिक्का कोसेलीको रुपमा दिने चलन बढ्दै गएको छ।

उपहारको रुपमा प्रयोग हुन थालेपछि उक्त सिक्काको माग पनि बढेको नेपाल राष्ट्र बैंक टक्सार विभागको भनाइ छ। कोसेलीको रुपमा प्रयोग हुन थालेपछि माग धान्न दोस्रो पटक निष्कासन गर्नुपरेको विभावका एक उच्च अधिकारीले बताए।

सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा दुई हजार रुपैयाँको चाँदी सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णय अनुसार केन्द्रीय बैंकले दुई हजार रुपैयाँका पाँच हजार थान र एक सय रुपैयाँ अंकित दरका २० हजार थान निष्कासन गरेको थियो।

विभागका अनुसार, पहिलो चरणमा छापिएका दुई हजार रुपैयाँका पाँच हजार थान बिक्री भइसकेकोले पुनः तीन हजार थान छापिएको थियो। त्यसमध्ये पनि ५–६ सय थान मात्र बाँकी रहेको विभागको भनाइ छ। 'स्वदेशी तथा विदेशीमा दुई हजार दरका सिक्का उपहारका रुपमा प्रयोग भएकोले माग बढेको हो,' विभागका एक उच्च अधिकारीले भने, 'पहिलो चरणमा छापिएकाले पनि नपुगेर पुनः छापिएको छ, त्यो पनि थोरै मात्र बाँकी छ।'

नेपालको संविधान अंकित एक सय रुपैयाँ दरका सिक्काको भने खासै माग नभएको केन्द्रीय बैंकको भनाइ छ। उसले सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का २० हजार थान निष्कासन गरेको थियो।

'राष्ट्र बैंकमा मौज्दात चाँदी प्रयोग गरेर सिक्का तयार परिएको मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले नागरिकलाई बताए। सिक्का बनाउँदाको लागत र चाँदीको मात्रा मिलाएर दुई हजार मूल्यका सिक्का तयार पारिएको राष्ट्र बैंकको भनाइ छ।

'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा ल्याइएका दुई थरिका मध्ये दुई हजार दरका सिक्काको माग बढेको छ,' विभागका ती अधिकारीले भने, 'मागअनुसार थप निष्कासन गर्दै जानेछौं।'

राष्ट्र बैंकको गत भदौ ४ गते बसेको सञ्चालक समिति बैठकले नयाँ संविधानको खुसियालीमा दुई हजार रुपैयाँको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो। सोही अनुसार सिक्का निष्कासन गरिएको राष्ट्र बैंकको भनाइ छ। 

सय रुपैयाँ दरको क्युप्रोनिकेल धातु र दुई हजार रुपैयाँ दरको चाँदीको सिक्काको अग्रभागमा 'नेपालको संविधान' अंकित भएको पुस्तकको चित्र र पुस्तकको चित्रभन्दा तल '२०७२' र सोभन्दा तल अर्धगोलाकारमा 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' अंकित छ। सबैभन्दा बाहिरपट्टि ६४ थोप्लाको घेरा छ।

सिक्काको पछाडिको भागमा सर्वोच्च शिखर सगरमाथाको चित्र तथा सो चित्रभन्दा माथि अंग्रेजीमा नेपाल राष्ट्र बैंक अंकित छ।

सो सगरमाथाको चित्रभन्दा तल अंग्रेजीमा दुई हजार रुपैयाँको सिक्कामा रु. २००० र सय रुपैयाँको सिक्कामा रु. १०० लेखिएको छ। सोभन्दा तल अंग्रेजीमा २०१५ एडी लेखिएको छ। बाहिरपट्टि ६४ थोप्लाको घेरा छ।

केन्द्रीय बैंकले सिक्काको डिजाइन गर्न एक कमिटी गठन गरेको थियो। उक्त कमिटीले तयार पारेरको डिजाइन आधारमा सिक्का निष्कासन गरिएको कँडेलले जानकारी दिए।

यसअघि नै केन्द्रीय बैंकले दुई हजार दरका २५ ग्रामका चाँदीका सिक्का पाँच हजार थान र सय रुपैयाँ दरका धातुका सिक्का २० हजार थान निकालेको थियो।

सिक्का निष्कासन राष्ट्र बैंकको सुन्धारास्थित टक्सार विभागले गरेको हो। राष्ट्र बैंकले त्यस्तो सिक्का चलनचल्तीमा ल्याएको भने होइन। सम्झनाका लागि मात्र निकालेको राष्ट्र बैंकको भनाइ छ

प्रकाशित: ११ चैत्र २०७३ ०५:१३ शुक्रबार

कोसेली बन्यो संविधान झल्किने सिक्का