राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ। शनिबार बेलुकादेखि मौसममा आएको खराबीले हवाई सेवा अवरुद्ध भएको हो।
सुर्खेत र नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका निजी वायु सेवा कम्पनीहरूले मौसममा आएको खराबीका कारण उडान भर्न नसकेका हुन् र दुई दिनदेखि हुम्लादेखि नेपालगञ्ज र सुर्खेत आउने तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।
नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका छन्। हुम्लाको मौसम बिग्रिएकाले नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी पनि रोकिएको छ। यात्रुहरू नेपालगञ्ज, सुर्खेत र सिमकोटमै अलपत्र परेका सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन। शनिबार रातिबाट मौसम परिवर्तन हुदाँ दिनहुँ उडान भर्ने निजी विमान कम्पनीका जहाजले उडान नभर्दा हवाई सेवा अवरुद्ध भएको प्रमुख गिरीले बताए।
प्रकाशित: २१ वैशाख २०८० ०३:२८ बिहीबार