अर्थ

नेप्से १२९६ मा ओर्लियो

काठमाडौं- सेयर बजार सूचक १३०० भन्दा तल ओर्लिएको छ। बैंकले सेयर धितोमा ऋण दिन छाड्नु, अफ सिजन सुरु हुनु, सेयर किन्दाभन्दा बैंकमा रकम जम्मा गर्दा बढी प्रतिफल पाउने अवस्था आउनुलाई सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण मानिएको छ।

बिहीबार सेयर परिसूचक नेप्से २६.७५ बिन्दुले घटेर १२९६.२३ बिन्दुमा आइपुगेको छ। चालु आर्थिक वर्षको दोस्रो सातादेखि नेप्से निरन्तर ओरालो लगेको छ।

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १३०० अंकभन्दा तल आइपुगेको छ। करिब साढे ६ महिनाको अवधिमा पाँच सय ८५ बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

सेयर बजार निरन्तर घट्नुको कारण लगानीकर्ताले बैंकको ब्याजदर बढ्नुलाई मानेका छन्। ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन्। बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन्। सेयरमा लगानी गर्नुभन्दा बैंकको ब्याजबाट बढी फाइदा हुने देखेर उनीहरु त्यता आकर्षित भएका हुन्। बैंकमा राख्दा जोखिम पनि कम हुने भएकाले यसो गरेको लगानीकर्ताको भनाइ छ। 

सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्तालाई बैंकले मार्जिन कल सुरु गरेका छन्। यसले बजार घटाउन थप सहयोग गरेको छ।

बैंकले ब्याजदर बढाएका कारण सेयर बजार घटेको नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रवीणरमण पराजुलीले नागरिकलाई बताए। जोखिम नबेहोरिकन बढी प्रतिफल पाउने भएपछि सेयर खरिदतिर नलागेर लगानीकर्ताहरु बैंकमा पैसा राख्न पुगेको उनको भनाइ छ।

अस्थिर सेयर बजारबाट प्रतिफल आशा गर्न नसकिएको भन्दै लगानीकर्ताले सेयर बिक्री गरी उच्च ब्याजदरमा बैंकमा रकम राख्न र अन्य क्षेत्रमा लगानी गर्न थालेका हुन्।

'लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि बैंकले सेयर बजारमा थप लगानी गर्न सकिरहेका छैनन्,' स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापती भन्छन्, 'जसका कारण सेयर बजार निरन्तर ओरालो लाग्यो।'

बैंकबाट सस्तो र सजिलैसँग सेयर धितो राखेर कर्जा पाउन छाडेपछि बजार घट्न थालेको हो। 'पहिला ७–८ प्रतिशतमै बैंकहरुले सेयर धितो राखेर कर्जा दिन्थे,' एक विश्लेषकले भने, 'अहिले मुद्दती खातामै १२ प्रतिशत ब्याज दिन थालेका छन्, त्यति महँगो दरमा लिएको रकम कति ब्याजदरमा ऋण दिने र लगानीकर्ताले पनि उच्च ब्याजदरमा लिएको ऋण सेयर बजारमा लगानी गर्दा प्रतिफल नआउने भएकाले पनि सेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो।' अहिले बैंकहरुले सेयर बजारमा ऋण लगानी गर्नै छाडेको पनि उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी बढी गर्न थालेको भन्दै बैंकलाई कस्न थालेपछि सेयर बजारमा ऋण प्रवाह गर्न छाडेको हुन्। यसले गर्दा पनि सेयर बजारमा उच्च गिरावट आएको हो।

अहिलेको समयलाई लगानीकर्ता 'अफ सिजन' भन्ने गर्छन्। गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालु आवको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन्। फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम भएकाले लगानी सेयर बजारबाट बाहिरिएको ब्रोकरहरू बताउँछन्।

बजार घट्ने क्रममै रहिरहँदा उनीहरूले थप लगानी गरेका छैनन्। नेप्से सूचक निरन्तर 'बियरिस ट्रेन्ड'मा रहँदा धेरै लगानीकर्ताले सेयर बेच्ने मनस्थिति बनाएको सेयर विश्लेषक बताउँछन्। यही टे्रन्ड कायम रहे सेयर बजार अझै ओरालो लाग्ने उनीहरुको भनाइ छ।

बिहीबार नेप्से सूचक करिब २७ अंकले घट्दा पनि ५७ करोड ६० लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। नेप्से अलि बढी अंकले घटेका बेला पनि कारोबार आधा अर्बभन्दा बढी हुनुलाई भने लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन्।

सेयर बजार निरन्तर घटेको बेला पनि कारोबार बढ्नुलाई सेयर खरिद गर्ने लगानीकर्ताहरु पनि प्रशस्त भएको संकेत गर्दछ। विगतमा सेयर बजार घट्दा कारोबार पनि ज्यादै कम हुने गर्दथ्यो। तर, अहिले पहिलेको तुलनामा फरक छ।

सेयर बजार बियरिस ट्रेन्डमा हुँदा पनि कारोबार भने ज्यादै कम नभएका कारण त्यतिधेरै डराउनु नपर्ने लगानीकर्ताको भनाइ छ। विगतमा बजार घट्दा कारोबार रकममा कमी आउने गरेको थियो। तर अहिले सेयर बेच्न चाहनेलाई बिक्री नहोला कि भन्ने त्रास त्यति छैन। यसले पनि लगानीकर्तामा धेरै निरुत्साहित बनाएको छैन्।

बिहीबार एक सय ३४ कम्पनीको एक करोड ५४ लाख १४ हजार तीन सय ३९ कित्ता सेयर किनबेच भएको छ। सबै समूहका सूचक घटेका छन्। सबैभन्दा धेरै बिमा सूचक दुई सय २४.१८ बिन्दुले तल झरेको छ। कारोबार सामूहिक लगानी कोषको बढी छ।

सेयर, घरजग्गा र गाडीमा ऋण नदिने बैंकर्सको निर्णय

बैंकहरुले सेयर, गाडी तथा घरजग्गामा केही समय ऋण लगानी नगर्ने भएका छन्। लगानीयोग्य रकमको अभाव भएको भन्दै उनीहरुले केही समय उक्त अनुत्पादक क्षेत्रमा लगानी गर्ने भएका हुन्।

बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकरलाई बोलाएर सेयर, घरजग्गा र गाडीमा अत्यधिक लगानी गएकोले उक्त क्षेत्रमा केही समय कर्जा प्रवाह नगर्न सुझाएका थिए। उनको यस्तो सुझावपछि बिहीबार बसेको बैंकरको छाता संगठन नेपाल बैंकर्स संघले केही समयका लागि सेयर, घरजग्गा र गाडीमा कर्जा प्रवाह नगर्ने भद्र सहमति गरेका हुन्।

प्रकाशित: २८ माघ २०७३ ०४:४७ शुक्रबार

नेप्से १२९६ ओर्लियो