अर्थ

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

काठमाडौं- बैंकरले लगानीयोग्य पुँजी अभाव भएको गुनासो गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने बचतको ब्याज दर बढाए त्यस्तो समस्या केही हदसम्म समाधान हुने बताएको छ। बैंकहरूले मुद्दती खाताको ब्याज बढाएर  १२ प्रतिशतभन्दा बढी पुर्‍याए पनि बचतको ब्याजदर नबढाएकाले बैंकमा पैसा संकलन हुन नसकेको तर्क उसले अगाडि सारेको हो।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बचतमा ब्याज बढाएर मात्र निक्षेप बढ्ने भन्दै यसतर्फ ध्यान दिन बैंकलाई सुझाए। नेपाल बैंकर्स संघले बुधबार तरलता समस्याको समाधान खोज्न आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त सुझाव दिएका हुन्।

'बैंकले निक्षेप तान्न मुद्दतीमा मात्र ब्याज बढाएर हुँदैन,' डेपुटी गभर्नर सिवाकोटीले भने, 'बचतमा पनि बढाउनु जरुरी छ।'

पछिल्लो समयमा बैंकहरूले निक्षेप बढाउन मुद्दती योजना सार्वजनिक गर्दै ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्‍याएका छन्। मुद्दतीमा मात्र ब्याज बढाएकोप्रति राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ।

'अहिले बचतमा सरदर २ प्रतिशत ब्याज दिएका छन्,' उनले भने, 'त्यसलाई बढाएर ४– प्रतिशत पुर्‍याएर के बिग्रन्छ र?'

बैंकले आफूलाई मात्र फाइदा हुने कुरा गर्नुभन्दा पनि सर्वसाधारण निक्षेपकर्तालाई समेत फाइदा हुने गरी निर्णय गर्न पनि उनले बैंकरलाई सुझाए। 'बचतको ब्याजदर बढाए बैंक र सर्वसाधारण (निक्षेपकर्ता) लाई पनि फाइदा हुन्छ,' उनले भने, 'बैंकले बचतमा निक्षेपकर्तालाई ५–६ प्रतिशत ब्याज र १०–१२ प्रतिशत ब्याजमा ऋण दिऊन् भन्ने चाहाना राष्ट्र बैंकको छ।' यसो हुन सके निक्षेप र कर्जा लगानीको ब्याज अन्तर (स्प्रेड) दर पाँच प्रतिशतमा सीमित गर्न सहज हुने पनि उनले बैंकरलाई सुझाए।

निक्षेपको तुलनामा कर्जा बढी प्रवाह भएकाले बजारमा लागानीयोग्य पुँजीको अभाव भएको भन्दै उनले बचतमा ब्याज बढाउनासाथ निक्षेप बढ्ने दाबी गरे।

'लगानीयोग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंक गम्भीर भएर लागेको छ,' डेपुटी गभर्नर सिवाकोटीले भनेे, 'लगानीयोग्य रकमको अभाव भएको अवस्था छ। समस्या समाधान गर्नतिर सबै लाग्नु पर्छ, एकले अर्कोलाई दोषारोपण गरेर समाधान हुँदैन।'

बैंकहरुले गत वर्ष मंसिरयता ३० प्रतिशतले कर्जा बढाएका कारण अहिले समस्या आएको उनले बताए। 'राष्ट्र बैंकले मौ›िक नीतिमार्फत २० प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखेको अवस्थामा बैंकले ३० प्रतिशत बढाइदिए,' डेपुटी गभर्नर सिवाकोटीले भने, 'भोलिको अवस्थाप्रति विश्लेषण नगर्दाको परिमाण अहिले देखिएको हो।'

उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष  किशोर महर्जनले तरलता समस्याको समाधान खोजीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। 'लगानीयोग्य पुँजी अभावको समस्याले अर्थतन्त्रलाई नै असर गर्ने छ,' उनले भने, 'यसको समस्या सबै मिलेर हल गर्नु पर्छ।'

सरकाले बजेट खर्च गर्न नसक्नुुुुु, रेमिटेन्समा कमी आउनु र सर्वसाधारणले घरघरमा राखेको रकम बैंकिङ प्रणालीमा ल्याउन नसकेका कारण लगानीयोग्य पुँजीको अभाव भएको महर्जनले बताए।

तर, उनको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंकहरुले तरलता अभाव भएको भन्दै चेक काट्न खोज्दा नकाट्न र एलसी नखोल्न भन्ने गरेको सुनाए। 'नयाँ ऋणको त कुरै गर्न नहुने भएको छ। ऋण पाइयो भने पनि ११–१२ प्रतिशत ब्याजमा पाइन्छ, पुरानो दरको ब्याजमा पाइँदैन,' उनले भने, 'बैंकमा पैसा छ, ऋण दिन सक्ने पैसा छैन।' समस्या गम्भीर भएको पनि अध्यक्ष मुरारकाले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा समितिका संयोजक ज्ञानेन्›लाल प्रधानले अहिले लोडसेडिङ अन्त्य भएर सबैले खुसी मनाए पनि महँगो ऋणका कारण नयाँ परियोजना सुरु हुनै नसक्ने अवस्था आएको बताए।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले बैंकिङ प्रणालीमा तरलता समस्या नरहेको बताए। 'सोमबार प्रणालीमा ३० अर्ब अधिक तरलता थियो,' उनले भने, 'यो अझ सहज हुँदैछ।'

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बैंकहरु नाफा कमाउनका लागि नै सञ्चालनमा आएको बताए। 'नाफै कमाउन स्थापना भएकाले नाफा नकमाऊ भन्न मिल्दैन,' उनले भने, 'अनुचित तरिकाले नाफा कमाउन हुँदैन, असल तरिकाले कमाउनु पर्छ।'

कर्जाको पहुँच रोकिन नहुनेमा उनले जोड दिए। 'यसमा नीति निर्माताले विचार गर्नुपर्ने हुन्छ,' उनले भने।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले तरलता समस्याको भार निजी क्षेत्रले मात्र बोक्नु पर्छ भन्ने मानसिकताको अन्त्य हुनुपर्ने बताए।

संघका अध्यक्ष अनिलकेशरी शाहले ऋणयोग्य रकम अभावले सबैलाई पिरोलेको हुँदा मिलेर समाधान खोज्नुपर्ने बताए।

प्रकाशित: २० माघ २०७३ ०४:४४ बिहीबार

बचतमा ब्याज बढाऊ राष्ट्र बैंक