अर्थ

नाम फेर्दै शुल्क बढाउँदै

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारसँग मेनपावर व्यवसायीले जथाभावी शुल्क उठाउने गरेको गुनासो व्याप्त रहेको बेला रोजगारदाता कम्पनीले समेत मनपरी असुली गर्न थालेका छन्। श्रम तथा रोजगार मन्त्रालयले दुई वर्ष अघि निःशुल्क भिसा र टिकटको निर्णय गरेपनि मेनपावरले कामदारसँग 'सकेजति' असुली गरिरहँदा मलेसिया सरकारले भिएलएनको नाममा यसअघि तीन हजार नौ सय रुपैयाँ असुल गर्दै आएकोमा अहिले नाम बदलेर वन स्टप सेन्टर (ओएससी) को नाममा उक्त शुल्क ६ हजार ७ सय पुर्‍याएको छ।

भिएलएन भन्ने संस्थाले गरिरहेको झै कामदारको राहदानी संकलन गर्ने जिम्मा लिएको वन स्टप सेन्टरको नाममा किन शुल्क बढाइएको हो भन्ने बारेमा सरकारी निकाय, मेनपावर एजेन्सी र कामदारले भने अहिलेसम्म कुनै जानकारी नपाएको गुनासो गरिएको छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालका अनुसार वन स्टप सेन्टरको नाममा प्रतिव्यक्ति कामदार ६ हजार ७ सय रुपैयाँ असुल गर्दासमेत कसैलाई चासो छैन। जसका कारण कामदार खुरुखुरु उक्त रकम तिर्न बाध्य भइरहेको उनको भनाइ छ।

मलेसिया जाने कामदारले वन स्टप सेन्टरबाहेक आएससीको नाममा ३ हजार २ सय, माइग्राम्सको नाममा पनि ३ हजार २ सय तथा बायोमेटि्रक स्वास्थ्य परीक्षण गर्न ४ हजार ५ सय रुपैयाँ विदेश जानु अघि नै खर्च गर्नुपर्छ। वैदेशिक रोजगार व्यवसायीका अनुसार मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणका लागि बाहेक अन्य शीर्षकमा किन रकम असुल गरिँदैछ भन्नेबारे जानकारी पाउन सकेका छैनन्। 'कामदारसँग दिनदहाडै लुट भइरहँदा पनि सरकार मौन रहनु सरकारी निकायको अकर्मन्यता हो,' ढकालले भने, 'कामदारसँग भइरहेको अनावश्यक शुल्क असुली रोक्न गृह, श्रम तथा रोजगार, परराष्ट्र मन्त्रालय, व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठनको काठमाडौं कार्यालयमा निवेदन दिएका छौं। अहिलेसम्म उक्त शुल्क रोक्नेबारे पहल हुन सकेको छैन।'

वन स्टप सेन्टरको काम कामदारको राहदानी संकलन गर्ने भनिए पनि माइग्राम्सको नाममा शुल्क असुल गर्दा पिं्कगर प्रिन्ट मात्र लिने गरिन्छ। जबकि मलेसिया जाने कामदारको बायोमेटि्रक गर्दा पिं्कगर प्रिन्ट लगायतका स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हुन्छ।

श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाले थप गरेको शुल्क हटाउन एक्लो मन्त्रालयले केही पनि गर्न नसक्ने जनाएको छ। मन्त्रालयका एक उच्च अधिकारीले उक्त शुल्कबारे परराष्ट्र मन्त्रालय लगायत मन्त्रिपरिषद्ले नै चासो राख्नु पर्छ। मन्त्रालय स्रोतका अनुसार ओएससी र आएससीको नाममा शुल्क उठाउने समूहमा पहुँचवाला राजनीतिक दलका नेताको संलग्नता देखिएकाले रोक्न गाह्रो परिरहेको छ। दुई वर्ष अघिसम्म मलेसिया नेपाली कामदारले सर्वाधिक रुचाएको गन्तव्य हो । चालू आर्थिक वर्षमा भने मलेलिया तेस्रो गन्तव्यमा झरेको छ। गत साउनदेखि कात्तिकसम्म २८ हजार तीन सय ३८ श्रमिक मलेसिया गएका छन्।

त्यस्तै, नेपाली कामदार धेरै जाने गरेको अर्को मुलुक साउदी अरेबिया सरकारले पनि जनवरी १ देखि लागू हुने गरी स्वास्थ्य परीक्षण गर्नु अघि १० डलर  (करिब ११ सय रुपैयाँ)  शुल्क थप गर्ने निर्णय गरेको छ। यस अघि साउदी जाने कामदारसँग स्वास्थ्य परीक्षण गर्नु अघिको शुल्क १० डलरसहित स्वास्थ्य परीक्षणका लागि ५ हजार ५ सय र भिसा स्ट्याम्पिङका लागि ३ हजार २ सय रुपैयाँ असुल गरिँदै आइएको थियो।

प्रकाशित: १८ पुस २०७३ ०४:१६ सोमबार

नाम फेर्दै शुल्क बढाउँदै