अर्थ

धान उत्पादन अहिलेसम्मकै धेरै

काठमाडौं- अघिल्लो वर्ष खाद्य उत्पादन घटेर मुलुकका विभिन्न जिल्लामा भोकमरी, खाद्यान्न अभाव झेलिरहेकोमा यो वर्ष धानलगायत प्रमुख खाद्य बालीको उत्पादन वृद्धि भएको छ। अनुकुल मौसम, मलको व्यवस्था, बालीमा किरा तथा रोग र प्राकृतिक प्रकोपले खासै असर नगर्दा धान अहिलेसम्मकै धेरै फलेर रेकर्ड तोडेको छ।

यो वर्ष ५२ लाख ३० हजार ३ सय मेटि्रकटन धान उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ। प्रतिकिलो २१ रुपैयाँका दरले करिब १ सय १० रुपैयाँको धान फलेको हो। गत वर्षभन्दा ९ लाख ३१ हजार २ सय मेटि्रकटन धान धेरै फलेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७२/७३ मा ४२ लाख ९९ हजार १ सय मेटि्रक टनमात्र धान फलेको थियो। यसअघि सबैभन्दा धेरै आव ०७०/७१ मा ५० लाख ४७ हजार ४७ मेटि्रकटन धान उत्पादन भएको थियो।

चालू आवमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने प्रतिहेक्टर ३ हजार ३ सय ६९ मेटि्रकटन धान फलेको थियो।

धानका लागि अनुकूल हावापानी, समयमा बीउबिजन र रासायनिक मलको उपलब्धता, वृहत्तर तथा बास्नादार धान उत्पादनलगायत कार्यक्रमले यो वर्ष धेरै धान फलेको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए। 'कृषि उत्पादन बढ्नु किसानलाई मात्र नभएर मुलुककै लागि खुसीको कुरा हो,' सापकोटाले भने, 'यसले मुलुकको अर्थतन्त्रमै ठूलो टेवा पुर्‍याउँछ।' यहाँ उत्पादित खाद्यान्नले अपुग हुँदा वार्षिक रुपमा अर्बौंको खाद्यान्न आयात भइरहेको अवस्थामा अघिल्लो वर्षभन्दा करिब २० अर्ब ४८ करोड रुपैयाँ कमको खाद्यान्न आयत हुनेछ।

धान उत्पादन २१ दशमलब ६६ प्रतिशतले वृद्धि भएकोमा मकै र कोदो पनि धेरै फलेको छ। मन्त्रालयका अनुसार चालू आवमा २२ लाख ५९ हजार ४ सय मेटि्रकटन मकै उत्पादन भएको छ। यो गत वर्षभन्दा २८ हजार मेटि्रकटन धेरै हो। आव ०७२/७३ मा मकै २२ लाख ३१ हजार ५ सय मेटि्रकटन उत्पादन भएको थियो। त्यस्तै कोदो १ दशमलब २६ प्रतिशत वृद्धि भई ३ लाख ६ हजार मेटि्रकटन फलेको हो।

यो वर्ष बर्सादमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशत खेतमा रोपाइँ भएको थियो। गत वर्षको खडेरीले धानलगायत बालीनालीमा करिब ११ अर्ब रुपैयाँको क्षती भएको भए पनि यो वर्षको उत्पादन बढेपछि किसानलाई राहत पुगेको छ। कृषि विभागका अनुसार गत वर्ष करिब ७ लाख किसान खडेरीको प्रत्यक्ष मारमा परेका थिए।

किसानलाई राहत पुगोस भनेर सरकारले यो वर्ष कात्तिकमै न्यूनतम मूल्य निर्धारण गरेको थियो। मूल्यअनुसार मोटा धानको मूल्य एक क्विन्टल (सय किलो)को २ हजार ७० रुपैयाँ, मध्यमखाले धान क्विन्टलको २ हजार २ सय ३० रुपैयाँ रहेको छ। गत वर्ष खाद्य संस्थानमार्फत जिल्लाअनुसार फरक–फरक मूल्य तोकेको भए पनि यो वर्ष मुलुकभर कार्यान्वयन हुने गरी मूल्य निर्धारण गरेको थियो। मूल्य तोकेपछि धान बिक्री नभएमा सो धान सरकारले खरिद गर्ने सुनिश्चित हुन्छ। बिचौलीयाका कारण किसानले उत्पादनको न्यूनतम मूल्य पाउन नसकेको अवस्थामा मूल्य निर्धारणले किसानलाई राहत हुने भएको छ। गत वर्षको खडेरीले धानलगायत बालीनालीमा करिब ११ अर्ब रुपैयाँको क्षति भएको भए पनि यो वर्षको नियमित बर्षातले धान खेतीलाई सहयोग पुगेको छ। कृषि विभागका अनुसार करिब ७ लाख किसान खडेरीको प्रत्यक्ष मारमा परेका थिए। मन्त्रालयले आगामी दिनमा धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानको विशेष पकेट क्षेत्र तय गरेको जनाएको छ। 'धानको उत्पादकत्व वृद्धि गर्न पहल गरिरहेका छौं,' मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, 'कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धानको समेत जोन, सुपरजोनमार्फत उत्पादन बढाउन पहल गरिरहेका छौं।' खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार प्रतिव्यक्ति वार्षिक १ सय १९ किलो खाद्यान्नमध्ये चामलको मात्रा ९० केजी तोकिएको छ। केन्›ीय तथ्यांक विभागले गरेको विस्तृत सर्वेक्षणअनुसार एक जना नेपालीले वार्षिक १ सय २२ किलो चामल खान्छ। हरेक दिन दुवै छाक चामलको भात खाँदा एक जनालाई एक वर्षमा १ सय ४६ किलो चामल चाहिन्छ।

प्रकाशित: १५ पुस २०७३ ०३:२३ शुक्रबार

धान उत्पादन अहिलेसम्मकै धेरै