अर्थ

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई २ करोड राशीको पुरस्कार

काठमाडौं– जलवायु अनुकुलनका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन्।

बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट १५ वटा संस्थालाई एक लाख ५० हजार पाउण्ड नगद पुरस्कारबाट सम्मानित गरेको हो । जस अनुसार प्रत्येक संस्थाले १० हजार पाउण्ड अर्थात् १३ लाख ६३ हजार नगद पाउनेछन्।

पुरस्कारका लागि ५९ वटा संस्थाले आवेदन दिएकामा १५ वटा छनौट भएका थिए । पुरस्कृत हुने संस्थाहरुमा सामुदायिक विकाश तथा वकालत मञ्च नेपाल, युथ एक्टिङ फर चेन्ज नेपाल, मनहरि बिकाश संस्था, आपसी सहयोग केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण केन्द्र, सेन्टर फर रुरल टेक्नोलोजि नेपाल, इथाका इन्सटिच्युड फर क्लाइमेट फाइनान्सिङ, केयर नेपाल, नाम्सालिङ सामुदायिक बिकाश केन्द्र, सिप्रेड नेपाल, माछापुच्छे« विकास संगठन, प्राक्टिकल एक्सन, एन्साब नेपाल, दलित वेलफेयर अर्गनाइजेशन र मानव विकाश तथा वातावरण कन्सर्न सरोकार समाज छन् ।

पुरस्कृत हुने अधिकांश संस्थाहरुले नेपालको ग्रामीण क्षेत्रमा रहेर स्थानीय समुदायसँग काम गर्दै आएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा काम गर्ने संस्थाहरुलाइ प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि जोशीले कामको मुल्याङनका आधारमा गरिने पुरस्कारले जलवायु परिवर्तनसँग जुध्न प्रोत्साहन गर्ने बताए ।

कार्यक्रमका परियोजना प्रमुख पुरुषोत्तम मान प्रधानले यो पटक पुरस्कार पाउन छुटेका संस्थाहरुले पुन अर्को पटक प्रयास गर्न सक्ने जानकारी दिए । पुरस्कृत हुने संस्थाहरुको छनौट प्रकृयाबारे जानकारि दिँदै आइडियाज टु इम्प्याक्टका प्रतिनिधि जोनाथन स्लाटरले नेपालले वातावरण अनुकुलनका क्षेत्रमा उदाहरणिय प्रयास गरेको भन्दै प्रशंसा गरे ।
 

प्रकाशित: १ पुस २०७३ १५:१६ शुक्रबार

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई करोड राशीको पुरस्कार