अर्थ

अप्पर माईविरुद्ध आन्दोलन चेतावनी

इलाम- माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिएका छन्। आयोजना प्रवर्धक कम्पनीसँग पटक–पटक भएका वार्ता र छलफलमा सहमति कार्यान्वयनको प्रतिबद्धता जनाइएपनि कुनै काम नभएको भन्दै स्थानीयले यस्तो चेतावनी दिएका हुन्।

 स्थानीयस्तरमा गठन भएको स्वतन्त्र पूर्वसुुसूचित सहमति सञ्जालले आयोजनासँग राखेका आफ्ना मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ। ज्ञापनपत्रमा गत फागुनमा उत्पादन थालेको अप्पर माईले विगतका सहमति पालना नगरेको र निर्माणाधीन अप्परमाई–सी आयोजनाले आयोजनाबारे स्थानीयलाई जानकारी नै नदिएको उल्लेख छ। ‘आयोजनाले एकलौटी ढंगबाट काम सञ्चालन गर्दै स्थानीयको अधिकार कुण्ठित गरेको छ,' ज्ञापनपत्रमा भनिएको छ, ‘अहिलेसम्मका सहमति, वार्ता र छलफलको समेत औचित्य नदेखिएकाले आन्दोलनमा उत्रिन बाध्य भएका हौं।'

 सञ्जाल अध्यक्ष चेतराज राईका अनुसार आयोजनासँग बरबोटे–सुम्बेक–सुलुबुङ र माबु हुँदै सन्दकपुर सडक ग्राभेल, स्तरोन्नति, माबुका सबै वडामा विद्युत विस्तार र लोडसेडिङमुक्त क्षेत्र घोषणा, स्थानीयस्तरमा सञ्चालन हुने उद्योगलाई १० प्रतिशत रोयल्टीको सुनिश्चिततालगायत सहमति भएका थिए। आयोजना प्रभावितलाई क्षतिपूर्ति र स्वरोजगार बन्ने व्यवस्था, आदिवासी जनजातिको भाषा–संस्कृति उत्थानका लागि ६ लाख रुपैयाँ दिने, आयोजना सञ्चालन भएको खोलामा १० प्रतिशत पानी छाड्नुपर्नेलगायतका सहमति कार्यान्वयन नभएको उनले बताए।

 उनीहरूले पूर्वसहमतिका आधारमा विभिन्न २१ बुँदै मागसहितको ज्ञापनपत्र प्रशासनमा बुझाएका हुन्। ७ दिनभित्र माग पूरा नभए सडकमा सवारी बन्द गर्ने, निर्माणाधीन आयोजनाको काममा अवरोध गर्ने,  आयोजना कार्यालयमा तालाबन्दी गर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। 

 ९.९८ मेगावाटको अप्पर माई जलविद्युत आयोजनाको उत्पादन जेठदेखि केन्द्रीय प्रसारणमा जोडिएको छ। निर्माणकर्ता पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले ३ वर्षअघि निर्माण सुरु आयोजनाको विद्युत इलामकै गोदकस्थित सबस्टेसनमा जोडिएको हो। १ अर्ब ९२ करोड रुपैयाँको लागतमा बनेको आयोजनामा नबिल, नेपाल बैंक, एभरेस्ट, एनएमबी र ग्लोबल आइएमई बैंकले ७५ प्रतिशत लगानी गरेका छन्।

 आयोजनाअन्तर्गत अप्पर माई सी क्यासकेड आयोजना पनि निर्माणाधीन छ। ९० करोड रुपैयाँ लगानीको क्यासकेड ६.१ मेगावाटको हो। दुवैबाट वर्षमा ५ करोड युनिट बिजुली उत्पादन हुने अनुमान पञ्चकन्याको छ। आयोजनाले प्रभावित क्षेत्रमा वातावरण प्रभाव न्यूनीकरणका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्चेको आयोजनाका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए। ‘आयोजनाले माबु र माइमझुवाका ४८ परिवारले लघु जलविद्युत आयोजना निर्माण गर्दा कृषि विकास बैंकमा धितो राखेको ४८ परिवारको हजार रोपनीभन्दा बढी जग्ग्ाासमेत रकम तिरिदिएर फुकुवा गराएको थियो,' प्रधानले भने।

प्रकाशित: २३ मंसिर २०७३ ०५:०१ बिहीबार

अप्पर माईविरुद्ध आन्दोलन चेतावनी