अर्थ

नेप्से ६५ अंकले घट्यो

काठमाडौं- नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्से साताको पहिलो दिन ६५ बिन्दुले ओरालो लागेको छ। सेयर परिसूचकमा उच्च गिरावट आउँदा विभिन्न पब्लिक लिमिटेड कम्पनीका सेयर होल्डरहरुले करोडौं रुपैयाँ गुमाएका छन्।

केही समयदेखि ओरालो लागेको सेयर बजारले आइबार पनि निरन्तरता पाएको हो। तर, यस दिनको गिरावट पछिल्लो समयका अन्य दिनको तुलनामा बढी हो। आइतबार नेप्से ६४.५५ बिन्दुले तल झर्दै १४६९.४८ मा आइपुगेको छ।

कारोबार सुरु भएदेखि नै परिसूचक ओरालो लाग्न थालेको थियो। ओरालो यात्रा नरोकिएपछि बजार नियन्त्रण गर्न नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेकर समेत लगाउनुपरेको थियो।

कारोबार सुरु भएको सवा १ घन्टामै नेप्सेे ५५.१८ बिन्दुले घटिसकेको थियो। त्यसपछि १ बजेसम्ममा पुनः ३५ बिन्दुले बढेर १५१४.३२ मा उक्लेको नेप्से त्यसपछि फेरि ओरालो लाग्यो, जुन क्रम बजार बन्द हुँदासम्म कायम रहेको थियो।

बजार निरन्तर ओरालो लागेपछि आत्तिएका लगानीकर्ताले सेयर बेच्न थाल्दा नेप्से उच्च बिन्दुले घट्न पुगेको हो। परिसूचक उच्च बिन्दुले घट्दा पनि आइतबार ९६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। १ सय २८ कम्पनीका १४ लाख ७५ हजार ९७ कित्ता सेयर किनबेच भए।

बजारसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.३२ प्रतिशतले घटेको छ। बैंकिङ समूह ५२.५४, होटल समूह १४६.०४, विकास बैंक समूह ६५.७७, जलविद्युत समूह १०४.२९, फाइनान्स समूह २६.७, बिमा समूह ५६२.९४ र अन्य समूह १९.०८ बिन्दुले घटेको छ।

यस दिन सबैभन्दा बढी गुमाउनेमा हिमालय जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, प्रिमियर इन्स्यारेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका सेयरहोल्डर परे। यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले घटेको छ। यस्तै, नेको इन्स्यारेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायत १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ। यस दिन १ सय १५ कम्पनीको सेयर मूल्य घटेकोे छ।

परिसूचक ४ प्रतिशतभन्दा बढीले घट्दा पनि ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.९२ प्रतिशतले बढेको छ। एनबी इन्स्योरेन्स, ओरिन्टल होटल, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र तिनाउ डेभलपमेन्ट बैंकका सेयर होल्डरले पनि कमाएका छन्।

प्रकाशित: १३ मंसिर २०७३ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App