अर्थ

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ४०.८२ बिन्दुले ओर्लिएको छ। बुधबार १६९८.९० बिन्दुमा रहेको नेप्से परिसूचक १६५८.०८ मा झरेको छ। उक्त दिन १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर किनबेच भए। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार एक अर्ब ५० करोड ६४ लाख  रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबार रकम बढेकै बेला परिसूचक ओरालो लागेपछि लगानीकर्ता निराश भएका थिए। एभरेस्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्सले बम्पर बोनस र हकप्रद घोषणा गरे पनि मूल्य भने बढेन, बरु घटेको छ। यस दिन सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक तल झरेको छ। यो समूहको सूचक २४१.९५ बिन्दुले तल ओर्लिएको हो।

बिमापछि धेरै घट्नेमा हाइड्रोपावर समूह छ। यो समूहको सूचक ६०.२६ विन्दुले झरेको छ। त्यस्तै होटेल, बैंकिङ लगायतको समूहमा पनि ह्रास आएको छ। बिहीबार सबैभन्दा धेरै कारोबार एभरेस्ट बैंकको भएको छ।

७० प्रतिशत बोनस र ३३.३३ प्रतिशत हकप्रद सेयर घोषणा गरेको सो बैंकको मात्र ५१ करोड ७० लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ। यति आकर्षक लाभांश प्रस्ताव गर्दा पनि सेयर भाउ भने ओरालो लाग्यो। एभरेस्टको भाउ बजार बन्द हुँदा ३६ सय २९ रूपैयाँमा अडियो।  दोस्रो धेरै कारोबार हुनेमा नेसनल लाइफ इन्स्योरेन्स परेको छ। यो कम्पनीको मात्र १२ करोड ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित: ३ मंसिर २०७३ ०४:१८ शुक्रबार

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो