भीम चापागाईं/गिरिराज बाँस्कोटा/ खगेन्द्र अधिकारी
इलाम/पाँचथर/ताप्लेजुङ- इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर गर्दैछन्।
‘ललितपुर हरिसिद्धिमा दुई वर्षअघि ३० लाख रुपैयाँ खर्चेर जमिन किनेको थिएँ,' काठमाडौंको बल्खुमै रहेका उनले सुनाए, ‘अब यहीँ घर बनाउने सोच्दैछु।' तीव्र सहरीकरण भइरहेको बिर्तामोडमा उनले केही वर्षअघि २० लाखमा किनेका २ घडेरीको दाम अहिले दोब्बर भएको छ।
मेचीका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका किसानले खोल्सीको सुन (अलैंची) खेतीमा पसिना बगाएर दशक नपुग्दै आर्थिक समृद्धिको फड्को मारेका छन्।
राईका छोराछोरी काठमाडौंको कलेजमा बिबिएस पहिलो र चौथो वर्ष पढ्दैछन्। आफूले जागिर खाए पनि, रोजगारीका लागि विदेश गएर आए पनि आम्दानीको मुख्य स्रोत भने अलैंची नै भएको उनले बताए। ‘२० वर्ष जागिर खाए पनि घर खर्चभन्दा केही भएन,' उनले सुनाए, ‘८–१० वर्ष अलैंचीमा पसिना बगाउँदै सन्तुष्ट छु।'
सात दाजुभाइमध्ये रुद्रकै काइँला भाइ शमशेरले ०५९ देखि अलैंचीको व्यावसायिक खेती गरे। यो वर्ष पनि सधैंझै उनको बगानमा १५ मन (प्रतिमन ४० किलो) सुक्खा अलैंची उत्पादन भयो। ०६४ सालपछि मात्रै व्यावसायिक खेती गरेका शमशेरले यो वर्ष प्रतिमन ७५ हजार रुपैयाँले अलैंची बेचे। २० लाख रुपैयाँ खर्चेर बिर्तामोडमै घडेरी जोडिसकेका उनी त्यहीँ घर बनाउने योजनामा छन्। दुई छोराछोरी बिर्तामोडकै लिटिल फ्लावर स्कुल पढ्दै छन्। ‘अलैंची खेतीबाहेक अरू आम्दानी छैन,' उनले भने, ‘बर्सेनि बढिरहेको उत्पादनले राम्रो आम्दानी दिइरहेको छ।'
शमशेरका जेठा दाइ जंग, माइला रुद्र, साइँला शान्ति, अन्तरे दलबहादुर, जन्तरे मात्रिका र कान्छा कैलाशको बगानमा गरी अहिले ९० मनभन्दा बढी सुक्खा अलैंची उत्पादन हुन्छ। कैलाशले पनि ४ वर्षअघि अलैंचीकै आम्दानीले काठमाडौंमा ३२ लाख रुपैयाँमा घडेरी किनिसकेका छन्।
जिर्मले–२ सलकपुरका पूर्वशिक्षक टीकाराम वाइबाले शिक्षक जागिर छाडेपछि गाउँमै अलैंची खेती गरे। १८ रोपनीमा अलैंची लगाएका उनले यसको आम्दानीबाट करिब ७० लाख रुपैयाँ खर्चेर ‘गाउँकै नमुना घर' बनाएका छन्। उनकी श्रीमती धनमायाका अनुसार उनीहरूले झापामा २ घडेरी किनिसकेका छन्। छोरा गोविन्द भारत नयाँदिल्लीमा चार्टर्ड एकान्टेन्ट पढ्दैछन्। ‘यो वर्ष १७ मन अलैंची ७५ हजार रुपैयाँ दरले बेच्यौं,' धनमायाले सुनाइन्, ‘आघौं अझै धेरै फल्छ होला।'
मेचीका पहाडी जिल्लामा खोल्सीको सुन (अलैंची) खेतीमा पसिना बगाएर दशक नपुग्दै आर्थिक समृद्धिको फड्को मार्ने सयौं किसानका प्रतिनिधि हुन् यिनीहरू। पुरानो अलैंची रोगले मासिए पनि नयाँ लगाएर छोटो समयमा उल्लेख्य आर्थिक प्रगति गर्ने किसान इलाम, पाँचथर र ताप्लेजुङमा बर्सेनि थपिँदै छन्। पुरानो जातको अलैंची प्रायः चिसो, सिमसार र लेकाली भागका जंगलमा फस्टाउने गरेको थियो। दशकअघिसम्म अलैंचीले ढाकिएका उत्तिसका जंगल पनि अलैंची मासिएसँगै रुखका गोलिया बिक्री गरेर नासिए।
०५८ तिर ६० मनसम्म सुक्खा अलैंची उत्पादन गर्ने नयाँबजार गाउँका किसान प्रेम भण्डारीले अलैंचीकै आम्दानीले इलाम सदरमुकामका घडेरी जोडे। ‘त्यतिबेला अलैंचीको भाउ प्रतिमन ५–७ हजारमात्रै थियो,' उनले सुनाए, ‘अहिले उत्पादन घटेर आधाभन्दा कम भएको छ तर भाउ राम्रो भएकाले आम्दानी राम्रो छ।'
अहिले जिल्लामा सुक्खा अलैंचीको भाउ प्रतिमन ५० हजारदेखि ५५ हजार रुपैयाँसम्म रहेको व्यापारी बताउँछन्। 'दुई वर्षअघिसम्म अलैंचीको भाउ प्रतिमन १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो। केही समयअघिसम्म जंगलमा उत्पादन हुने अलैंचीमा किसानले खासै मेहनत गर्नु पर्दैनथ्यो। अकासिँदो भाउले आकर्षित किसान यतिबेला रातदिन अलैंचीबारीमै भेटिन थालेका छन्,' इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेल भन्छन्।
अलैंची बढी उत्पादन हुने ताप्लेजुङ, पाँचथर र इलामका लेकाली गाउँका धेरै किसानले यसकै आम्दानीले सदरमुकाम, तराई, धरान, पोखरा र काठमाडौंमा घर–जग्गा खरिद गरेका छन्। इलामको माइमझुवा गाविसका मात्रै सयभन्दा बढी अलैंची किसान सदरमुकाम र तराईमा घर–जग्गा किनेर बसाइँसमेत सरिसकेका छन्। सोयाङ, जमुना, जोगमाई, प्याङ, माबुलगायत गाउँका सयौं किसानको आर्थिक अवस्था चुलिएको छ। घरहरू चिटिक्क सजाएका देखिन्छन्। अलैंची खेती गर्ने किसानका छोराछोरी सदरमुकाम, राजधानी र भारतसहित विभिन्न देशका स्कुल–कलेज पढिरहेका छन्।
दशकअघि भारतको सिक्किमबाट भित्रिएको अलैंची सुक्खा ठाउँमा समेत फस्टाउँदा किसान मालामाल भएका हुन्। सिक्किमबाट नयाँ जातको अलैंची ल्याएर पहिलोपटक रोपिएको जिल्लाको जिर्मले गाउँ अहिले ‘अलैंचीको केन्द्र' भएको छ।
यहाँबाट बिरुवा लिएका पूर्वी पहाडका किसानले अहिले मकै, कोदो, तरकारी र नगदेबाली उत्पादन हुने बारीमात्र होइन, धान उत्पादन हुने खेत नै मासेर अलैंची लगाएका छन्। जात थाहा नभएको अलैंची जिर्मलेबाटै दर्जनौं जिल्लामा विस्तार भएपछि त्यसको नाम नै ‘जिर्मले' भएको किसान बताउँछन्। कतिपयले पुरानै डम्बरसाई, गोलसाई जातकै अलैंची लगाएका छन्।
सात वर्षअघिसम्म ताप्लेजुुङको लिङखिम–४ का सञ्चबहादुर लिम्बूलाई खान–लाउन धौधौ थियो। खेतबारीमा फलेको धान र कोदोले जहान बच्चा पाल्न मुस्किल परेका बेला उनलाई कसैले अलैंची लगाउन प्रोत्साहित गर्यो।
उनले धान फल्ने खेत र कोदो फल्ने बारीमा अलैंची लगाए। रोपेको तेस्रो वर्षबाट आम्दानी लिन थालेका सञ्चबहादुर अहिले आफ्नो बगानमा वर्षको ७५ मन अलैंची फलाउँछन्। ‘तीन वर्षपछि सय मन बनाउँछु,' उनी उत्साही देखिन्छन्।
अलैंचीको आम्दानीले लिम्बूले पोहोर ट्र्याक्टर किने, यस वर्ष दुइटा जिप। अहिले उनका तीन सवारीले ताप्लेजुुङबाट लिङखिमको थिवा र पाथिभरा क्षेत्रमा यातायात तथा मालवाहक सेवा दिइरहेका छन्। ‘अलैंचीले गरिखाने बाटो बनाइदियो,' सञ्चबहादुरले भने, ‘राम्रो कमाइ हुने अलैंची जोगाउन अलैंची बगानमै सिसी क्यामेरासमेत जडान गरेको छु।' अघिल्लो वर्ष बोटबाटै पाकेको फल अलैंची हराएपछि चोरी नियन्त्रणका लागि उनले सिसी क्यामेरा जडान गर्नुपरेको बताए।
सान्थाक्रा–३ का लालबहादुुर नाल्बो कुनै बेला जिल्लामै सबैभन्दा बढी अलैंची उत्पादन गर्ने किसान हुन्। उनी अलैंचीले आर्थिक समृद्धिको ढोका खोलेको बताउँछन्। ‘अलैंची नभएको भए मागिखाने अवस्था हुन्थ्यो मेरो,' उनी भन्छन्। अलैंची खेती गरेर ताप्लेजुङ मात्र होइन, पाँचथरमा पनि आर्थिक प्रगति गर्ने किसानको सूची लामो छ।
करेसासम्मै अलैंची ढकाएका इलामको माइमझुवा–१ याङ्माका दधिराम पौडेलले जंगलमा नभएर खेतीयोग्य बारीमा मात्रै अलैंची फस्टाउने गरेको बताए। ‘जंगलमा पहिले अलैंचीमा लागेको रोगको संक्रमण अझै बाँकी छ,' उनले भने, ‘बरु दुई–चार वर्ष मकै खेती गर्ने बारीमै अलैंची लगाइयो भने सयौं गुणा बढी आम्दानी हुन्छ।' उनले सबै किसानले अहिले अन्नबाली उत्पादन हुने बारी मासेर अलैंची खेती गरिरहेको सुनाए।
‘अलैंची नभएको भए खेतीपातीबाट पनि आम्दानी हुन्छ भन्ने पत्याउन मुस्किल थियो,' मेहनती किसानमा दरिएका माइमझुवाकै पुरन गुरुङ भन्छन्, 'अलैंचीको आम्दानीले अन्य खेतीमा लगानी र व्यवसाय गर्नसमेत सघाएको छ।' नयाँबजारका प्रेम भण्डारी, माइमझुवाका अभिचन्द्र दाहाल, सोयाङका मनोज सोताङ, लोकबहादुर राई, जिर्मलेका प्रेम राईलगायत अलैंचीले उक्सिएका किसानका दृष्टान्त हुन्।
यहाँको प्रमुख नगदेबाली अलैंची केही वर्षअघि रोगले ८० प्रतिशत मासिएको थियो। त्यतिबेला उत्पादन घट्दा मूल्य अकासिएको थियो। किसानले भारतबाट ल्याएर नयाँ जातको अलैंची लगाउन थालेपछि यसको उत्पादन बढेको हो। अहिले मूल्य केही कम भए पनि थोरै अलैंचीले राम्रो भाउ पाउने भएकाले किसान उत्साही छन्।
जिल्लाको औल भेगका किसानले यो मौसमको अलैंची बेचिसकेका छन्। लेकाली भेगमा अलैंची टिपेर सुकाउने काम अन्तिम चरणमा छ। नयाँ लगाएको अलैंचीमा कुनै रोग नदेखिएको किसानको भनाइ छ। अलैंची खेतीका लागि किसानले सहकारीसमेत गठन गरेका छन्। माइमझुवा गाउँमा ०६८ असोजमा नेपालमै पहिलोपटक अलैंची सहकारी गठन भएको थियो।
पछिल्लो समय डाँठ हरियो र पातमा झुस भएको नयाँ जातको अलैंची विस्तार भएको छ। पानी नभएको सुक्खा हावापानीमा पनि यो जात राम्ररी फस्टाउने गरेको किसान बताउँछन्। इलामका फाकफोक, सुलुुबुङ, सुम्बेक, माइमझुवा, माबु, सोयाङ, नामसालिङ, साखेजुङ, शान्तिडाँडा, धुसेनी, पञ्चकन्या, बरबोटे, आमचोक, नयाँबजार र माइपोखरीलगायत गाउँका किसानले अहिले जिर्मलेबाट अलंैचीका बिरुवा खरिद गरिरहेका छन्।
रुख मात्र भएका खोल्साखोल्सी वरपर अलैची रोपेर पाँचथरका किसानले मनग्गे आम्दानी गरेका छन्। विशेषतः रानीटार र रविमा उत्पादन हुने प्रमुख नगदेबालीका रूपमा रहेको यहाँको अलैंचीलाई गुुणस्तरीय मानिन्छ। २०५६ सालपछि अलैंचीको मूल्यमा भएको वृद्धिले यहाँका किसानको आर्थिक हैसियत बढेको नेपाल अलैची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल बताउँछन्।
'अलैंचीको आम्दानीले किसानको क्रयशक्ति बढेको छ। गाउँमा पक्की भवन बनेका छन्। उनीहरूले छोराछोरीलाई बोर्डिङ स्कुल पढाएका छन्,' नेपाल भन्छन्। जिल्ला कृषि विकास कार्यालय, पाँचथरका अनुसार केही वर्षअघि घटेको अलैंची उत्पादन पछिल्लो समयमा क्रमिक रूपमा बढ्दै गएको छ। 'किसानको नयाँ बगानबाट राम्रो फसल आउन थालेको छ,' जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक अम्बिका लुइँटेल भन्छन्।
नयाँ बिरुवा फैलिन थालेपछि दुई वर्षयता अलैंची उत्पादन बढेको छ। फिक्कलस्थित अलैंची विकास केन्द्रप्रमुख पदम अधिकारीका अनुसार आव ०७२/७३ को अलैंचीको तथ्यांक आउन बाँकी नै छ। आव ०७१/७२ मा देशभर ५ हजार १ सय ६६ मेटि्रक टन अलैंची उत्पादन भएको थियो। १६ हजार ४३ हेक्टरमा गरिएको खेतीमध्ये १२ हजार ४ सय ५६ हेक्टरको उत्पादन हो यो।
आव ०७०/७१ मा १४ हजार ८ सय ४७ हेक्टरमा गरिएको खेतीबाट ५ हजार २ सय २५ मेटि्रक टन अलैंची उत्पादन थियो। अघिल्लो आव ०६९/७० मा भने १४ हजार ६ सय ८१ हेक्टरमा गरिएको खेतीबाट ५ हजार ७ सय ५३ मेटि्रक टन अलैंची उत्पादन भएको थियो। उत्पादकत्व भने ३ वर्षयता लगातार घटिरहेको केन्द्र प्रमुख अधिकारीले बताए। आव ०६१/६२ देखि ०६७/६८ सम्म भने अलैंची उत्पादन लगातर घटेको थियो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपालबाट यो वर्ष ४ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ बराबरको अलैंची निकासी भएको जनाएको छ। ३४ लाख ३८ हजार किलो अलैंची निर्यातबाट यो आम्दानी भएको हो। आव ०७१/७२ मा अलैंची निर्यातबाट ३ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ आम्दानी थियो।
इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, दोलखा, लमजुङ, रोल्पा, बाग्लुङ, पर्वत र स्याङ्जामा अलैंची उत्पादन हुन्छ। सबैभन्दा बढी पूर्वाञ्चलमै उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ। जिल्लागत रूपमा अलैंची उत्पादनमा ताप्लेजुङ सबैभन्दा अगाडि छ। ताप्लेजुङमा ४ हजार ५ सय, संखुवासभामा ३ हजार ५ सय ७०, पाँचथरमा २ हजार १ सय ७० तथा इलाममा १ हजार ५ सय ९ हेक्टरमा अलैंची खेती भइरहेको छ।
प्रकाशित: २८ कार्तिक २०७३ ०१:५७ आइतबार