अर्थ

डढुवा रोगले जुम्लामा कालीमार्सी धान सखाप

जुम्ला–शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्।

धापा ९ का रामभक्त खत्रीको ५ सय ७८ रोपनी खेतमा लगाएको धान पनि करिब नष्ट भएको छ। नराकोट गाविस ७ का राजकन्य वुढाले १ हजार ३ सय ९७ रोपनीमा लगाएको धानमा उहि समस्या छ।

दाना लाग्ने समयमा डढुवा रोगको संक्रमण भएपछि धान खेती नष्ट भएको हो। रैथाने धान कालीमार्सीको जर्गेना गर्ने भन्दै सबै खेतमा कालीमार्सीकै विउ छरेका यहाँका अधिकांश किसान यतिबेला पछुतोमा छन्। सिजा क्षेत्रका महावैपातरखोला, कालिकाखेतु, वड्की, नराकोट, धापा, शनिगाउँ, पाण्डवगुफा, कनकासुन्दरी, विराट लगायतका गाविसका किसान धानमा लागेको डढुवा रोगले आक्रान्त बनेका छन्।

सिजा क्षेत्रमा कुल २ सय हेक्टरमा धान उत्पादन हुँदै आएकोमा अधिकांश किसानको खेतमा डढुवा रोगले संक्रमण गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्राविधिक मोहनसिंह महतले जानकारी दिए। उनले भने ‘डढुवा रोगले किसानको मेहनत सखाप पारेको छ, किसानले सुकेको धानमा आगो लगाउने विकल्प मात्रै रह्यो।’

जुम्लामा प्रति हेक्टर २ दशमलव ७ मेट्रिकटन धान उत्पादन हुन्छ। यहाँ २ हजार ९ सय ५० हजार हेक्टरमा धान खेती हुँदै आएको छ।
किसानले खेतमा डढुवा रोगले धान सखाप भएको जानकारी गराएपछि कृषि प्राविधिकको टोली गाउँमा पुगेको छ। सिजा क्षेत्रका अधिकांस गाउँमा पुगेर धानमा लागेको रोगको अवस्थाका बारेमा जानकारी लिन उनीहरु जुटेका छन्।

प्रकाशित: २८ आश्विन २०७३ ०६:५२ शुक्रबार

डढुवा रोगले जुम्लामा कालीमार्सी धान सखाप