अर्थ

कटारीको कालिका सामुदायिक वनमा अवैध रुख कटान

फाइल तस्बिर

उदयपुरको कटारी नगरपालिका ८ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुख कटान भइरहेको स्थानीयको आरोप छ। उपभोक्ताका अनुसार समूहका अध्यक्ष तथा पदाधिकारीकै संलग्नतामा अवैध रुख काट्ने काम भइरहेको हो। 

समूहले डिभिजन वन कार्यालय त्रिवेणी कटारीबाट कटान छपान आदेश नलिई कटान छपान गरिरहेको भन्दै उपभोक्ताले डिभिजन वन कार्यालयमा उजुरी दिएका छन्। उजुरी दिएसँगै वन कर्मचारी गएर कटान रुख सुरक्षित गरेको बताइएको छ। डिभिजनको आदेश अनुसार सवडिभिजन वन कार्यालय हर्देनीका सहायक वन अधिकृत अर्बिन्द पाण्डेसहितको कर्मचारी टोली घटनास्थल पुगेर काठ सुरक्षित गरिसकेको छ। 

सहायक वन अधिकृत पाण्डेले घट्नाको पुष्टि गर्दै स्थानीय उपभोक्ताको उजुरी परेर आफूलाई डिभिजनबाट आदेश आए अनुसार पहिलादेखिकै अतिक्रमित क्षेत्रमा भएको घटनास्थल पुगेर काठ सुरक्षित गरेर फर्केको बताए। ‘स्थानीय उपभोक्ताले डिभिजनमा उजुरी दिए अनुसार मलाई डिएफओ सावले गएर हेर्न निर्देशन दिनु भयो। घटनास्थल पुग्दा २ वटा जरैसहित लडेका ढलापडा र एउटा सुख्खा खडा रुख काटेर १३/१४ थान गोलिया बनाएर राखेको अवस्थामा भेटियो’ पाण्डेले भने ‘फेला परेको गोलिया काठ सुरक्षित गरेर अनुसन्धान थालेका छौँ।’ अवैध काठको सर्जमिन गर्नुपर्ने भए पनि जनप्रतिनिधि र आवश्यक संख्यामा स्थानीय जम्मा हुन नसकेर मंगलबार मात्र सर्जमिन मुचुल्का गर्ने तयारी भइरहेको पाण्डेले बताए। 

वन ऐन् अनुसार कार्यालयबाट आदेश नलिई हरिया, सुख्खा खडा वा ढलापडा कुनै पनि रुख काट्न नमिल्ने प्रावधान छ। काठ कसले काटेको हो भन्ने पत्ता नलागिसकेको हुनाले समूहसँग सहयोग लिएर खोजी गर्ने पाण्डेले बताए। उनका अनुसार काठ नाप जाँच भईसकेको तर, यकिन परिमाण पत्ता लाग्न बाँकी छ। ६०/७० क्युबिक फिटभन्दा बढी नै परिमाणको काठ हुनसक्ने अनुमान उनको छ। 

डिभिजन प्रमुख (डिएफओ) विष्णुलाल घिमिरे भने बिरामी भएकाले केहीदिनयता बिदामा रहेको बताएका छन्। ‘म केहीदिनयता सञ्चो नभएकाले बिदा लिएर घरमा आराममा छु, त्यसैले यसबारे सहायक वन अधिकृतसँग सम्पर्क गरेर जानकारी लिनु होला’ उनले भने। घट्नाबारे यकिन जानकारी लिन समूहका अध्यक्ष सुद्धमान तामाङ र सचिव धनकृष्ण तामाङसँग सम्पर्क गर्दा हुन सकेन। अध्यक्षले मोबाइल नै नबोक्ने, सचिवको मोबाइलमा सम्पर्क गर्दा हुन सकेन। 

कटारी नगरपालिका ८ का वडाध्यक्ष सुबिन्द्र तामाङले अवैध रुख काटेको विषयमा कसैले आफूलाई जानकारी नगराएको बताए। ‘यसबारे अहिलेसम्म कसैले उजुरबाजुर र जानकारी गराएका छैनन्’ उनले भने ‘भएको के रहेछ म बुझेर खबर गर्छु है!’ 

सो समूहमा यसअघि पनि पदाधिकारीकै संलग्नतामा यसै गरी हरिया रुख काटेर बदमासी गरेको पाइएपछि डिभिजन वनले पक्राउ गरी जेल र जरिवाना तिराएको स्थानीयको भनाई छ। समूहका तत्कालीन अध्यक्ष लिलबहादुर राउतसहित पदाधिकारीहरु नै वन मास्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परी जेल र जरिवाना तिराईमा परेपछि आम भेला बोलाएर नयाँ उपभोक्ता समूह गठन गरिएको उनीहरुको भनाई छ। तर, नयाँ समितिले पनि उस्तै हर्कत देखाउँदै वन फँडानी गर्न थालेको स्थानीयको गुनासो छ। 

‘पहिलेका पदाधिकारीले यसै गरी आदेशबिपरित हरिया रुख काटेको पाएर डिभिजनले पक्राउ गरी जेल सजाय र जरिवाना तिराएको थियो’ स्थानीयको भनाई छ ‘पुरानो समिति बदमास भयो भनेर नयाँ समिति बनाएको तर, उनीहरु पनि यसै गर्न थालेछन्, अनि पदाधिकारी फेरेको के महत्त्व?’ 

प्रकाशित: ८ फाल्गुन २०७९ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App