अर्थ

अदुवाको ‘उत्पत्ति प्रमाणपत्र'मा अन्योल

इलाम- जिल्लामै अदुवाको बढी कारोबार गर्ने बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेल बुधबार दिउँसो अदुवाको उत्पत्तिको प्रमाणपत्रका लागि जिल्ला कृषि विकास कार्यालय पुगे। तर, कार्यालयले उनलाई ‘उत्पत्तिको प्रमाणपत्र दिने आफ्नो कार्यक्षेत्र नै नभएको' भनेर फर्कायो।

व्यापारी पौडेलले ‘उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायले अनिवार्य रूपमा कृषि विकास कार्यालयको सिफारिस लिनुपर्ने' कृषि विकास मन्त्रालयले भदौ २१ मा गरेको निर्णयको प्रतिलिपिसमेत कार्यालय प्रमुखलाई देखाए। तर, कार्यालय प्रमुख प्रकाश डाँगीले पौडेललाई माथिबाट कुनै जानकारी नआएको बताउँदै ‘यस्तो प्रमाणपत्र दिए आफ्नो जागिरै जान्छ' भनेर फर्काए।

आफ्नो गोदाममा करिब ३ सय क्विन्टल अदुवा (माउ) थुपारेका व्यापारी पौडेल कार्यालयको जवाफले अन्योलमा त छन् नै, कहिले बिक्री सहज होला र गोदामको अदुवा बेच्न पाइएला भन्ने चिन्ता छ उनलाई। ‘लामो समय भारतले अदुवा रोक्दा गोदाममै कुहिन लागेको थियो, बल्ल नाका खुलेर बेचौंला भन्ने थियो, सरकारले झन्झट थोपरेर झनै अन्योल बनायो,' उनले भने, ‘कृषि कार्यालयले पनि जिम्मेवार भएर हामीलाई यसबारे अब के गर्ने भन्ने जवाफै दिन चाहेन।' सरकारी निकायले गरेका निर्णयबारे कृषि कार्यालयले नै स्पष्ट जवाफ नदिँदा बिक्रीका लागि काँकडभिट्टा पुगेको सयौं क्विन्टल अदुवा भन्सारमा अड्काएर प्रमाणपत्र खोज्न सदरमुकाम फर्किनुपरेको उनले दुखेसो पोखे।

कृषि मन्त्रालयअन्तर्गतको खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवर्द्धन तथा वातावरण महाशाखाको भदौ २१ को निर्णयअनुसार अदुवाको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायले सम्बन्धित कृषि विकास कार्यालयको सिफारिस अनिवार्य लिनुपर्नेछ । राष्ट्रिय प्लान्ट क्वारेन्टाइनले नेपालबाट भारत निकासी हुने अदुवाको कडाइका साथ नमुना परीक्षण गरेर मात्र ‘एसपिएस' प्रमाणपत्र जारी गर्न मातहत निकायलाई निर्देशन दिने निर्णय पनि महाशाखाको छ। अदुवामा मिसावट भेटिए सम्बन्धित व्यापारी र उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रक्रियामा संलग्न निकायमाथि नै कारबाही प्रक्रिया अघि बढाउने निर्णय त्यसै दिन भएको छ। महाशाखाको बैठकले नेपालबाट भारतमा निर्यात भइरहेको अदुवामा देखिएको समस्याबारे अध्ययन गर्न भन्दै मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन शाखा प्रमुखको संयोजकत्वमा कार्यदलसमेत बनाएको थियो।

मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय प्लान्ट क्वारेन्टाइनले भदौ २४ मै काँकडभिट्टा, वीरगन्ज, भैरहवा, नेपालगन्ज र गड्डाचौकीस्थित मातहतका क्षेत्रीय कार्यालयलाई अदुवा निर्यात गर्दा उत्पत्तिको प्रमाणपत्र यकीन गर्न पत्राचार गरेको थियो। उसले आफू मातहतका चेकपोस्ट र उपचेकपोस्टलाई पनि त्यही ब्यहोराको पत्र पठाएको थियो। पत्रमा सम्बन्धित कृषि विकास कार्यालयले उत्पत्तिको प्रमाणपत्रका लागि सिफारिस गरेको हो या होइन भन्नेबारे नमुना संकलन गरी निश्चित गरेरमात्र अदुवाको स्वस्थता प्रमाणित गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ। क्वारेन्टाइनका बरिष्ठ प्लान्ट क्वारेन्टाइन अधिकृत महेशचन्द्र आचार्यद्वारा हस्ताक्षरित पत्रमा मन्त्रालयका निर्णयबारे पनि ती निकायलाई जानकारी गराइएको छ।

नेपालको अदुवा विदेश निर्यात गर्न नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले उत्पत्तिको प्रमाणपत्र दिने गरेको छ। संघ स्थापना हुनु पहिले उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गरेको थियो। अब भने संघले कुन जिल्लाको अदुवा हो भन्ने उत्पत्तिको प्रमाणपत्र दिन सम्बन्धित कृषि विकास कार्यालयको सिफारिससमेत लिनुपर्नेछ।

मन्त्रालयले भदौ २१ मा गठन गरेको कार्यदलमा संघका प्रतिनिधिसमेत सदस्य रहन्छन्। तर, संघमै आबद्ध व्यापारीले भने जबर्जस्ती झन्झट दिनेगरी भएको कार्यदलको निर्णयमा संघले समेत हस्ताक्षर गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्। ‘अदुवा उत्पादक तथा व्यवसायी संघका प्रतिनिधिसमेत संलग्न बैठकले अदुवाको कारोबार अझ कस्ने निर्णयमा बु‰दै नबुझी हस्ताक्षर गरेर किसान–व्यवसायीलाई झेउला थपेको छ,' एक व्यवसायीले आक्रोस पोखे, ‘नेपाली अदुवा गुणस्तरीय र विषादीरहित भएको प्रमाणित भइसकेको अवस्थामा किसान र व्यवसायीको हितविपरीत कार्यदलको निर्णय आएको छ।'

जिल्ला कृषि विकास कार्यालय प्रमुख डाँगीले कार्यालयमा अदुवाको उत्पत्ति प्रमाणपत्रमा सिफारिस गर्नेबारे कुनै पत्र नआएको बताए। ‘व्यापारीका गोदाम र ट्रकमा रहेको अदुवालाई उत्पत्तिको प्रमाणपत्रको सिफारिस दिनै सकिँदैन,' उनले नागरिकसँग भने, ‘किसानको बारीमै गएरमात्र यो इलामको अदुवा हो भनेर प्रमाणित गर्न सकिन्छ, अरूतिर सकिँदैन।' जिल्लामा अदुवा खेती गर्ने किसान, उत्पादन क्षेत्र, उत्पादकत्वलगायत हेरेर त्यहीअनुसार मात्रै उत्पत्ति प्रमाणित गर्न सकिने उनले बताए। उनको भनाइअनुसार व्यापारीले भनेअनुसारको व्यहोराको पत्र यदि कार्यालयमा आए अब अदुवा खेती गरेका किसानले सदरमुकाम आएर कार्यालयलाई आफूले अदुवा खेती गरेको जानकारी दिनुपर्नेछ। अनिमात्र, कार्यालयले खेती भएको अदुवालाई ‘इलामको अदुवा'का रूपमा प्रमाणित गर्न सिफारिस दिनेेछ।

नेपालबाट गएको अदुवामा ‘अल्डिकार्ब' नामक विषादी भेटिएको भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीको प्रतिवेदनमा उल्लेख थियो। त्यसैलाई आधार मानेर भारतीय पक्षले नेपाली अदुवामा विषादीको मात्रा र मिसावट रहेको भन्दै भदौको मुख्य सिजनमा करिब १२ दिनसम्म नेपाली अदुवा भारत निर्यात प्रतिबन्ध गरेको थियो। तर, भारतमै गरिएको परीक्षणमा नेपाली अदुवामा कुनै विषादी नदेखिएपछि नेपाली अदुवा भारत निर्यात हुन थालेको थियो। बीचमै मन्त्रालयको अर्काे निर्णय कार्यान्वयन इकाईसम्म पुगेपछि बुधबार नेपालबाट भारत लैजान लागिएको अदुवा काँकडभिट्टा भन्सार परिसरमा अड्किएको थियो।

प्रमाणपत्रका लागि सिफारिस गर्नेबारे जिल्ला कृषि कार्यालयको ‘अनभिज्ञता'ले जिल्लाका हजारौं अदुवा किसानले दुःख पाउने भएका छन्। व्यापारीले पनि निकै झन्झट बेहोर्नुपर्ने भएको छ। उत्पत्तिको प्रमाणपत्र बनाउनेबारे आफूलाई थाहै नभएको कृषि कार्यालयले बताएपछि जिल्लामा व्यापारीले भण्डारण गरेको अदुवाको माउ बेच्न त अन्योल छ नै, नयाँ निस्किन लागेको अदुवा बिक्रीबारे झन् ठूलो समस्या देखिने भएको छ। जिल्लाको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, मंगलबारे, फिक्कललगायत बजारका व्यापारीको गोदाममा रहेको अदुवा बेच्न बाँकी नै छ। गाउँका लगभग सबै किसानले अदुवाको माउ खनेर व्यापारीलाई बेचिसकेका छन्। जिल्लाका विभिन्न व्यापारिक केन्द्रबाट करिब ३ हजार क्विन्टल अदुवाको माउ अझै निर्यात हुन बाँकी रहेको व्यापारीले बताएका छन्। माउ बिकिसक्दा नयाँ अदुवा उत्पादन पनि सुरु हुने भएकाले अदुवामा देखिएको अन्योल निकै समय कायम रहने छ। 

इलाम, पाँचथर र ताप्लेजुङका एकै किसानले ७० मन (प्रतिमन ४० किलो)सम्म अदुवा खेती गरेका छन्। अदुवाको माउ निकाल्ने–बेच्ने मुख्य सिजनमा भारतले नेपाली अदुवा आयात प्रतिबन्ध गरेपछि करिब २ साता पहाडको अदुवा अलपत्र परेको थियो। इलाममा मात्रै अदुवाको मुख्य कारोबार गर्ने ३० हाराहारी व्यापारी छन्। इलामको सोयाङका किसान गोविन्द सञ्जेलले अदुवा बिक्रीमा सरकारले अनावश्यक झन्झट दिइरहेकाले अदुवा खेतीबाट ‘हात धुनुपर्ने' अवस्थामा पुग्न लागेको बताए। ‘कहिले के निहुँ भिक्छन्, कहिले के,' उनले भने, ‘आउँदो सालदेखि अदुवा नै नरोप्ने सोच्दैछु।'

नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन्। नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वको छ। आर्थिक वर्ष २०७२/७३ मा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार ९ सय ९४ मेटि्रक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ। जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान जिल्लामा छन्। ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरमा अदुवा खेती हुने गरेको तथ्यांक छ। यी जिल्लाको वार्षिक उत्पादन सरदर ५५ हजार ४० मेटि्रक टन छ।

प्रकाशित: ७ आश्विन २०७३ ०३:४० शुक्रबार

अदुवाको उत्पत्ति प्रमाणपत्रमा अन्योल