अर्थ

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रूपमा अघि बढेको छ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्यांक, ट्रान्समिक्स ट्यांक लगायत संरचना निर्माण थालिएको हो। बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको बताए।

उक्त योजना अन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ।

त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माण समेत यही योजना अन्तर्गत निर्माण हुनेछ। लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का दिइएको कार्यालयले जनाएको छ।

उक्त योजनाका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रूपमा लगानी गर्ने सम्झौता गरेका छन्। यसअन्तर्गत दुई पेट्रोल ट्यांकमध्ये निगम र आइओसीले एकएक ट्यांकको लागत बेहोर्नेछन्। त्यस्तै पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्न दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिनेछ। यसो गर्दा आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए।

निगमले एउटा पेट्रोल ट्यांक, २४ रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्नेछ। यो समेत गरी निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान रहेको उनले बताए। यो आयोजना यही वर्षको डिसेम्बरसम्म निर्माण सम्पन्न भई अंंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

योसँगै २०७६ भदौदेखि डिजेल मात्रै आयात भइरहेको पाइप लाइनबाट पेट्रोल समेत आयात सुरु हुनेछ। एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो। आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइप लाइनबाटै हुनेछ।

यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुनेछ। यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवको भनाइ छ। यसबाट वार्षिक करिब १५ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको उनले बताए।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ। ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार यसपछि थप पाँचपाँच हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत सुरु गरिएको उनको भनाइ छ। यसको ठेक्का रेलिगेर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। उक्त योजना समेत निर्माण सम्पन्न भएपछि पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १२ माघ २०७९ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App