अर्थ

धान उत्पादन बढ्ने अपेक्षा

काठमाडौं- रोपाइँका लागि अनुकूल वर्षा भएपछि यो वर्ष किसानले समयमै धान रोप्न पाएका छन्। बेलैमा रोपाइँ भएकाले यो वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको छ। असार पहिलो सातादेखि निरन्तर वर्षा भएकाले अहिलेसम्म करिब ९४ प्रतिशत धान रोपाइँ भइसकेको कृषि विकास मन्त्रालयले जनाएको छ।

मौसमले साथ दिएर बेलैमा धान रोप्न पाएपछि किसान पनि उत्पादन बढ्ने आसले उत्साहित छन्। अहिलेसम्म मौसम अनुकूल भएकाले धान उत्पादन बढ्ने लक्षण देखिएको छ।

गत वर्षको तुलनामा यो वर्षको साउन २५ सम्म १६ प्रतिशत बढी रोपाइँ भएको छ। २०७२ को साउन २५ सम्म करिब ७८ प्रतिशत रोपाइँ भएकोमा यो वर्षको सोही अवधिमा ९४ प्रतिशत भइसकेको छ। २०७१ को सो अवधिमा ७९ प्रतिशतमात्र रोपाइँ भएको थियो।

विगतको तुलनामा यो वर्ष अनुकूल वर्षा भएकाले रोपाइँ पनि बेलैमा भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए। …रोपाइँका लागि अनुकूल मौसम भएकाले किसानले समयमै रोपाइँ गरिसकें,' उनले भने, …९४ प्रतिशत रोपाइँ सकिएको छ, भदौ पहिलो सातासम्म सबै ठाउँमा रोपाइँ सम्पन्न हुने देखिएको छ।'

पहाडी जिल्लामा धान रोपाइँ करिब सकिएको छ। तराईका किसानले धमाधम रोपाइँ गरिरहेका छन्। मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ८८ प्रतिशत, मध्यमाञ्चलमा ९३, पश्चिमाञ्चलमा ९८.९, मध्यपश्चिममा ९८.७, सुदुरपश्चिमाञ्चलमा ९९.८ प्रतिशत रोपाइँ भएको छ। तराईका २० जिल्लामा फल्ने धानले मुलुकमा कुल उत्पादनको ६९ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।

धानका लागि उपयुक्त वातावरण भएकाले यो वर्ष धान उत्पादन पनि वृद्धि हुने मन्त्रालयको अनुमान छ। विगतका वर्षमा मौसम अनुकूल नहुँदा किसानले बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन। प्रवक्ता सापकोटाले भने, …यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ।'

यो वर्ष पानी अभावमा जमिन बाँझो रहनेछैन। वर्षाबाट सबैभन्दा धेरै फाइदा आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पुगेको छ। नेपालका अधिकांश क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ। यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए।

अघिल्ला वर्षमा जस्तो पानी, मल अभावको गुनासो नआएको कृषि विभागका महानिर्देशक  युवकध्वज जिसीले बताए। …यो वर्ष किसान निकै उत्साहित छन्,' उनले भने, …धान उत्पादन बढ्ने संकेत देखिएको छ।'

यो वर्ष करिब ५० लाख मेटि्रक टन धान फल्ने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए। …मौसम राम्रो हुनासाथ उत्पादन बढ्ने गरेको छ,' उनले भने, …धान पसाउने बेला कुनै समस्या आएन भने उत्पादन बढ्ने निश्चित छ।' आर्थिक वर्ष ०७२/७३ मा ४३ लाख मेटि्रक टन र ०७१/७२ मा ४७ लाख ४ सय ८५ मेटि्रक टन धान फलेको थियो।

नेपालमा कुल खेतीयोग्य जमिनको ५५ प्रतिशतमा धान खेती हुन्छ। तराई, पहाड र उच्च पहाडमा ६२ जातका धान खेती हुन्छ। 

नेपालमा वार्षिक करिब ९० अर्ब रुपैयाँको धान उत्पादन हुन्छ। यसको उत्पादनमा आउने ह्रासले कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पार्छ।

यस वर्ष मन्त्रालयले मल, बीउ, प्रविधिमा कमी हुन नदिन माताहतका निकायलाई बेलैमा निर्देशन दिएको थियो। सरकारले दुई वर्षमा धान उत्पादनमा आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरेको छ। धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले धान उत्पादन बढाउन बृहत् धान उत्पादन कार्यक्रम, मसिना तथा वास्नादार धान उत्पादन कार्यक्रम, चैते धान कार्यक्रम सञ्चालन गर्दै आएको छ। उत्पादन बढाउन चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको मन्त्रालयले धानको पकेट क्षेत्र, जोन, सुपरजोन कार्यक्रमसमेत घोषणा गरेको छ। हरेक वर्ष विदेशबाट धान र चामल आयात भएकाले पनि आयात प्रतिस्थापन गर्न धान उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

धेरै उत्पादन दिने मसिना तथा वास्नादार धान कार्यक्रम २० जिल्लामा कार्यान्वयनको चरणमा छ। …अहिले धानको उत्पादकत्व सरदर प्रतिहेक्टर तीन मेटि्रक टन छ,' मन्त्रालयका सहसचिव योगेन्द्र कार्कीले भने, …उन्नत बीउ, प्रविधि, मल उपलब्धता, आवश्यकता अनुसार रोगव्याधीको उपचारलगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउने प्रयासमा छौं।'

धान उत्पादन बढाउन कृषि अनुसन्धान परिषद (नार्क) ले तराईमा सावित्री, विन्देश्वरी, राधा–४, १२, मध्य पहाडमा खुमल–४, १०, ११, तथा उच्च पहाडमा चन्दनाथ आदि जातका धान खेती गर्न सिफारिस गरेको छ। ती धान स्थानीय जातभन्दा दोब्बर फल्ने जनाइएको छ। 

कृषि सचिव उत्तमकुमार भट्टराईले सरकार कृषिमा उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने प्रयासमा लागेको बताए। …कृषि उच्च प्राथमिकतामा छ,' उनले भने, …धानसँगै सबै बालीको उत्पादन बढाउन लागिपरेका छौं।'

प्रकाशित: २९ श्रावण २०७३ ०४:२९ शनिबार

धान उत्पादन बढ्ने अपेक्षा