अर्थ

ताजा अन्डा उपभोक्तासम्म पुर्‍याउन इलाममा डिपो

किसान दाना उद्योगले इलाममा १३औं शाखा विस्तार गरेको छ। इलाम, पाँचथर र ताप्लेजुङलगायत जिल्लाका उपभोक्तासम्म कुखुराको ताजा अन्डा पुर्‍याउनेगरी सदरमुकामको धोबिधारामा डिपो स्थापना गरिएको हो।  

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालुले डिपो उद्घाटन गरे। चितवनको रत्ननगर नगरपालिका–१२ मा रहेको उद्योगले २ दिनभित्रमा यहाँका उपभोक्तासम्म अन्डा ल्याइपुर्‍याउन सकिने जनाएको छ । चितवनबाट अघिल्लो दिन गाडीमा लोड भएको अन्डा भोलिपल्टै इलाम आइपुग्ने र उपभोक्ताले ताजा अन्डा उपभोग गर्न पाउने उद्योगका कार्यकारी निर्देशक विपिन पोख्रेलले बताए। ‘हाम्रो उद्देश्य नै मानिसको स्वास्थ्य ख्याल गरी स्वस्थ अन्डा उपलब्ध गराउनु हो,’ उनले भने, ‘हामी आफ्नो फार्मका कुखुरामा पनि कुनै प्रकारको केमिकल प्रयोग गर्दैनौं।’

चितवनमै ३० रोपनीमा फैलिएको उद्योगले ४ लाख कुखुरा पालेको र प्रतिदिन करिब ३ लाख ७० हजार अन्डा उत्पादन गरिरहेको उनले जानकारी दिए। ‘हाम्रो आफ्नै उत्पादन भएकाले बजारमा तिर्नुपर्ने मूल्यभन्दा यो डिपोमा केही कम मूल्यमै अन्डा पाइन्छ,’ कार्यकारी निर्देशक पोख्रेलले भने, ‘हामीले डिपो स्थापना गर्नुको उद्देश्य मूल्य कम गर्नेभन्दा पनि स्वस्थ अन्डा उपभोक्तालाई ताजै उपलब्ध गराउने चाहिँ हो।’  

यहाँको डिपोमा ४ कर्मचारी रहनेछन्। उनीहरूले उपभोक्तालाई ‘होम डेलिभरी’को सेवासमेत दिने उद्योग अध्यक्ष रघुनाथ भट्टराईले बताए। ‘यहाँको डिपोबाट पूर्वीपहाडी जिल्लामा चितवनको अन्डा पुर्‍याइने छ,’ उनले भने, ‘आवश्यक भए अन्यत्र पनि डिपो स्थापना गर्दैजानेछौं।’

प्रकाशित: २ माघ २०७९ ०९:२९ सोमबार