अर्थ

‘२०५९ माघ १९’ को झझल्को

सोमबार दिउँसो एकाएक मोबाइलको फ्रिक्वेन्सी बन्द भएपछि उपभोक्ता सञ्चार सम्पर्कविहीन हुन पुगे। नेपाल टेलिकमको प्राविधिक गडबडीका कारण उदयपुर लगायत पूर्वी नेपालका झन्डै २० जिल्लाबासी सोमबार साढे ४ घन्टा सञ्चार सम्पर्कविहीन हुन पुगेका हुन्।

दिउँसो ३ बजेदेखि एक्कासि सम्पर्क टुटेको सञ्चार पहुँच साँझ सात बजेपछि मात्र सुचारु हुन पुग्यो। ल्यान्डलाइन टेलिफोन, सिडिएमए, जिएसएम प्रिपेड र पोस्टपेड मोबाइल नचलेपछि हैरान भएका उपभोक्ता टेलिकमसँग अन्तरसम्बन्धित एनसेल मोबाइल पनि नचलेपछि थप हैरान भए। मोबाइलमा पूरै टावर देखिने तर डायल गर्दा कतै नलाग्ने भएपछि धेरैका मनमा ०५९ माघ १९ को झझल्को आयो। त्यतिबेला उपभोक्ताले स्विच अफ र अन गरिरहे, तर फोन चल्दै चलेन।

‘जिल्लाबाहिर सम्पर्क गरे, त्यसमा पनि फोन लागेन’, गाईघाटका रोशी गुप्ताले भने, ‘मोबाइलमा मात्र नभएर ल्यान्डलाइन पनि लागेन। पटकपटक प्रयास गर्दा पनि नलागेपछि टेलिकममै खराबी आएको हो वा राजनीतिक गडबडी हुन लाग्यो भन्ने आशंका जन्मियो।’

४/५ घन्टासम्म सञ्चार सम्पर्कविहीन हुँदा अन्योल महसुस गरेका उपभोक्ताले ०५९ माघ सम्झनु अन्यथा पनि थिएन।

मोबाइल, ल्यान्डलाइन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झझल्को महसुस गरेको गाईघाटका साइमन बिष्टले बताए। ०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्कविच्छेद भएको थियो। त्यसबेला मोबाइल र टेलिफोन र निजी कम्पनीका रेडियो एफएमलगायत सञ्चार संस्थाका फ्रिक्वेन्सी बन्द गरेर पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ घोषित गर्दै अपदस्थ गरेका थिए। भर्खरै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ मा विश्वासको मत लिनुभन्दा १८-२२ घन्टाअघि मात्र यसरी सञ्चार सम्पर्कविच्छेद हुनुले प्रविधिमैत्री जनमानसलाई शंका लाग्नु अस्वाभाविक होइन। त्यही आशंकाले धेरैमा खुल्दुली र हतासपन देखियो। चियापसल, चोक र बजारमा शंका-आशंका गरियो।

यो समस्या आउनुमा प्राविधिक गडबडी मुख्य कारण रहेको नेपाल टेलिकमले प्रस्ट्याएको छ। प्रदेश २ को सिराहा खण्डमा बिछ्याइएको अप्टिकल फाइबरमा खराबी आएकाले नेपालको पूर्वी भेग केही घन्टा सञ्चार सम्पर्कविहीन बन्न पुगेको टेलिकमका प्राविधिक कृष्ण अधिकारीले बताए।

उनका अनुसार सिरहाको लहानभन्दा पश्चिम खण्डमा अप्टिकल फाइबरमा समस्या आउँदा प्रदेश १ का १४ वटै जिल्ला र मधेस प्रदेशका आधा भूभागका सञ्चारमा समस्या आएको हो। मल्टिफाइबर प्रणालीमा प्राविधिक समस्या आउँदा यस्तो कठिनाइ आइपरेको हो। यसलाई टेलिकमको प्राविधिक भाषामा ‘डेन्स वेभ्लेन्थ डिभिजन मल्टिप्लेक्सिङ’ प्रणालीमा खराबी आएको उनले बताए। समस्या आउनेबित्तिकै प्राविधिक टोली खटाएर मर्मत गर्दा साढे चार घन्टामा सञ्चार सम्पर्क पुनस्र्थापना भएको अधिकारीले बताए।

प्रकाशित: २७ पुस २०७९ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App