अर्थ

मनास्लु हिमालः अढाई दशकपछि ‘विन्टर सिजन’ मा सफल आरोहण

मनास्लु हिमाल। फाइल तस्बिरः नागरिक

झन्डै अढाई दशकपछि मनास्लु हिमालमा ‘विन्टर सिजन’ मा पहिलोपटक सफल आरोहण पुरा भएको छ। विश्वको आठौं अग्लो हिमाल मनास्लुको मुख्य चुचुरो (८१६३ मि) को ६ जना नेपाली शेर्पा र एकजना विदेशी आरोहीले आरोहण पुरा गरेका हुन्। यो सिजनमा उच्च हिमाल आरोहण गर्नुलाई निकै नै चूनौतीपूर्ण मानिन्छ।  

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका उनीहरु गत शुक्रबार (६ जनवरी २०२३) का दिन बिहान ८ बजेर ४० मिनेटदेखि ८ बजेर ५० मिनेटको समयभित्र चुचुरोमा पुगेका थिए। सेभेन समिटका म्यानेजर थानेश्वर गुरागाँइका अनुसार आरोहीहरुमा स्पेनका ४१ वर्षिय आरोही एलेक्स सीकन थिए।

उनीसँगै नेपाली शेर्पाहरु ओखलढुंगाको पटेल–२ का ४० वर्षिय छेपाल शेर्पा, पटेल–३ का ४४ वर्षिय ग्यालु शेर्पा सहित संखुवासभाको मकालु–९ का ३५ वर्षिय तेन्जेन शेर्पा, ३२ वर्षिय पासाङ नर्वु शेर्पा, ३४ वर्षिय मिङतेम्बा शेर्पा र २२ वर्षिय पेम्बा टासि शेर्पा रहेका छन्। मनास्लु हिमाल गोरखाको माथिल्लो भेग चुमनुब्री गाउँपालिका–३ र ४ नम्बरमा पर्छ।  

पर्यटन विभागका अनुसार अढाई दशकपछिको मनास्लु हिमालमा जाडो याममा भएको पहिलो आरोहण हो। विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार सन् १९९८ को डिसेम्बर ६ मा दक्षिण कोरियाको टिमले यही सिजनमा मनास्लु हिमालको आरोहण पुरा गरेको थियो।

 ‘झन्डै अढाई दशक पछि जाडो याममा भएको यो पहिलो आरोहण हो, निकै नै चूनौतीपूर्ण आरोहण पुरा भएको छ,’ खतिवडाले भने, ‘मौसम बढी चिसो हुने भएकोले यो बेलाको आरोहण चूनौतीपूर्ण मानिन्छ।’ चिसो याममा पुरा भएको यो आरोहणले नेपालको पर्यटन क्षेत्रमा विशेष अर्थ राख्ने उनले बताए।

सेभेन समिट ट्रेक्सका अनुसार सन् १९८४ को जनवरी १२ मा मनास्लु हिमालको जाडो याममा पहिलो आरोहण पुरा भएको थियो। पहिलोपटक पोल्याण्डका मेसिएज बेरबेका र रिसजार्ड गेजेस्कीले आरोहण पुरा गरेका थिए। ‘झन्डै चारदशकपछि नेपाली सहित एकजना विदेशी सहितको टिमले जाडो मौसममा आरोहण पुरा गरेका छन,’ गुरागाँइले भने, ‘यसअघि पनि प्रयास नभएको होईन, तर, मौसमी अवरोधका कारण आरोहण पुरा हुन सकेको थिए। यसअघिका प्रयास असफल भएका थिए।’

अधिक चिसोका कारण यो बेलाको आरोहण निकै नै चुनौतीपूर्ण हुने उनले बताए। ‘जाडो मौसममा हिमाली भेगको पदयात्रा त सकसपूर्ण हुन्छ। उच्च हिमाल आरोहण गर्नु आफैमा चुनौतीपूर्ण हो,’ उनले भने, ‘तर, पनि झन्डै चारदशकपछिको प्रयास सफल भएको छ। तिब्रगतिको हावा र उच्च चिसोका बाबजुत पति आरोहण पुरा भएको छ।’ निकै नै चूनौतीका बाबजुत पनि यो पटकको आरोहण पुरा गरेको उनले बताए । आरोहणमा लागि गत डिसेम्बर २१ का दिन आरोहीदल काठमाडौंबाट मनास्लु क्षेत्रतिर लागेको थियो।

पछिल्लो पटक मनास्लु आरोहण पुरा गरेका स्पेनीस आरोही एलेक्सले यसअघि सन् २०१६ मा पाकिस्तानको नागा पर्वतको जाडो याममा आरोहण पुरा गरेका थिए। उनीसँगै अरु आरोही पनि थिए। ‘जाडो समयमा मनास्लु हिमाल आरोहण पुरा गर्नु ऐतिहासिक अवसर हो। साहसिक गतिविधिमा यसले निकै नै अर्थ राख्छ,’ गुरागाइँले भने। गोरखामा पर्ने मनास्लु हिमाल माउन्ट किलरका नामले पनि प्रख्यात छ। यो हिमाल आरोहण गर्नुलाई आरोहीले निकै नै साहसिक मान्छन्।  

सर्वाेच्च शिखर सगरमाथाको उचाई समेत मापन गरेका नापि अधिकृत खिमलाल गौतमले जाडो मौसममा मनास्लु हिमाल आरोहण पुुरा गर्नु निकै नै साहसिक गतिविधि भएको बताए। पर्वतारोहणको इतिहासमा यो एउटा महत्वपूर्ण गतिविधि भएको उनले बताए। आरोहणको यो दिनको सम्झनालाई इतिहासमा स्वर्ण अक्षरले लेखिने उनले बताए।  

पर्यटन विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्नेगर्छ। यस वर्षको तथ्यांक अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भएको थियो। मनास्लु हिमालबाट मात्र विभागले ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। कुल ३८ समूहबाट ४ सय ४ जनाले मनास्लु आरोहण अनुमति लिएका थिए। जसमध्ये ३०७ जना पुष र ९७ जना महिला थिए। विशेषगरी वसन्त र शरद ऋतुमा सबैभन्दा बढी हिमाल आरोहण हुने गर्दछ। यी दुई ऋतुमध्ये पनि शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्ने आरोहीहरू सबैभन्दा बढी हुने विभागले बताएको छ।  

प्रकाशित: २४ पुस २०७९ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App