अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखराको पुरानो विमानस्थलले आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गर्‍यो। कोरोना संक्रमण कमजोर भएपछि उडान थपिँदा भएको यो आम्दानी सर्वाधिक हो। तर पुरानो विमानस्थलबाट भइरहेको उडान जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन थालेको छ।  

पुरानो विमानस्थलले गरेको यो आम्दानीमा ‘स्टल’ (छोटो धावनमार्गमा हुने उडान र अवतरण) एयरक्राफ्टसहित हेलिकोप्टर र अल्ट्रालाइटले तिरेको शुल्क पनि समेटिएको छ। तर स्टल एयरक्राफ्ट, हेलिकोप्टर र अल्ट्रालाइट अब पनि पुरानै विमानस्थलबाटै चालु हुनेछन्। जनवरी १ पछि आन्तरिकतर्फ ठुला आकारका जहाज उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ। स्टल एयरक्राफ्ट, अल्ट्रालाइट र हेलिकोप्टरले तिरेको शुल्कको हिस्सा विमानस्थलको आम्दानीको करिब पाँच प्रतिशत हुन्थ्योे। नयाँ विमानस्थलले खर्च धान्न आम्दानी बढाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ। तर अब दुवै विमानस्थलको आम्दानी एकैठाउँ मिसिने भएकाले खासै फरक नपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अधिकारी बताउँछन्।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।  

प्राधिकरणले २०७९ जेठ १४ देखि विमानस्थल सेवा शुल्कसम्बन्धी नयाँ नियमावली लागु गर्दैै शुल्क वृद्धि गरेको छ। पुरानो विमानस्थलबाट उडान हुँदा यो शुल्क चारसय रूपैयाँ थियो। अब अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुँदा  शुल्क बढेर प्रतिव्यक्ति पाँचसय रूपैयाँ पुगेको छ। विमानस्थल आम्दानीको करिब ७५ प्रतिशत हिस्सा यात्रुसेवा शुल्क हो। बाँकी आम्दानी हवाई कम्पनीले ल्यान्डिङ, टेकअफ, सञ्चार, पार्किङ गरेबापत तिर्ने हुन्।  

पोखरा आउने हवाई यात्रु संख्या हरेक वर्ष बढिरहेको छ। प्राधिकरणका अनुसार सन् २०२२ मा यो संख्या आठ लाख ५० हजार हाराहारी थियो, जुन अहिलेसम्मकै उच्च हो। कोरोना संक्रमण सुरु हुनुअघि सन् २०१९ मा यो संख्या ७ लाख २० हजार थियो। पछिल्लो समय राजमार्गको झन्झटिलो यात्राले गर्दा हवाई यात्रु बढ्ने क्रममा छन्। त्यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुँदा यात्रु थपिने र रात्रिकालीन उडान पनि हुँदा आम्दानीको हिस्सा अझै बढ्ने प्राधिकरणका एक अधिकारी बताउँछन्। ती अधिकारीका अनुसार अहिलेकै हिसाबले पनि वार्षिक कम्तीमा नौलाख यात्रु भए त्यसको आधा यात्रुले सेवा शुल्क पोखरामा तिर्नेछन्। त्यसो हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी यात्रुसेवा शुल्कबाट कम्तीमा पनि २३ करोड रूपैयाँ हुनेछ। त्यसबाहेक पुरानो विमानस्थल र हवाई कम्पनीहरूले तिर्ने शुल्कबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वर्षमा करिब ३० करोड रूपैयाँ आम्दानी गर्नेछ।  

‘यात्रुसेवा शुल्क दोब्बर भएको अवस्थामा पुरानै विमानस्थलबाट उडान र अवतरण गराउँदा पनि यो वर्ष विमानस्थलले करिब २५ करोड रूपैयाँ आम्दानी गर्ने निश्चित थियो,’ स्रोतले भन्यो, ‘तर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा सेवा शुल्क झनै बढी पर्ने हुँदा वर्षमा कम्तीमा ३० करोड रूपैयाँ प्राधिकरणले कमाउनेछ।’

अन्तर्राष्ट्रिय उडान पनि गर्न सके आम्दानी थपिनेछ। कम्तीमा दैनिक एक सय यात्रु बोकेर एउटा मात्र अन्तर्राष्ट्रिय विमान पोखरा आउजाउ गरे सम्बन्धित हवाई कम्पनीले न्यूनतम तीन लाख रूपैयाँ शुल्क बुुझाउनुपर्छ। त्यो आकारमा वर्षभरि उडान हुने हो भने पनि एउटै अन्तर्राष्ट्रिय उडानबाट विमानस्थले वर्षमा करिब १२ करोड रूपैयाँ आदानी गर्ने प्राधिकरणका ती अधिकारी बताउँछन्। तर त्यसका लागि अन्तर्राष्ट्रिय उडान हुन जरुरी छ। अन्तर्राष्ट्रिय उडान नभएसम्म आम्दानी भने बढ्ने छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्दा विमानस्थलको जग्गा ३१ सय ६ रोपनी थियो। तर विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा बनेको छ। अपुग जग्गा किन्न प्राधिकरणले करिब ८ अर्ब रूपैयाँ आफ्नै स्रोतबाट खर्चिएको छ। त्यसबाहेक प्राधिकरणले विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ सुरुमै चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग ऋण लिएको थियो। त्यो अहिले बढेर साढे २८ अर्ब रूपैयाँ बढी पुगेको छ। जसमध्ये २५ प्रतिशत रकम (७ अर्ब १३ करोड) मा ब्याज नलाग्ने सम्झौता छ। बाँकी ७५ प्रतिशत रकम (२१ अर्ब ४० करोड) मा भने २ प्रतिशत ब्याज तिनुपर्छ। ब्याज नलाग्ने ऋणको साँवा पनि किस्ताबन्दीमा तिर्नुपर्छ। त्यसबाहेक ब्याज रकमसँगैको साँवा पनि तिर्दै जानुपर्छ।  

विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थलले तिर्ने ऋणको ग्रेसअवधि ७ वर्ष हो। त्यसको अर्थ निर्माण अवधिको झन्डै सातवर्ष पोखरा विमानस्थलले ऋणको किस्ता तिर्नुपरेको थिएन। सन् २०१७ देखि गणना गर्दा २०२४ देखि प्राधिकरणले बल्ल ऋणको किस्ता तिर्नुपर्छ। त्यसको १३ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले गर्ने आर्थिक अवस्थाबारे विश्लेषण हुन थालेको छ। केही दिनअघि पूर्वअर्थमन्त्री रामेश्वर खनालले पोखरामा आयोजित एक कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नौ वर्षमा आफ्नो लागत खर्च उठाउन सक्ने बताएका थिए। तर त्यसका लागि पोखरामा पर्याप्त आकारमा विदेशी पर्यटक भित्रिनुपर्ने खनालको सर्त थियो। पोखरामा ठुला आकारका गतिविधि हुने हो र पर्याप्त विदेशी पर्यटक भिœयाउन सक्ने हो भने हवाई उडान थपिने र त्यसले विमानस्थलको आम्दानी बढाउन सहज हुने उनको भनाइ थियो।  

प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पोखरा विमानस्थल आफंैले सबै खर्च धान्न दैनिक कम्तीमा एकसय संख्यामा आन्तरिक उडान र सातामा कम्तीमा ५० वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताउँछन्। ‘पोखरा विमानस्थल आन्तरिक उडानकै भरमा पनि बाँच्ने ठाउँ हो। अन्यत्रभन्दा फरक खालका यात्रु पोखराका हुन्छन् अर्थात् विदेशी पर्यटकको गन्तव्य भएकाले पोखरालाई सहज छ,’ उनले भने, ‘अहिलेसम्म दिनमा मात्र उडान भइरहेको छ। अब रात्रिकालिन सबैखाले जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने हो भने आम्दानीमा खासै समस्या हुँदैन।’ पोखरा विमानस्थलको वार्षिक खर्च ४० देखि ६० करोड रूपैयाँ हुनसक्ने उनले बताए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ७० वर्षपछि नाफामा गएको हो। त्यसैले पोखरालाई अहिले नै नाफा र घाटाको रूपमा मात्र नहेरौं,’ उनले भने, ‘सेवामा व्यवसायीकरण होस् भनेर हेरांै। राज्यको पनि यसमा उत्तिकै जिम्मेवारी छ। त्यसबाहेक निजी क्षेत्रको पनि चासो हुने हो भने खासै समस्या हुँदैन।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वर्षमा ब्याज मात्र करिब ३२ लाख डलर तिर्नुपर्ने र सञ्चालन खर्चसमेत हुने हुँदा वर्षमा करिब डेढ अर्ब रूपैयाँ आम्दानी गर्नुपर्छ। त्यो आम्दानी गर्न सरकारदेखि निजी क्षेत्र उत्तिकै सक्रिय हुनुपर्ने उनको भनाइ छ।  

‘अहिलेको अवस्थामा जसोतसो सञ्चालन खर्च त विमानस्थल आफैंले जुटाउला। तर ऋणको ब्याज र किस्ता तिर्न अन्यत्रको आम्दानी प्राधिकरणले खर्चन सक्छ। त्यो अवस्थामा थप भौतिक पूर्वाधार बनाउन भने सम्भव हुँदैन,’ प्राधिकरणका अर्का अधिकारीले भने, ‘केहीगरी निजगढमा अर्काे अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थाल्ने हो भने रकम अभाव हुनेछ।’ त्यसैले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्न पहल गर्नुपर्ने ती अधिकारीले बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखराले अन्तर्राष्ट्रिय विमानस्थल पाए पनि सञ्चालनमा चुनौती रहेको बताउँछन्। ‘राम्रो प्रडक्ट तयार भएको छ। तर अब बजारीकरणको आवश्यकता छ,’ उनले भने। उनका अनुसार २५ सय मिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा तीन किलोमिटरको धावनमार्ग बढाउन सकेको भए काठमाडौंसँग प्रतिस्पर्धी हुने थियो। तर त्यो मौका अहिलेलाई चुकेको उनले बताए।  

‘काठमाडौंको प्रतिस्पर्धी भएको भए अझ भरपर्दाे हुन्थ्यो। धावनमार्ग अलिकति सानो हुँदा केही समस्या हुन सक्छ,’ उनले भने, ‘ठुला आकारका सबैखाले जहाज पोखरामा अवतरण गर्न नसक्दा कतै अन्तर्राष्ट्रिय उडान छोटो दूरीका लागि मात्र हुने आशंका छ।’ विमानस्थल तयार भएकाले अब बजारीकरणका लागि सरकारी र निजी क्षेत्र दुवैको पहल हुनुपर्ने उनले बताए। विमानस्थललाई अधिकतम उपयोग गर्न नसके घाटामा जाने उनले बताए। 

प्रकाशित: २० पुस २०७९ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App