अर्थ

हरियो चिया खरिदमा ‘अटो बिलिङ सिस्टम’ लागू गर्ने तयारी

इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया कारखाना। तस्बिर: भीम/नागरिक

चिया उद्योगहरूले किसानबाट हरियोपत्ती खरिद गर्दाको मूल्य ‘पारदर्शी’ बनाइने भएको छ। किसानले उद्योगलाई बेचेको हरियोपत्तीको मूल्य कम्प्युटर सफ्टवेयरमा अपलोड गर्नुपर्ने गरी तयारी गरिएको हो।

अधिकतर चिया किसानले आफूले उत्पादन गरेको हरियोपत्ती विचौलियामार्फत् उद्योगलाई बेच्नुपर्ने बाध्यता छ। कतिपय उद्योगले दिने हरियोपत्तीको वास्तविक मूल्य किसानलाई थाहै नहुने र विचौलियाले यसबाट फाइदा लिइरहने अवस्था छ। त्यतिमात्र होइन, अर्गानिक चिया उत्पादन र गुणस्तर सुधारका लागि ‘प्रयास’ भइरहेका बेला कतिपय उद्योग नै ‘बाधक’ बन्नसक्ने चुनौतीसमेत आएपछि हरियो चियाको मूल्य सफ्टवेयर प्रणालीमा राख्ने अवधारणा ल्याइएको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उद्योगीले किसानलाई दिने हरियोपत्तीको मूल्य पारदर्शी बनाउन ‘अटो बिलिङ सिस्टम’ लागू गर्ने जनाएको छ। बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले यो प्रणालीलाई कानुनमै व्यवस्था गरिने बताए। ‘यो प्रणाली सुरु भएपछि कुन उद्योग वा संकलन केन्द्रले किसानलाई हरियोपत्तीको मूूल्य कति रुपैयाँ दिइरहेका छन् भन्ने बोर्डले काठमाडौंमै बसेर हेर्न सक्छ,’ उनले भने, ‘देशका सबै चिया संकलन केन्द्र र उद्योगमा यो प्रणाली जडान गराउन डिजाइनको काम भइरहेको छ।’ उनले केही महिनाभित्रै यो सफ्टवेयर सबै संकलन केन्द्र र उद्योगमा विस्तार भइसक्ने दावी गरे। संकलन केन्द्र वा उद्योगमा हरियो चियाको बिल काट्नेबित्तिकै बोर्डले सफ्टवेयर मार्फत् त्यसको जानकारी पाउने व्यवस्था गरिएको छ।

नेपालको चिया वास्तविक रूपमा कसरी कारोबार भइरहेको छ भन्ने थाहा पाउन बोर्डले यो प्रणाली सुरु गर्न लागेको हो। यसले मूल्यमात्र नभइ चियाको उत्पादन, गुणस्तर लगायत हरेक पक्षको सूचना दिने भएकाले अटो बिलिङ प्रणाली लागू गर्न लागिएको उनको भनाइ छ। ‘यो प्रणालीले चियाको फेयर ट्रेडलाई सघाउँछ, किसानलाई आफ्नो उत्पादनप्रति ढुक्क बनाउँछ भने व्यवसायीलाई पनि यसले पारदर्शी व्यापारको अवसर दिन्छ,’ उनले भने, ‘यो सिस्टमलाई कानुनी रूपमै कार्यान्वयन गराउन बोर्ड लागिपरेको छ।’

बोर्डले अहिले इलामसहित चिया उत्पादन हुने विभिन्न जिल्लामा ‘नेपाल इन्क्रिज सस्टेनेवल टि एक्पोर्ट’ परियोजना सञ्चालन गरिरहेको छ। त्यसअन्तर्गत विश्वका जुनसुकै उपभोक्ताले चाहेमा आफूले नेपालको कुन बगानको चिया पिउँदैछु भन्ने सम्मको सूचना पाउनेगरी ‘ट्र्यासिबिलिटी’ गर्नसक्ने बाटो बनाइँदैछ। बोर्डका परियोजना संयोजक टेकप्रसाद लुइँटेलले नेपालबाट खरिद गरी विश्वको जुनसुकै भागमा पुगेको चियाको गुणस्तरलगायत सबै पक्षमा उपभोक्ताले सूचना पाउनसक्ने प्रणाली लागू गरिने बताए। ‘नेपालको चियाको गुणस्तर उच्च बनाउन र उपभोक्तासम्म पुगेको चियामा कुनै फल्ट देखिए त्यो चिया कुन बगान, कुन किसानको उत्पादन हो भन्नेसम्म ट्रेसिङ गर्नसक्ने बनाउन यो कार्यक्रम चलिरहेको छ।’

यही ट्रेसिङ प्रणाली अन्तर्गत ‘अटो बिलिङ सिस्टम’ कार्यान्वयन गर्न लागिएको हो। ‘यो प्रणालीले चियाको गुणस्तर सुधार भइ उत्पादनलाई मूल्यशृंखलामा लैजान सहयोग गर्छ,’ कार्यकारी निर्देशक डा.भट्टराईले भने, ‘चियाको मूल्य सबैले थाहा पाउनु यति महत्वपूर्ण हुन्छ कि, यसका उपभोक्ताले आफू कुन गुणस्तरको चिया उपभोग गर्दैछु भन्ने थाहा पाउँछन्, संसारभरका चिया व्यापारीलाई समेत नेपालको चियाको गुणस्तर चिनाउन सजिलो हुन्छ।’

सूर्याेदय नगरपालिकाका ३ उद्योगले चाहिँ चिया अर्गानिक र गुणस्तरीय बनाउने अभियानमा ‘असहयोग’ गर्ने गरेको सूचना आफूलाई आएको पनि भट्टराईले बताए। ‘स्थानीय सरकार, बोर्डलगायत सबैको उद्देश्य नै अर्गानिक उत्पादनको अभियान चलाउनु र उच्च मूल्यमा कृषि उत्पादन बिक्री गर्नु हो,’ उनले भने, ‘यो अभियानमा कानुनी बाध्यतासमेत जोडिएपछि कसैले असहयोग गर्छु भन्न हुँदैन र पाउँदैन पनि।’

अहिले उद्योगहरूले किसानलाई दिनेगरेको हरियो चियापत्तीको मूल्य यकिन छैन। अझ मौसम अनुसार हरियोपत्तीको मूल्य उद्योगैपिच्छे फरक हुने गरेको छ। उद्योगहरूले तोकेको मूल्यमै हरियो चिया बेच्न किसान बाध्य छन्। त्यतिमात्र होइन, कतिपय किसान र उद्योगीले कम गुणस्तरको हरियो चियासमेत सस्तै मूल्यमा भएपनि खरिद–बिक्री र प्रशोधन गरिरहेकाले गुणस्तरीय तयारी चिया उत्पादन गर्ने ‘अभियान’मा असर पुगिरहेको छ।

अर्थाेडक्स चियाको राजधानी पनि भनिने सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले नगरले अर्गानिक कृषि उत्पादनको अभियान नै चलाइरहेको बताए। नगरले २०७५ सालमा गुणस्तर बढाउने र हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्यसमेत तोकिएको चियासम्बन्धी कार्यविधि जारी गरिसकेको छ। तर, कतिपय किसान र उद्योगीको ‘मिलेमतो’मै गुणस्तरहीन हरियोपत्तीसमेत प्रशोधन हुनेगरेकाले अर्गानिक अभियानमा असर पुगेको यसका अभियन्ताको गुनासो छ।

‘नगरले करिब ५ वर्षयता विशेषगरी चिया र अन्य कृषि उत्पादन अर्गानिक र गुणस्तरीय बनाउन अभियान चलाइरहेको छ,’ मेयर राईले भने, ‘यो अभियानमा चियाको ट्रेसिङ र अटो बिलिङ सिस्टम सहयोगी हुन्छ।’ उनले नेपालको चिया गुणस्तरीय बनाएर विश्वभर पु¥याउँदा त्यसबाट उच्च मूल्य पाउनेमात्र नभइ नेपाललाई संसारमा नेपाल चिनाउने माध्यमसमेत बन्ने बताए।

प्रकाशित: १९ पुस २०७९ १३:०५ मंगलबार

चिया उद्योग