काठमाडौं-रौतहटका सिताराम दास तत्मा काठमाडौं उपत्यकामा गाई पालेर राम्रो आम्दानी गरिरहेका छन्। १० वर्षयता ललितपुरको खुमलटारमा उनले गाईको दूध बेचेर राम्रो आम्दानी गरिरहेका हुन्।
उनको गाई फार्ममा १२ वटा गाई र ४ वटा बाछा छन् । तीमध्ये ८ वटा दुहुना गाईको दूध बेचेर उनी दैनिक २५ सयदेखि ३ हजारसम्म आम्दानी हुने बताउँछन् । उनी चिन्तित हुँदै भन्छन्, ‘राजधानीमा दूध बेचेर राम्रो आम्दानी त गर्न सकिन्छ, तर लैना गाईलाई खुवाउन घाँस नपाइनाले गाईको दूध घटिहाल्छ ।’ पर्याप्त घाँस नपाएर तत्माले गाई दिनभर नदीछेउ चराउने गर्छन् ।
त्यस्तै जडीबुटीको मनोहरा पुल नजिकै बस्दै आएका लालबहादुर राईले गाईपालनबाटै आफ्नो ६ सदस्यीय परिवारको निर्वाह गर्दै आएका छन् । उनको गाई फार्ममा पहिले त दर्जनौं गाई थिए तर अहिले आएर उनले ९ वटामात्र जर्सी गाई पालेका छन् । उनी बिहान–बेलुकी ४०÷४५ लिटर दूध बेचेरै महिनाको ४२ हजारदेखि ४५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । उनी खोला छेउछाउ गाई चराउन लैजान्छन् र घाँस काट्ने गर्छन् ।
शंखमूल पुलनजिकै सुशीला चापागाईँले जीविकोपार्जनका लागि राजधानीमा गाई पाल्न थालेको धेरै वर्ष भयो । उनले आफ्नो ५ जनाको परिवार धानेकी मात्र होइन, सन्तानलाई राम्रै शिक्षादीक्षा दिँदै आएकी छन् । उनको फार्ममा ६ वटा गाईले बिहान–बेलुकी गरी ३४ लिटर दूध दिन्छन् । दूध बिक्रीको आम्दानीबाटै उनी घरायसी सबै खर्च धानीरहेकी छन् । गोबरको मल प्रयोग गरी उनले नजिकै रहेको करेसाबारीमा पर्याप्त तरकारी फलाउने गरेकी छन् । गाईलाई ख्वाउन घाँस पाउन कठिन भएकाले उनी विभिन्न सरकारी कार्यालयका कम्पाउन्ड र विमानस्थलको घाँसे मैदानसम्म पुग्छिन् ।
राजधानीमा गाईमा रहेको किसानले विशेषगरी कुनै नदीको किनार गाईपालन गर्ने गरेका पाइएको छन् । उनीहरु भन्छन् ‘नदीकिनारमा घाँस पनि तुलनात्मक रूपमा सहजै उपलब्ध हुन्छ भने गाईको फार्ममा चाहिने पानीको लागि पनि सहज हुने गरेको छ ।
किसानलाई राजधानीमा गाईका लागि घाँसको जोहो गर्न र चराउन भने अप्ठयारो रहे पनि दुधको उचित मूल्य पाउने भएका कारण गाईको लागि ब्राण्ड, मकैको पिठो, पराल, भुष किनेर पनि पाल्न सकिरहेको र गुणस्तरीय जीविकोपार्जन सम्भव रहेको किसानहरू बताउँछन् ।
गाईलाई पाल्नको लागि आवश्यक पर्ने मकै, ब्राण्ड, भुषा, पीठो, पराल र दाना आदि तराई क्षेत्रबाट पनि ल्याइन्छ । सिरहा, धनुषा, महोतरी, सर्लाही तिरबाट वर्षेणी काठमाडौंको किसानले लाखौं रकम बरावरको खान्की ल्याइन्छ । तर, सरकारले पशुपालन गर्ने किसानहरुका लागि ल्याएको विभिन्न नीति तथा योजनाबारे राजधानीका किसानलाई खासै रुचि देखाएको छैन ।
महोत्तरी, गौशाला स्थायी घर भएका रामआधार रायले राजधानीमा गाई पाल्न थालेको ६ वर्ष भयो । जर्सी र स्थानीय जातका वर्णसंकर गरी अहिले उनीसँग १३ वटा गाई र बाछाबाछी छन् । व्यावसायिक रुपमै गाईपालन गरिरहेका भए पनि उनले सरकारी निकायमा फार्म दर्ता गराएका छैनन् । गाई फार्म खोल्ने विषयमा उनी भन्छन्, ‘हामीलाई सरकारी प्रक्रियाबारे केही पनि थाहा छैन । त्यसमाथि सरकारी कार्यालयमा कुनै कामका लागि जाँदा कर्मचारीको दुव्र्यवहार सहनु पर्छ,’ उनी भन्छन्, ‘हामी तराईमा बस्दा पनि गाईभैंसी नै पाल्ने गर्थेँ ।’
राजधानीका अधिकांश किसान आफूले गाई पाल्न कुनै सरकारी सहयोग नपाएको बताउँछन् । उनीहरू भन्छन्, ‘सरकारले गाई पाल्नेलाई गाई किन्दिनु प¥यो अनि पो हामी पनि राज्यलाई कर तिर्न सक्छौं ।’ सबै सरकारी सुविधा, सहुलियत ठूलाबडा र पहुँचवालाका लागि मात्रै भएको उनको ठम्याई छ । गाईको दूध, दही, घ्यू बेचेर उनीहरू आफ्नो परिवारको दैनिक आवश्यकता पूरा गर्दै आएका छन् ।
विगतको सालमा गएको महाबिनाशकारी भुकम्प यता राजधानी छेउछाउका जिल्लाका भूकम्पपीडितहरू पनि अहिले यहाँ आएर गाईपालन व्यवसाय तिरै लम्कीदै गरेको पाइएको छन् । उनीहरु गाई पालन व्यवसायबाट परिवार धान्न मनग्ये आम्दानी हुने गरेको बताउँछन् ।
तर उनीहरु भन्छन सरकारले किसानलाई उन्नत नश्लका गाई हाम्रो नेपालमा भित्रयाउन नसकोका कारण किसानहरु चिन्तित रहेका छन् । गाईपालनलाई आधुनिक बनाउने किसानको प्रयासमा अहिले उन्नत गाईको अभाव नै सबैभन्दा ठूलो समस्या बनेको छ । गाईको गोठ लगायत पूर्वाधारको व्यवस्था भइसक्दा पनि उन्नत नश्लको गाई नपाउँदा किसानहरु मर्कामा परेको छन् ।
प्रकाशित: ५ श्रावण २०७३ ०२:२७ बुधबार