अर्थ

अर्थतन्त्रलाई ‘ट्र्याक’मा ल्याउने चुनौती

अर्थतन्त्र खराब अवस्थामा पुगेको भन्दै निजी क्षेत्र निराश छ। राजस्व घटेको छ। सरकारले साधारण खर्च ऋणबाट चलाउनुर्ने अवस्था आएको छ। औद्योगिक उत्पादनमा ह्रास आएको छ। निर्माण सामग्रीको व्यापारमा ६० प्रतिशत गिरावट आएको छ। घरजग्गा कारोबारमा मन्दी छाएको छ। बजारमा तरलता अभाव छ। पुँजीगत खर्च निकै न्युन छ।

यसरी अर्थतन्त्रको आन्तरिक पक्ष बिग्रिएको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन्। नवनियुक्त पौडेलसामु अर्थतन्त्र सुधार गर्नुपर्ने चुनौती छ। पौडेलसँग दुई पटक अर्थमन्त्री भएको अनुभव छ। व्यवहारिक ज्ञान छ तर विज्ञता कम छ। वितरणमुखी नीति लिने गरेका पौडेल सामु निजी क्षेत्रलाई विश्वास लिने र मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई जोगाउनुपर्ने दायित्व छ।  

बजेट अनुशासन र मितव्ययिता कायम गर्नुपर्ने चुनौती छ। राजस्वमा चुहाबट छ। रेमिटेन्सको आप्रवाहमा वृद्धि भए पनि बाह्य चाप पनि कायमै छ। सरकारी वित्तीय प्रणाली व्यवस्थित छैन। अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव हटेको छैन। आन्तरिक अर्थव्यवस्थाको सन्तुलन कायम गर्नुपर्ने छ।

यति मात्र होइन, बजारमा माग र आपूर्तिको चक्रमा गम्भिर समस्या देखिएको छ। यसलाई सन्तुलमा ल्याउनु पर्नेछ। उत्पादन बढाउने, व्यापार घाटा घटाउने, रोजगारी सृजना गर्ने, पुँजीगत खर्च बढाउने लगायतका चुनौती पौडेल सामु छन्।

दर्जनौ चुनौतीका बीच अर्थमन्त्री पौडेलले कसरी काम गर्छन् सबैले चासो राखिरहेका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेलको विगत विवादास्पद रहेकाले पनि संशय कायम छ। यद्यपि यसलाई उनले स्वीकार गरेका छैनन्।

नियुक्तिको पहिलो दिन नै अर्थमन्त्री पौडेललाई सेयर बजारले भने स्वागत गरेको छ। विगतमा पौडेल अर्थमन्त्री भएका बेला सेयर बजार सूचक उच्चविन्दुमा पुगेको थियो। पौडेल यसअघि अर्थमन्त्री हुँदा पनि भूकम्प र नाकाबन्दीको सामना गर्नु परेको थियो। अहिले भने अर्थमन्त्री पौडेल सामु ट्र्याकबाहिर जान लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउनुपर्ने चुनौती छ।

सरकारले आयातमा कडाइ गरेका कारण राजस्व संकलनमा ह्रास आएको छ। वैदेशिक व्यापारसम्बन्धी कारोबार पोहोर भन्दा २ खर्ब ९ अर्ब रूपैयाँ ले कमी आएको छ। आयात २०.७१ प्रतिशतले घटेको छ भने निर्यात ३४.६१ प्रतिशतले घटेको छ। वस्तुको उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेछ। मुलुकले वार्षिक करिब सवा १७ खर्ब रूपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ। व्यापार घाटा कम गर्दै राजस्वको स्रोत जोगाउनु पर्नेछ।

अर्थतन्त्रको समस्याप्रति राजनीतिक नेतृत्व चिन्तित नभएको अर्थशास्त्री डा.अच्युत वाग्ले बताउँछन्। वाग्लेलाई अहिलेको सरकारले अर्थतन्त्रमा सुधार गर्न सक्ने अपेक्षा गरेका छैनन्। अर्थतन्त्रको बारेमा विज्ञता नभएका व्यक्तिले नेतृत्व गरेर समास्या समाधान हुन नसक्ने वाग्लेको तर्क छ। ‘आर्थिक क्षेत्र प्राविधिक विषय हो,’ वाग्लेले भने, ‘कुनै व्यक्तिलाई थपना राखेर हुँदैन, न त हामीले प्राथमिकता देखाइ दिएर मात्र हुन्छ’ वाग्लले भने।

निवर्तमान अर्थमन्त्री जर्नादन शर्मालाई भन्दा पौडेललाई केही सहजता भने छ। शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीचको तिक्तताले पनि असहजता सिर्जना भएको थियो। गभर्नर अधिकारी नेकपा एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएकाले दुईबीचको लय मिल्ने अपेक्षा गरिएको छ। समन्वयकारी भूमिकामा प्रखर पौडेलले निजी क्षेत्रको विश्वास लिन सक्ने क्षमता भने विगतमा देखाएका छन्।

समन्वयकारी क्षमता भए पनि पौडेलसँग अर्थतन्त्र नै सुधार गर्न सक्ने क्षमता नभएको अर्थक्षेत्रका जानकार बताउँछन्। ‘समन्वयकारी क्षमता भएकाले निजी क्षेत्रको मनोबल बढाउनुहोला,’ एक अर्थ शास्त्रीले भने, ‘धेरै सुधार गर्ने अपेक्षा भने गरेका छैनौं।’ सरकारको राजस्वले चालुखर्च धान्न नसकिरहेको अवस्थामा वितरणमुखी बजेटबाट विगतमा लोकप्रियता कमाउने प्रयास गरेका पौडेलमाथि खर्च कटौती गर्ने चुनौती छ। ‘राजस्वले चालु खर्च धान्न सकेको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘फजुल खर्च कटौतीमा कति निर्मम बन्न सक्नुहुन्छ, त्यो परिणामले देखाउला।’ पुँजीगत खर्च पनि निकै कमजोर रहेको छ।

आर्थिक नीति र मौद्रिक नीतिलाई सन्तुलित बनाउन उनले कसरी सहजीकरण गर्छन्, धेरै कुरा त्यसैले निर्धारण गर्छ। निवर्तमान अर्थमन्त्रीका अभिव्यक्तिको कारण निजीक्षेत्र निराश रहेका बेला मनोबल केही मात्रामा भए पनि बढ्ने अपेक्षा भने गरिएको छ।

नयाँ सरकार र अर्थमन्त्रीले निजी क्षेत्रका समस्या समाधान गर्न पहल हुने विश्वास लिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘नयाँ सरकार बनेसँगै सेयर बजारमा सुधार आएको छ, यो सकरात्मक संकत हो,’ ढकालले भने, ‘अर्थमन्त्रीले समस्या समाधानका लागि पहल गर्ने अपेक्षा लिएका छौं।’ वर्किङ क्यापिटल गाइडलाईन परिवर्तन, तरलताको समस्या समाधान गर्न, व्याजदर घटाउन अर्थमन्त्रीले राष्ट्र बैंकमार्फत सहजीकरण गर्नुपर्ने बताए। ‘राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर समस्या समाधान गर्न सक्छ,’ ढकालले भने।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अथतन्त्रमा समस्या देखिएको स्वीकार गर्दै अर्थतन्त्रलाई सही दिशातर्फ अघि बढाउने बताएका छन्। ‘मुलुकको अर्थतन्त्र सामु चुनौती देखिए पनि काबु बाहिर छैन,’ पौडेलले अर्थमन्त्रालयमा पदभार सम्हाल्दै भने, ‘संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन पहल गर्छौं।’ 

प्रकाशित: १२ पुस २०७९ ०२:४५ मंगलबार