दक्षिण कोरियाबाट नेपाल आउने जहाजमा प्रायः वैदेशिक रोजगारीमा गएका नेपाली युवा फर्किन्थे। तर शुक्रबारको दृश्य भने फरक थियो। कोरियाबाट आएको कार्गो जहाजमा नेपाली युवा होइन, कोरली गाई थिए। नेपाली युवाले दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याइरहेका बेला सरकारले कोरली गाई पनि भित्र्याएको दृश्य निकै रोचक देखिन्थ्यो। कोरली गाईसँगै केही साँढे पनि थिए।
कोरियाबाट विमान चार्टर गरेर कार्गोमार्फत ३६ कोरली गाई र ६ वटा साँढे ल्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। हेफर इन्टरनेसनलको सहयोगमा नेपालले दक्षिण कोरियाबाट गाई ल्याएको उक्त मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। ‘हेफरको सहयोगमा १०० वटा होल्स्टेन फ्रिजन जातका कोरली गाई र २० वटा प्रजनन साँढे ल्याउने योजना छ,’ प्रवक्ता सञ्जेलले भने, ‘पहिलो चरणमा ३६ गाई र ६ वटा साँढे ल्याइपु¥याएका छौं। दक्षिण कोरिया सरकारबाट हेफर इन्टरनेसनलमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रूपमा उपलब्ध गराइएका अन्य गाई र साँढे क्रमशः ल्याउने मन्त्रालयले जनाएको छ।
नेपालका गाई–भैंसीको दूध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दूध दिने वंशाणुगत गुण भएका गाई र प्रजनन क्षमता राम्रो भएका साँढे ल्याइएको मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा रहेका उन्नत जातका गाईले प्रतिबेत ३ हजारदेखि ३५ सय लिटर दूध दिन्छन्। कोरियाबाट ल्याएको कोरली गाईले भने प्रतिबेत १० हजार लिटर दूध दिने क्षमता राख्ने मन्त्रालयको भनाइ छ। ‘नेपालमा रहेका उन्नत जातका गाईको भन्दा अहिले ल्याएका गाईले दोब्बर बढी दुध दिने क्षमता राख्छ,’ वरिष्ठ पशु विकास अधिकृत डा. प्रदीपचन्द्र भट्टराईले भने, ‘गाई र साँढेबाट बाछाबाछी पनि उत्पादन गर्ने योजना छ।’
नेपालले यसअघि चीनबाट उन्नत जातका गाई ल्याउने योजना बनाएको भए पनि सफल भएको थिएन। प्रायः कुनै पनि देशले आफ्नो उत्कृष्ट ‘जिन’ अरू देशलाई दिन चाहँदैन, मान्दैन। ‘धेरै प्रयास पछि कोरिया दिन तयार भयो,’ भट्टराईले भने, ‘यो नेपालका लागि महŒवपूर्ण उपलब्धि हो।’ उत्कृष्ट जिन भएका गाई भएकाले स्रोत केन्द्रमार्फत उत्पादन गरेर दूधको उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दीपककुमार खराललाई गाई र साँढे हस्तान्तरण गरे। चार चरणमा गरी पुस १३ गतेसम्म सबै कोरली गाई र प्रजनन साँढे नेपाल ल्याइपु¥याइने मन्त्रालयले जनाएको छ। ३६ वटा कोरली गाई र ६ वटा प्रजनन साँढे केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखेर पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालय तथा कमलामाई नगरपालिकामा पठाउने मन्त्रालयले जनाएको छ। यी गाई र साँढेबाट क्रस गरेर उन्नत जातको गाई तयार गर्ने मन्त्रालयको योजना छ। सरकारले धेरै वर्षदेखि विदेशबाट उच्च उत्पादन क्षमता भएका जिन ल्याउन प्रयास गर्दै आएको थियो। ‘धेरै लामो समयदेखि ल्याउने कोसिस गरेका थियौं,’ भट्टराईले भने, ‘अहिले सफलता मिल्यो।’ पशु प्रजनन पोखरामा वीर्य उत्पादन गर्ने कार्यक्रम छ। उन्नत नश्लको साँढेबाट वीर्य निकाल्ने र गाईलाई कृत्रिम गर्भाधान गराएर उत्पादन बढाउने योजना छ। आनुवांशिक स्रोतबाट नेपालमा उच्च प्रजनन क्षमता भएका गाईको स्रोत केन्द्र विकास, दूध उत्पादन वृद्धि तथा गाईको जातीय विकासमा महŒवपूर्ण टेवा पुग्ने मन्त्रालयले जनाएको छ।
नेपाललाई दूधमा आत्मनिर्भर बनाउने सरकारी योजना छ। नेपालमा अहिले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक भए पनि ७८ लिटर मात्र उत्पादन हुन्छ। ‘अहिले प्रतिव्यक्ति १३ लिटर दूध उत्पादन कम छ,’ भट्टराईले भने, ‘उन्नत जातको नश्लबाट उत्पादन बढाएर अपुग दूध बढाउने योजना छ।’ यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दूध आयात भइरहेको अवस्थामा सरकारले दूध उत्पादन बढाउने योजना बनाएको हो। न्यूनतम पोषणका लागि दूध उत्पादन बढाउनुपर्ने मन्त्रालयले जनाएको छ। स्वदेशी उत्पादनले अपुग भएर विदेशबाट पाउडर आयात भइरहेको छ। दूधको माग वार्षिक ८ प्रतिशत बढ्दै गएको छ। मानव स्वास्थ्यका लागि अत्यावश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दूधमा पाइने भएकाले दूध प्रयोग अनिवार्य मानिन्छ। सरकारले पशुपालन बढाएर दूध उत्पादन उकास्ने लक्ष्य लिएको छ। किसानले गाई–भैंसी पालेर दूध उत्पादन गरेर ल्याएपछि लिटरका आधारमा सरकारले अनुदान दिँदै आएको छ। एउटा कोरलीको मूल्य तीन हजार अमेरिकी डलर र साँढेको मूल्य दुई लाख अमेरिकी डलर पर्छ।
प्रकाशित: ८ पुस २०७९ ०२:०२ शुक्रबार