अर्थ

चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा: ४० प्रतिशत बाँकी

पातारासी गॉउपालिका–१ चुकेनीखोलामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको कामले तीव्र गतिमा बढिरहेको छ। ६० प्रतिशत काम सकिसकेको छ। अब ४० प्रतिशत काम मात्रै बाँकी छ।

आगामी वैशाख महिनाभित्र बिजुली बाल्ने गरी योजनाको काम भइरहेको हो। अहिलेसम्म विद्युत् गृहको ड्यामसाइडको काम सकिएको छ।विद्युत् गृह निर्माण र पाइपलाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ। अब पावरहाउस लगायतका संरचनाको फिनिसिङको काम मात्र बाँकी छ।

अब वैशाख महिनाभित्र बत्ती बाल्ने योजना रहेको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए। उनले भने, 'यो जिल्लाकै गौरवको आयोजना हो। त्यो आयोजनाको बजेट ४२ करोडमा हो।'  

आयोजनामा गाउॅपालिकाले सबै घरधुरीलाई शेयर लगानीमा समेटेको छ। चुकेनी खोलाबाट उत्पादन गरिने ९ सय ९८ किलोवाटको विद्युत् आयोजनामा २ करोड रुपैयॉ पालिकाले लगानी गरेको छ। ३ हजार ३ सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए।  

उनका अनुसार विद्युत् आयोजनामा कामदारको समेत सेयर लगानी हुनेछ। १ हजार १ स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेका छन्। आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ। पालिकाले थप लगानीका लागि यो वर्ष पनि १ करोड रुपैयाँ विनियोजन गरेको छ।

मेगा हाइड्रो इन्जिनियरिङका सवइन्जिनियर चन्द्रबहादुर मगरले पोल गाडेर तार लैजाने काम पनि सकिएको बताए। उनका अनुसार पावरहाउसका लागि जेनेरेटर, टर्वाइन सेट, प्यानल बोर्ड, ओभरहेड क्रेनलगायतका मेसिन आइसकेका छन्।

प्रकाशित: २९ मंसिर २०७९ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App