अर्थ

महँगी दोहोरो अंकमै

काठमाडौं- सरकारले मूल्यवृद्धि वाञ्छित सीमाभित्रै रहेको दाबी गरिरहँदा नेपाल राष्ट्र बैकको तथ्यांकले सरकारलाई दरो झापड दिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले महँगी अझै दोहोरो अंकमै रहेको देखाएको छ। राष्ट्र बैंकले गत पुसमा १२.१ प्रतिशतको उच्च बिन्दुमा पुगेको मूल्यवृद्धि दर घट्दै गएको भने तापनि बजारमा अचाक्ली बढेको दलहन तथा तरकारीको भाउले महँगी बढेको देखिएको हो।

राष्ट्र बैंकका अनुसार गत वैशाखसम्मको मूल्य वृद्धिदर अर्थात १० प्रतिशत छ।

वैशाखसम्मा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक ९.६ प्रतिशतले बढेको छ। गैर–खाद्य तथा सेवा समूहको मूल्य १०.४ प्रतिशतले बढेको छ भने घर भाडा तथा शिक्षा सम्बन्धी खर्च बढेकाले उपभोक्ता मुद्रास्पि्कती (महँगी) पुनः केही बढ्न गएको केन्द्रीय बैंकको प्रतिवेदनमा छ।

सबैभन्दा बढी २३.४ प्रतिशत दलहन तथा गेडागुडीको मूल्य बढेको प्रतिवेदनमा छ। तरकारीको मूल्य २०.१ प्रतिशतले बढेको छ। लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्य क्रमशः १७, १६.४ र १५.९ प्रतिशतले बढेको छ।

केन्द्रीय बैंकका अनुसार क्षेत्रगत आधारमा काठमाडौंमा बसोबास गर्नेलाई महँगीको सबैभन्दा ठूलो भारीले थिचेको छ। काठमाडौंमा वैशाखमा ११.५ प्रतिशतले महँगी बढेको छ। अघिल्लो वर्ष यो ६.८ प्रतिशतमात्रै थियो। अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको महँगी दर यो वर्ष घटेर ७.७ प्रतिशतमा सीमित छ। तर, तराईको मूल्य वृद्धिदर पोहोरको ६.९ बाट बढेर ८.६ प्रतिशत पुगेको छ।

तराई–मधेसमा चलेको लामो आन्दोलन र भारतीय नाकाबन्दीले आपूर्ति व्यवस्था असहज भएको बेला काठमाडौंमा महँगी चुलिएको प्रतिवेदनले उजागर गरेको छ।

घट्दो आयात–निर्यात
आयात घटेको भए पनि चालु आर्थिक वर्षको राजस्व भने लक्षित ४ खर्ब ७५ अर्बभन्दा बढी संकलन हुने प्रतिवेदनमा उल्लेख छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७२/०७३ को १० महिनाको तथ्यांकका आधारमा आर्थिक परिदृश्यमा क्रमिक सुधार आएको निष्कर्ष निकालेको छ। तैपनि आयात र निर्यात दुवैमा कमी आएको छ।

वैशाखसम्ममा कुल वस्तु निर्यात २१.७ प्रतिशतले घटेको छ। सो अवधिमा नेपालको निर्यात जम्मा ५५ अर्ब ६० करोड रुपैयामा सीमित भएको छ भने कुल वस्तु आयात ४.६ प्रतिशतले घटको छ। सो अवधिमा ५ सय ९९ अर्ब ३६ करोड रुपैयाँको आयात भएको छ।

प्रतिवेदन अनुसार अघिल्लो वर्ष सोही अवधिमा निर्यात ५.५ प्रतिशतले घटेको थियो। वैशाखसम्ममा भारततर्फको निर्यातमा ३३.४ प्रतिशत र चीनतर्फकोमा ३५.६ प्रतिशतले गिरावट आएको छ। अन्य मुलुकतर्फको निर्यात भने ४.१ प्रतिशतले बढेको बताइएको छ।

भारततर्फ जिंक सिट, जिआई पाइप, जुस, पोलिस्टर यार्न लगायत वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक जस्ता वस्तुहरूको निर्यात घटेको छ। अन्य मुलुकतर्फ ऊनी गलैंचा, तयारी पोसाक, पस्मिना, चिया लगायत वस्तुको निर्यात बढेको प्रतिवेदनले जनाएको छ।

वैशाखसम्ममा कुल वस्तु व्यापार घाटा २.४ प्रतिशतले घटेर ५ सय ४३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १०.१ प्रतिशतले बढेको थियो। यस्तै, निर्यात–आयात अनुपात ९.३ प्रतिशत रहेको भन्दै प्रतिवेदनले अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको बताएको छ।

मुलुकको दक्षिणी भन्सार नाकामा भएको अवरोध हटेसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, सरकारी राजस्व संकलन एवं पुँजीगत खर्चमा भएको वृद्धिबाट आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको पनि केन्द्रीय बैंकले निष्कर्ष निकालेको छ।

प्रकाशित: ३ असार २०७३ ०८:१७ शुक्रबार

महँगी दोहोरो अंकमै