प्रवास

माल्टामा एनआरएनएको राष्ट्रिय समन्वय समिति

लण्डन– माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)  राष्ट्रिय समन्वय समिति गठन भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन्। यो गैरआवासीय नेपाली संघ (एनआरएनए)  को  ८० औं  राष्ट्रिय समन्वय समिति हो। 

कार्यक्रममा उपाध्यक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने कदमको सुरुवात गरेको भन्दै एनआरएनए माल्टाका पदाधिकारीहरुलाई धन्यवाद दिए।

कुनै पनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उपाध्यक्ष पन्तले भने, ‘माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाई दिदीबहिनी यहाँ बसोबास गरिरहेका छन्। यस्तै सम्भावना हाम्रो नेपालमा पनि छ।’
उनले सम्भावना सदुपयोगका लागि हातेमालो गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए। पन्तले माल्टामा गठित एनसीसीले सो क्षेत्रमा रहेका नेपालीलाई एकत्रित गरी आपसी भाइचारा अभिवृद्धिमा सघाउ पु¥याउने विश्वास समेत व्यक्त गरे।

भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा संघको २५ सदस्यीय माल्टा राष्ट्रिय समन्वयन परिषद्को तदर्थ समिति गठन गरेको छ। एनआरएनए माल्टाको कार्यसमितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा, महासचिवमा सन्देश केसी, सचिवमा शंकर पोखरेल, कोषाध्यक्षमा सदिन पोखरेल, सहकोषाध्यक्षमा सरिता राई चयन भएका छन्। 

भेलाले महिला संयोजकमा सुष्मा राई, युवा संयोजकमा रोशन गिरी र सदस्यमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, वीरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल रहेका छन्।

भेलामा गैरआवासीय नेपाली संघका सह कोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: १ फाल्गुन २०७५ १२:१६ बुधबार

एनआरएनए माल्टा राष्ट्रिय_समन्वय_समिति